‘किंवदन्तञ्च विद्युः’ भन्नुहुन्थ्यो योगी नरहरिनाथ। यसको अर्थ रहेछ, ‘जनतामा फैलिएको हल्लाबारे पनि गुप्तचरहरू चनाखो हुनुपर्छ।’ यसबारे कौटिल्यको अर्थशास्त्रमा व्याख्या गरिएको छ। झन्डै पच्चीस सय वर्षपहिले रचित सो ग्रन्थमा राजकाज सञ्चालनको मन्त्र छ। राष्ट्रिय सुरक्षा, परराष्ट्रनीति, अर्थनीतिलगायत यावत् पक्षको विश्लेषण छ। जनतामा नराम्रो कुरा फैलियो भने त्यो ‘एक कान, दुई कान, मैदान’ हुन्छ। वन डँढेलोझैँ फैलन्छ र राष्ट्रमा दिग्भ्रमितको संख्या बढ्छ। जनतामा त्रास बढ्छ।
‘ज्योतिषिहरू’ बनाएर ब्रिटेनले कैयन् गुप्तचरलाई हिटलरछेउ पठायो। आफूलाई आर्य भन्ने, स्वस्तिक चिह्नको पूजा गर्ने शुद्ध शाकाहारी हिटलरलाई ज्योतिषिप्रति ठूलो विश्वास थियो। ‘ग्रहगोचर राम्रो छ’ भन्दै अमेरिकाको हवाईस्थित पर्ल हार्वरमा हमला गर्न जापानलाई उकास्ने ज्योतिषि अमेरिकी गुप्तचर थिए भने हिउँ परेका बेला रसियामा हमला गर्नुपर्छ भनेर हिटलरलाई उकासेका थिए ब्रिटिस गुप्तचरहरूले ज्योतिषि भएर। राजा, राष्ट्रपति, प्रधानमन्त्री र सेनापतिका प्रियजनको भेषमा बसेका गुप्तचर र जनतामा फैलाइने हल्लाको विश्लेषण सही ढंगले गर्न नसक्दा धेरै राष्ट्र असफल भएका छन्। तसर्थ, रहस्यमय काम गर्ने विश्लेषक, लेखक वा पत्रकार कसका ज्योतिषि हुन् भन्ने बुझ्नुपर्छ।
पोल्यान्डको दानजिगबाट सन् १९३९ को सेप्टेम्बर १ तारिखमा दोस्रो महायुद्ध सुुरु भयो। सो युद्धका प्रत्यक्षदर्शी सैनिकहरू नेपालमा आज पनि छन्। उनीहरूको अनुभव र युद्धको कथा नेपाली सेनाका लागि समेत उपयोगी हुन सक्छ। ‘सर्भाइभल’ तालिमका लागि काम लाग्ने हजार पृष्ठको पुस्तक नै बन्न सक्छ। त्यो त ‘ग्राउन्ड ब्याटल’ अनुभव हो तर मनोवैज्ञानिक युद्ध कसरी गरिन्छ भन्ने प्रश्नको व्यावहारिक जवाफ सजिलो छैन। यसका लागि नेपालको इतिहास, भूगोल सबै पढ्नुपर्ने हुन्छ।
हिटलरको सेना सुनियोजित हल्ला (प्रपोगन्डा) लाई युद्धको एउटा मोर्चा बनाउन सफल भयो। हिटलरले त्यस निम्ति मन्त्रालय नै बनाए। डा.गोयबल्स प्रपोगन्डा मन्त्री भए। नेताहरू आज पनि ‘गोयबल्स शैली’ भन्छन् तर धेरैलाई गोयबेल्सको नीतिबारे गहिरो ज्ञान छैन। सुनजुले ‘आर्ट अफ वार’ (युद्धकला) ग्रन्थमा लडाइँ नगरी जितिएको लडाइँ सफल हुन्छ भनेका छन्। चीन, भारत, रसिया र अमेरिकासँग सन्तुलन कायम राख्ने राजा महेन्द्र र नेपाल सन्तुलित र दुई ढुंगाबीचको तरुल हुनुपर्छ भन्ने पृथ्वीनारायण शाहको नीति अपरिपक्व देखिँदैन। ‘यो आर्ट अफ वार’ नै हो।
पल जोसेफ गोयबल्स हिटरका हितैषी मात्र होइन, हृदय र मस्तिष्क जोड्ने सेतु पनि थिए। लुइ लाक्नरले उनको डायरी प्रकाशित गरे। धेरै अध्ययनशील भएकाले सेनाले कस्तो मार्गचित्र बनाउनुपर्छ भन्ने गोयबल्सको दृष्टिकोण स्पष्ट थियो। अमेरिका, रसिया, ब्रिटेन जस्ता शक्ति एकजुट भएकाले जर्मनीलाई संकट परेको थियो। ४७ वर्षको उमेरमा आत्महत्या गरे गोयबल्सले पत्नी र छोराछोरीलाई विष दिएर। ‘झुटोलाई एक हजारपल्ट सत्य भनेपछि जनताले हल्लैहल्लामा पत्याउँछन्’ भन्ने उनको तर्क नेपालमा समेत पुष्टि भएको पाइन्छ।
कैयन् मिडियाबाट प्रायोजित ढंगले कसैलाई तानाशाह र कसैलाई देवदूत बनाइयो नेपालमा। अधिकांश जनताले त्यो पत्याए। सत्य–असत्यको मीमांसा गरिएन। आज पनि कतिलाई देवदूत र कतिलाई भूत भनिँदैछ। समस्या र कमजोरी हरेक मानिसमा हुन्छ तर दल, गुट वा जातको चश्मा खोलेर हेरिँदैन। असल गुण छन् भने गुणग्राहीले स्वीकार गर्छ। एउटा कविता छ– ‘गुणग्राही जहाँ छैनन्, त्यहाँ के गर्ला गुणी ? कौडीमा पनि मिल्किन्छ भिल्लाका देशमा मणि।’ जनताले समयमा सही र गलत बुझ्न नसक्दा राष्ट्रको जिम्मेवारी लिएकाहरूले बाटो बिराएको कुरा अब जनताले नै स्वीकार्नुपर्छ।
कैयन् मिडियाबाट प्रायोजित ढंगले कसैलाई तानाशाह र कसैलाई देवदूत बनाइयो नेपालमा। अधिकांश जनताले त्यो पत्याए। सत्य–असत्यको मीमांसा गरिएन। आज पनि कतिलाई देवदूत र कतिलाई भूत भनिँदैछ।
गोयबल्सहरू अब काम लाग्दैनन्। चेतना बढ्दैछ। ‘अत्यन्त गोप्य’ सूचना पनि जोगाउन मुस्किल छ। सोभियत संघको काठमाडौँस्थित दूतावासबाट पञ्चायतकालमा गुप्त रिपोर्टका फाइलहरू दराजसहित हराएको घटनाले ऊबेला उच्चपदस्थहरूलाई पसिना आयो। नगरकोटमा रात्रिभोजनमा डाकेर कम्युनिस्ट देशका गुप्त सूचना लिने को थिए, सहजै बुझ्न सकिन्छ। मस्को र मार्साबीच सुमधुर सम्बन्ध भएकाले दराज उठाउनेहरूले ‘राजदूतले पोल्यान्डको दूतावास पुगेर सुरक्षित ठाउँमा राख्नू’ भन्ने आदेश दिनुभएको छ भने, गार्डहरूले थप कुरा सोधेनन्। हजारौँ सूचनामध्ये नेपालको मात्र थिएन, पूर्वी युरोपका पूर्वी जर्मनी, हंगेरी, चेकोस्लोभाकिया, अल्वानिया, रोमेनियालगायत राष्ट्रका सूक्ष्म सूचना हराएका रसियाका कूटनीतिज्ञले स्वीकार गरे।
आज पनि कैयन् राष्ट्रका सैनिक सूचना र सम्वेदनशील रणनीतिका दस्तावेज सुरक्षित छैनन्। अझ नेपाल जस्तो बिग्रिँदै–भत्किँदै गएको राष्ट्रमा त संशय र हल्लाबीच गहिरो साइनो हुने गर्छ। दश वर्षे द्वन्द्वका बेला सेना, प्रहरी र गुप्तचरका उच्च आसनमा बसेका केही अधिकृतले माओवादी र विदेशीलाई गुप्त सूचना दिएको रहस्य खुल्दैछ। त्यसपछि पूर्णविराम लाग्यो भन्ने कुरामा ढुक्क हुन सकिँदैन। अहिले विदेशी हस्तक्षेप र विदेशी सहायताको तस्बिर ‘दाल–चामल’ मिसाइएको खिचडी जस्तो छ। दाल–चामल छुट्याएर खान मिल्दैन खिचडीमा।
राजनीतिक अस्थिरता बढिरहेमा राष्ट्रमा जताततै विद्रोह हुन्छ। जात, क्षेत्र, भाषा आदिका आधारमा विखण्डित हुँदै जाँदा राष्ट्रिय एकता कमजोर भएका पचासौँ उदाहरण छन्। अस्थिरताको दुष्प्रभाव सेनामा समेत पर्न सक्छ। भीमसेन थापाको मृत्युपछि पुष्कर शाह, रंगनाथ पण्डित, प्रसादसिंह बस्नेत, कुलराज पाँडे र अन्य केहीले सेनालाई ‘भीमसेनका मान्छे’ भन्दै खान्की घटाउँदा ठूलो विद्रोह गर्यो। सेना विरोधीका घर–घरमा पुगेर सिपाहीहरूले पछार्न थाले। ‘तिमीहरू मोजमस्ती गर्ने, हामीले आधा पेट खानुपर्ने’ भन्दै राजगुरु रंगनाथ पौड्यालको इन्द्रचोकस्थित घरमा १८९७ असार १० गते हमला गर्दा उनको पुस्तकालयसमेत तोडफोड भएको इतिहासकार बाबुराम आचार्यले लेखेका छन्।
यसलाई पहिलो सैनिक विद्रोह मान्नेहरू पनि छन्। जंगी, निजामती, प्रहरी, सशस्त्र प्रहरी, उद्योग, व्यापार, शिक्षालगायत यावत क्षेत्रलाई राजनीतिको प्रकोपले मरणासन्न बनाउन लागेको अहिलेको अवस्थामा व्यक्तिको होइन, प्रणालीको विकल्प खोजिरहेको देखिन्छ। राजनीतिक प्रणालीको नाममा राष्ट्रको दोहन गरेर एक प्रतिशत भन्दा कम मानिस धनका सिकारी र अरू भिखारी बन्दै जाने अवस्था भएमा त्यसबेला ज्वालामुखी विस्फोट हुन्छ।
हामी उज्यालो पर्खिरहेका छौँ। भय, शंका, अभाव, अन्योल, विश्वासको संकट, बाहिरी हस्तक्षेप, राष्ट्रिय एकतामा कालो बादल र सुदूर क्षितिजसम्म अन्धकार देखिए पनि लामो रातपछि उज्यालो हुन्छ भन्ने सोचिरहेछौंँ। राष्ट्र सुरक्षित, अविभाज्य र अखण्ड रहोस् भन्ने कामना गरिरहेका छौँ। ऐतरेय उपनिषद्मा एउटा श्लोक छ– ‘चरैवेति चरैवेति ...।’ यसको अर्थ हो– हिँडिरहु, हिँडिरहु। ब्राह्मण भेषमा आएका इन्द्रले राजा हरिश्चन्द्रका पुत्र रोहितलाई सम्झाउँछन्– ‘हिँडडुल गरेर ज्ञान प्राप्त गर्नेहरू इन्द्रका साथी हुन। कर्मठले मात्र समाजमा सम्मान पाउँछ। तिमी पनि सक्रिय भइरहनु, ‘हिँडिरहु’ अर्थात चरैवेति चरैवेति।
विश्व कवि रवीन्द्रनाथले यसैलाई आधार बनाएर बंगालीमा लेखे– ‘तिम्रो कुरा सुन्ने कोही छैनन् भने पनि गन्तव्यमा पुग्न एक्लै हिँड।’ (जोदि तोर दक सुने केउ न आसे, तोबे एकला चलो, एकला चलो, एकला चलो रे।) हुन पनि हो, भिडमा रमाउने योग्यता, क्षमता केही चाहिँदैन। एक्लै हिँड्न दल वा गुटको पिँजराबाहिर उभिन वा स्वतन्त्र निर्णय गर्न विवेक र साहस चाहिन्छ। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको वाणी घतलाग्दो छ– खराब दलबलमा मिसिनु भन्दा एक्लै हिँडेको उत्तम।
‘उज्यालो हुन्छ’ वाक्यांश लाखौँले प्रयोग गरेका छन्। धेरै टाढा कतै जूनकीरी देखे पनि निष्पट्ट अँध्यारोमा मन रमाउँछ। लामो खडेरीपछि एकझर पानी पर्दा मनको चरी नाच्ने गर्छ। संकटका बेला कसैको स्पर्श गर्दा, मुसुक्क हाँसेर बोल्दा वा आश्वासन दिँदा हृदयको शिशु गद्गद् हुन्छ। मान्छेको बाँच्ने आधार नै आशा हो। भोलि उज्यालो हुन्छ भन्ने आशामा हामीले कष्टपूर्ण रातहरू बिताएका छौँ। उज्यालो हस्तान्तरण गर्न आधा पेट खाएर सन्तान हुर्काउने आमा–बाहरू, ज्ञानज्योति बाँड्ने शिक्षकहरू, भोलिका चम्किला ताराहरू वा अहोरात्र श्रम गरेर बाँचेका सत्कर्मीहरू सबैलाई उज्यालो मन पर्छ।
चौध हजार पाँच सय श्लोकको भविष्य पुराणले विश्वका चुनौती, समस्या र सम्भावनाको भविष्यवाणी गरेको पाइन्छ। अफगानिस्तानका प्राचीन इतिहासकार खोण्डामिरले विदेशी मुसलमानले भारतमा हमला गर्दा पन्ध्र लाख भन्दा बढी सनातन धर्मावलम्बी मारिएका जनाएका छन्। भविष्य पुराणमा प्राकृतिक प्रकोपले ‘भारत क्षेत्र’ ध्वस्त हुने भविष्यवाणी गरिएको हुँदा जलवायु परिवर्तनको दुष्प्रभाव बढ्छ भन्ने वैज्ञानिकहरूको तर्कलाई कल्पना मात्र मान्न सकिँदैन।
जतिसुकै विपत्ति भोगे पनि मानिस जिजीविषाबाट अनुप्राणित हुन्छ। बाँच्ने इच्छाले समाज र राष्ट्र जोगाउँछ। कठोर रातपछि घाम देख्न पाइने आशामा छन् नेपाली पनि। राज्यको लाचारी, चरम भ्रष्टाचार, दलतन्त्र, महामारी, घात/प्रतिघात सबैलाई जित्नु छ हामीले। यस्तो बेला ‘राष्ट्र सर्वोच्च हुन्छ’ भनेर देशभक्तहरू एकै ठाउँ उभिए पुग्छ। अनि मात्र उदाउँछ आशाको आदित्य।
प्रकाशित: ७ जेष्ठ २०७८ ०५:०८ शुक्रबार