४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

महिला सशक्तीकरण र समावेशिता

प्रत्येक वर्ष महिला दिवस मनाउँदै गर्दा एकै किसिमका विषयहरू, मुद्दाहरू र समस्याहरू दोहोरिँदै आइरहेका हुन्छन्। यो स्वाभाविकै पनि हो किनभने सदियौंदेखि महिला भएकै कारणले समावेशीकरण हुन नसकेका पक्षहरूलाई एकसाथ मिलाउने अभ्यासले समय लिन सक्छ। तर कतिपय अवस्थामा हामीले महिला हक, हित, अधिकार, निर्णयक्षमता र संरक्षणको नाममा राजनीतिक आधार बनाएर बाँकी पक्षहरूलाई छाडीदिएका हुन्छौं।

राजनीतिक समावेशीकरणलाई आधार देखाएर महिला हकको पक्षमा नेपाल धेरै अगाडि छ, कानुन, नीतिनियम र संविधानमै महिलाको उच्च स्थान भन्दै गर्व गरेका छौं। हुनत लोकतन्त्रको प्रमुख आकर्षण नै समन्यायिक समाजको निर्माण हो त्यसको स्वरूप सामाजिक विम्बको रूपमा उतार्ने प्रयास भएको छ र त, नीति नियममा मात्र किन, उच्च पदस्थ स्थान नै महिलाले पाएका छन्।  

यसमा गर्व नगर्नुपर्ने कारण नै छैन। तर यसले कति प्रतिशत महिलाको जीवनस्तर उकासेको छ। कति प्रतिशत महिलाको साक्षरता, शसक्तिकरण र समावेशीकरणलाई प्रतिनिधिŒव गरेको छ त्यो महŒवपूर्ण सवाल हो। समावेशीकरणले महिलालाई मात्र सम्बोधन गर्दैन। नारीवादी धारणाको मात्र वकालत गर्दैन। महिला–पुरूष सबैको सामाजिक विकास र जीवनशैली विकास एवं स्तरोन्नतिलाई हेर्दछ। हाम्रा नीतिगत सवाल र कार्यान्वयनका ेपक्षबाट समग्रतामा परिणाम के छ, सुधारोन्मुख अवस्था र चुनौती के छन् र कस्ता वर्गमा यसलाई संबोधन गरिनुपर्दछ त्यसको अनुगमन र मूल्यांकन जरूरी हुन्छ।

समग्र विकासको लागि महिला होउन् या पुरूष उसको जीवनका पाँच आयाम समेटिन सकेनन् भने समावेशीकरण, समानता, महिला शसक्तिकरण कुनैपनि पक्षबाट समान अवसरको प्रत्याभूति गर्न सकिन्न। जीवन पद्दतिका आयामले सहजता र समान पहुँचको अभ्यास दिन नसक्नुको परिणाम नै सोचे अनुरूपको सहभागिता र मूल्यांकन हुन नसकेको यथार्थता हो। ति आयामलाई वास्तविकताको आधारमा हेरौं।

व्यक्तिगत विकास ः व्यक्तिŒव विकासको सवाल महिला र पुरूष भन्ने भेद हुँदैन। एउटा समाजको विकासमा त्यस समाजका महिला पुरूष सबैको आचरण र चेतनाले काम गरेको हुन्छ। व्यक्तिको समग्र विकास, नेतृŒव क्षमताको विकास, शारीरिक र मानसिक स्वस्थरूपमा स्वस्थ अनि स्वस्फुर्त विकासको लागि व्यक्तिगत आचरण र जीवनशैली कसरी विकास भएको छ त्यसमा ध्यान दिइनुपर्दछ। एउटा व्यक्तिले पाउनुपर्ने असल संस्कार, शिक्षा, चेतना जागरणको निरन्तरता, जिम्मेवारीबोधर कर्तव्यपराणयता थाहा नभएको अर्थात् पहुँच नपुगेको व्यक्तिले न त आवाज उठाउन सक्दछ न त समाजमा योगदान दिन नै।  

नीति नियम, कानुन, अधिकार र सहभागिताको आवाज उठाउन र समान योगदान दिनको निम्ति पहिले स्वयंमा सक्षम भएको हुनुपर्दछ। हत्या, हिंसा, अपराध र अराजकता थाहा पाउन, त्यसमा संलग्न नहुन र संलग्न हुनेलाई पनि चेतावनी, चेतना जागरणका शिक्षाद्धारा परामर्श गर्न र अन्त्यमा दोषीलाई सजाय दिन आवाज उठाउन सक्ने सक्षमता व्यक्तिगत विकासमै भर पर्छ। हामी एकैचोटी अराजकता र अपराध अन्त्य गर्न सक्दैनौं। एकैचोटी समानताको दायरामा ल्याएर स्वतन्त्रताको अनुभूति दिलाउन पनि सक्दैनौं।  

समानताको अर्थ सबैलाई बराबरी बाँडफाँट होइन। समानताको अर्थ त जो जसमा जुन क्षमता, कुशलता र दक्षता छ उसको गुणवत्ताको कदर गर्नु हो। कुशलता, दक्षता, सम्मान र आदरको लिंग हुँदैन। लैंगिक सवाल र समानताको आवाज मात्र उठाइरहँदा समावेशीकरण हुन नसकेको र समावेशीकरणलाई आधार मान्दा व्यक्तिगत क्षमता, पहुँच र सम्मान पछि परेको त छैन ख्याल गर्नुपर्ने देखिन्छ। जसले गर्दा वर्षैपिच्छे उहीँ नारा र माग गर्नु नपरोस्। परिवर्तनको अनुभूति गर्न सकियोस्।

आर्थिक विकास ः महिला या पुरूषसमान समावेशीकरणको सवाल उठाइरहँदा आर्थिक पहुँच के छ त्यसमा ध्यान पुग्न नसक्नु नै परिणाम सधैं उस्तै रहनुको कारण मान्न सकिन्छ। आर्थिक रूपमा आत्मनिर्भर हुनसक्ने अवस्था नआउँदासम्म व्यक्तिलाई अधिकार, समानता, समावेशीकरणले अर्थ दिन सक्दैन। प्रत्येक व्यक्तिले आफ्नो सम्मानमा जिउन सक्ने आधार तय नगर्दासम्म समाजमा हुने र नहुनेबीचको खाडल बाँकी नै रहन्छ। सम्पत्तिमा महिला या पुरूषको हक भन्ने सवाल उठ्नु भन्दा पनि स्वयंको पुरुषार्थ र मिहिनेतले आर्थिक सवलीकरणमा उत्प्रेरणा दिने काम हुनुपर्दछ।

समाजका हरेक वर्ग र समुदायको पहुँच र अवस्था हेरेर स्वरोजगारी सृजनाका साथ आत्मबल बढाउने क्रियाकलाप, सीपमुलक तालिम प्रदान गरी दक्षता विकासमा ध्यान दियौं भने अराजकता, अपमान, असमानता विस्तारै न्युनीकरण हुँदै जानेछन्। हरेक मुद्दालाई सामान्यीकरण गरेर बाँडफाँट र समानताका कुरा गर्नुभन्दा सहजता, आत्मसम्मान र पुरुषार्थको जीवन कसरी बाँच्ने त्यसमा मनोपरामर्श दिन सकियो भने आदर्शवादी समाजको स्थापना हुन सक्ला। जति पनि अराजकता, अपराध, हत्या, हिंसा र अनुशासन हिनताका कार्य बढ्दै गइरहेका छन् त्यसको एउटा प्रमुख कारण आर्थिक अवस्था त होइन ?

सामाजिक विकास ः समानता र समावेशीकरणमा सामाजिक विकासले कसरी संबोधन गर्छ भन्ने जिज्ञासा जाग्न सक्छ। एउटा समाजले एक अर्कामा देखाउने विभेदमा सामाजिक कारण जोडिएर आएका हुन्छन्। भाषा, भूगोल, लिंग, संस्कार, धर्म, शिक्षा, पहुँच, धनी, गरिव र क्षमताको आधारमा समाजले उसको वर्ग निर्धारण गरिदिएको हुन्छ। वर्षौंदेखि बसेको त्यो संस्कार हटाउन नसक्दासम्म कागजी नियम, कानुन, नीति, नियम र समानताको अवसरले व्यक्तिको विकास भएको हुँदैन। समाजले एक अर्कालाई हेर्ने दृष्टिकोण, सम्मान, अपमान, विभेद र परम्परागत संस्कारको न्युनीकरण नहुँदासम्म न त व्यक्तिको विकास हुन्छ न त समाजको नै। सामाजिक संरचना र संस्कारले नै समग्र राजनीतिक, आर्थिक, साँस्कृतिक र शैक्षिक विकासको मापन गर्दछ।

साँस्कृतिक विकास ः फरक फरक अस्तिŒव र पहिचान भएको समाज, परिवेश, भूगोल, भाषा र जातजातिको साँस्कृतिक विविधताको कारणले समाज र राष्ट्रको सुन्दरता कायम रहेको छ। आफ्नो समाज र सम्प्रदायको साँस्कृतिक विकास खोजिरहँदा अरूको आत्मसम्मानमा चोट नपुगोस् भन्ने भाव विकास हुने हो भने विभेदको सृजना हुन पाउँदैन। अर्कोतिर आधुनिकीकरणको नाममा आफ्नो संस्कार र संस्कृतिलाई बिर्सिंदै वा उपेक्षा गर्दै जाने परम्परा बढेको पाइन्छ। हरेक सभ्यता र समाजको विकासमा साँस्कृतिक पक्षले महŒवपूर्ण भूमिका खेलेको हुन्छ। साँस्कृतिक विकासलाई उपेक्षा गरेर समानता र समावेशीकरणको अभ्यासलाई अगाडि बढाउन सकिएनन् भने अपेक्षित परिणाम हाँसिल गर्न सकिँदैन। विविधतायुक्त साँस्कृतिक पहिचानको सम्मान हुन नसक्नु नै विभेद र अराजकताको कारण त होइन ? सोचनीय छ।

आध्यात्मिक विकास ः समाजका हरेक पक्षमा समानता र समावेशीकरणको सवाल उठिरहँदा व्यक्तिको आत्मसम्मान, स्व–विकास र स्व–पहिचान बिर्सिएको छ। चेतनायुक्त समाजको निर्माण हुनु नै अराजकता मुक्तिको उपाय हो। यसको लागि आध्यात्मिक विकासको विकल्प नै छैन जसलाई अहिलेसम्म ९० प्रतिशतले वेवास्ता गरेको पक्ष हो। म रोग मुक्त हुन चाहन्छु तर औषधि सेवन गर्दिन या आचरणमा सुधार ल्याउन भने सक्दिन भनेजस्तै सबैतिर समृद्ध विकास चाहन्छु तर आध्यात्मिक बोध जरूरी छैन भनेजस्तै हो। अध्यात्म कुनै कठिन अभ्यास होइन, यो त आफूभित्रको चेतनतत्वलाई अनुभूतगर्नु हो। आफ्नो मुलभूत स्वभाव अध्यात्म हो। अध्यात्मजीवन यात्रालाई उत्कृष्ट बनाउने मार्ग हो। आध्यात्मिक ज्ञानको अनुभवले नै शारीरिक र मानसिक स्वास्थ्य एवं नेतृत्व क्षमताको विकास हुने भएकोले यसको अभ्यास विनाको समृद्धि अपूर्ण नै रहन्छ। हरेक क्षेत्रको विभेद, अपूर्णता र अराजकतालाई समाप्त गर्ने अभ्यास नै आध्यात्मिक चेतना हो।

प्रकाशित: २४ फाल्गुन २०७७ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App