१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

एकलको विवाह: रहर कि बाध्यता ?

रेजिना पाण्डे

समाजले जति नै नारी र पुरुषमा भेदभाव गरे पनि वास्तवमा नारी–पुरुष एकअर्काका परिपूरक हुुन्। अनि समाज र परिवार चलाउने जिम्मेवारी बोक्ने सहयात्री। त्यसमा पनि श्रीमान्–श्रीमतीको सम्बन्ध त यस्तो हो, जुन आपसमा आत्मीयता र विश्वासको भरमा अडेको हुन्छ। जसरी एउटा पांग्रा बिग्रियो भने रथ चल्न गाह्रो हुन्छ, त्यस्तै हो, पति–पत्नीको सम्बन्ध पनि। एउटा नहुँदा अर्काे अपुरो।

श्रीमान्–श्रीमतीको सम्बन्ध अटुट हुँदाहुँदै पनि कुनै बेला यो टुटिदिन्छ वा एक जनाको मृत्यु हुन्छ र एक्लो भइन्छ। यो अवस्थामा आफ्नो जीवनसाथी गुमाएर विधवा वा विधुर हुुनुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ। त्यतिबेला जीवनको एक्लोपन त छँदै छ, सँगै यसले निम्त्याउने अनेक समस्याबाट पनि पीडित हुनैपर्छ। यो सत्य र साँचो हो। एकअर्कोबाट बिछोड भएर एकल पुरुष वा महिला भएर बस्नु सबै हिसाबले पीडादायक नै हुन्छ।

छोराछोरी प्रायः विदेशमै हुन्छन्, अचेल धेरैका। यहीं हुनेले पनि बाबुआमालाई समय दिन सक्दैनन्। त्यसैले एकल महिला÷पुरुषका लागि आफ्नै घर पनि बिरानो बन्दै जान थालेको छ। यो कुनै एक÷दुई नभएर प्रायः घरको समस्या हो। आफैंले जन्माएका छोराछोरी बरु इन्टरनेटमा रमाउने तर बाबुआमालाई समय दिन नसक्ने अवस्थामा छन्। उनीहरू सारा कुरा गर्न भ्याउँछन्, तर अभिभावकसँग एकछिन बस्न भ्याउँदैनन्। उनीहरूका कुरा सुन्ने फुर्सद हुन्न। त्यसले पनि एकल जीवनलाई निराश तुल्याउने काम गरेको छ।

एक्लो जीवनको हाँसो भनेको नक्कली गहनाले ल्याएको खुसीजस्तै हो। एकल अभिभावकका छोराछोरीले यो वास्तविकता बुझ्न जरुरी छ र दोस्रो विवाहका लागि सल्लाह दिन आवश्यक छ।
 
यस्तो अवस्थामा धेरै एकल पुरुषले अर्को विवाह गरेको देखिन्छ। उनीहरूलाई विवाहका लागि घरपरिवारबाटै दबाब आउने गरेको छ। त्यसैले धेरै एकल पुरुष आफूभन्दा कम उमेरका महिलासँग बिहे गरेर घरजम गरी बसेका थुप्रै उदाहरण पाइन्छ। तर एकल महिलाका हकमा अवस्था बिलकुल फरक छ। उनीहरूलाई यसरी सहजै विवाह गर्ने अनुमति समाजले दिँदैन। त्यसैले आफ्नो भाग्यमा यस्तै रहेछ भनेर बस्नुको विकल्प उनीहरूसँग हुँदैन।
 
तर स्थितिमा केही फेरबदल आउँदै छ। समाज बिस्तारै परिवर्तन हँुदै छ। कतिपय ठाउँमा त सासूससुरा नै अघि सरेर एकल बुहारी अन्माउने मात्र होइन, भिœयाउने क्रम पनि सुरु भएका छन्। जसलाई निकै राम्रो सुरुवात मान्न सकिन्छ। पारिवारिक÷सामाजिक डरका कारण अहिले पनि मन लाग्दालाग्दै बिहे नगर्ने एकल महिला धेरै छन्। पछिल्लो समय आइरहेको सामाजिक परिवर्तनले भने यस्तो त्रास हटाउन निकै सहयोग पुगेको छ।

एकल महिला वा पुरुष भएका परिवारका सदस्यले उनीहरूका पीडा खासै बुझ्न सकेको पाइन्न। त्यसैले उनीहरू निराश हुन्छन्। अनि कहिलेकाहीं यस्तो निराशाले दुर्घटनासमेत निम्त्याउने गर्छ। तर समाज÷परिवारले यसलाई गम्भीर रूपमा लिन आवश्यक ठानेको छैन। त्यसैले फेसबुकलगायत सामाजिक सञ्जालमा खुम्चिँदै गएको दिनचर्याको सिकार नहोउन् भनेर पनि एकल महिला÷पुरुषका लागि उचित प्रबन्ध गर्नैपर्छ। र, विवाह गर्ने स्वीकृति दिनु यसका लागि सबैभन्दा राम्रो उपाय हुन सक्छ।

हुन त हाम्रो समाज नै यस्तो छ कि छोराछोरीले आफ्ना आमाबाबुलाई दोस्रो विवाहका लागि हतपति अनुमति दिँदैनन्। समाज जति नै आधुनिकतामा प्रवेश गरेको भनिए पनि अवस्था यस्तो छ। तर समय सधैं एकैनास रहँदैन। जीवनमा माया, पे्रम, स्नेहको धेरै आवश्यक पर्छ। एक्लो जीवनको हाँसो भनेको नक्कली गहनाले ल्याउने खुसीजस्तै हो। तसर्थ एकल अभिभावकका छोराछोरीले यो वास्तविकता बुझ्न जरुरी छ।

कतिपय अवस्थामा दोस्रो विवाह जरुरी होइन र बाध्यता पनि होइन। मेरी कलेजकी साथीले केही समयअघि सुनाएको एउटा प्रसंग यस्तो छ ः म २ वर्षकी हुँदा बुबा बिते। २० वर्षसम्म आमाले मलाई पढाइन्। शिक्षक आमा मेरै लागि विवाह नगरी बसिन्। अहिले म पढाइमा निकै व्यस्त हुन थालेकी छु। आमालाई धेरै समय दिन सक्दिनँ। मिलेमा बाहिर (विदेश) जाने तयारी पनि गरिरहेकी छु। म नहुँदा उहाँलाई कति दिक्क लाग्ला भनेर अहिलेदेखि नै चिन्तित छु। न म आमालाई विवाह गर नै भन्न सक्छु।

यस्तो अवस्था धेरै देखिन्छ, हाम्रो समाजमा। तर पनि विवश छन्, सम्बन्धित व्यक्ति। वास्तवमा द्रोस्रो विवाह कुनै भूल होइन। सहमति छ भने आफ्नै सन्तानले आमा अन्माउन सक्छन् र भित्र्याउन पनि। तर सोच परिवर्तन हुुनैपर्छ। विडम्बना, यहाँ धरैले आमा भिœयाए, तर आमा अन्माउन सकेका छैनन्। त्यसैले अब पुरातनवादी मान्यता फेर्नैपर्छ र आफ्ना एकल अभिभावकको खुसीमा रमाउन जान्नैपर्छ।  यसो गर्न ढिला बेला भएन र ?

प्रकाशित: २७ फाल्गुन २०७६ ०६:१६ मंगलबार

एकल विवाह