जगदीश रेग्मी
समाजलाई विविधताको समष्टिगत स्वरूप मानिन्छ, किनकि हाम्रो समाजको ढाँचा (सिंगो सामाजिक परिस्थिति)भित्र सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक व्यवस्था र यसअन्तर्गत अनेकौं एकाइ छन्। नेपाल बहुल जाति, भाषा, धर्म, संस्कृति भएको देश हो, जसलाई बहुलवादी समाज पनि भनिन्छ। विविधता यहाँको मौलिक पहिचान हो र यो विश्वकै अनुपम र एक मात्र उदाहरण हो। विविधतामा एकता, हाम्रो समाजको विशेषता हो। यसैकारण नेपाली–नेपालीबीच सद्भाव र सहिष्णुता छ। विश्वसामु हाम्रो पहिचान हामीले विकास गरेको समाज, अपनाएको संस्कृति र सभ्यतामा आधारित हुने भएकाले यस समाजको बृहत्तर विकासमा जोड दिनु नितान्त आवश्यक छ।
आधुनिकताका नाममा हामीले कस्तो समाज निर्माण ग¥यौं, जहाँ राजनीतिक नेताहरू स्वार्थी, महत्वाकांक्षी र कपटी हुन बाध्य छन्। उनीहरूको केन्द्रबिन्दु सत्ता, शक्ति र सुविधा प्राप्ति मात्रै भएको छ। धनी बन्ने सपना देख्ने र त्यो पूरा गर्न अनेक हत्कण्डा अपनाई शक्ति र सम्पत्ति आर्जन गर्ने दौडधूपमै हाम्रा राजनेता व्यस्त देखिएका छन्। जनतामा रहेको यस्तो बुझाइले त राजनीतिकर्मी भनेका राष्ट्रका भ्रष्टाचारी, दलाल, माफिया, तस्कर आदि कुख्यात अपराधी त होइनन् भन्ने परेको छ। यो आधुनिक युगको आवश्यकता र बाध्यता हो वा खराब प्रवृत्ति र दोष ? यसको निक्र्याेल गर्न ढिला भइसकेको छ।
जनमानसमा राजनीतिकर्मी भनेका भ्रष्टाचारी, दलाल, माफिया, तस्कर आदि कुख्यात अपराधी त होइनन् भन्ने परेको छ।
सरकारले राष्ट्र र जनताको हित र विकासमा प्रशंसनीय काम गर्न सकेन भनी जनतामा निराशा छाउनुका साथै राजनीतिकर्मीप्रति घृणाभाव बढ्दै गएको देखिन्छ। एकातिर राजनीतिक परिवर्तनका परिणाम नदेखिई त्यसका अजेन्डा ओझेलमा पर्नु र अर्कातिर वर्तमान पिँढीका युवामा आवश्यकता र महत्वाकांक्षा वृद्धि हुँदै जानु सरकारका निम्ति ठूलो चुनौती बनेको छ। त्यसैगरी विकासका सम्भावना र अवसरप्रति नागरिकका आशा र भरोसा तोडिँदै गएको देखिन्छ। यसरी राजनेताप्रति जनताको विश्वास गुम्दै जानु भनेको सरकार जनतामाझ अलोकप्रिय हुँदै गएको अर्थमा बुभ्mन सकिन्छ। यसले समाज विखण्डनतर्फ उन्मुख, भड्काव सिर्जना, राजनीतिक व्यवस्था परिवर्तनविरुद्ध संघर्ष र त्यसबाट राष्ट्र असफलताको दिशातर्फ मोडिने खतरा ल्याउँछ।
शासन प्रणालीलाई बढी लोकतान्त्रिक, लोक कल्याणकारी, जनताको अपनत्वयुक्त बनाउने साथै समावेशी एवं समानुपातिक नीति तथा संयन्त्र निर्माण गरी राज्यमा समतामूलक विकास र सुशासन कायम गर्ने राज्यको राजनीतिक उद्देश्य छ। तर समग्र मुलुकवासीले सुशासन, पर्याप्त सेवा÷सुविधा र स्वच्छ न्याय पाएका छैनन्, फलतः जनतामा आक्रोश र उदासिनता छाएको छ। विश्व समुदायसामु राष्ट्रिय सम्मान अभिवृद्धि गर्नेतर्फ राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशित हुनेछ भनिए पनि सन्तुलित परराष्ट्र सम्बन्ध कायम हुन सकेको छैन। राष्ट्रियताको रक्षा र सम्मान वृद्धिमा लाग्नुपर्नेहरू नै बिलकुल निजी स्वार्थमा लिप्त रहनाले मुलुकको स्वाधिनता र स्वाभिमानमा ठेस पुगेको छ।
अविकसित समाजमा विभिन्न समय र घटनाक्रममा वर्ग र अन्तरर्विरोधको जन्म भइरहन्छ। यो कुरा शाश्वत सत्य हो। यस्ता अन्तरर्विरोध दमनका प्रयास भई नै रहन्छन्, तर त्यसका लागि ठूलै शक्ति र बल खर्चिनुपर्छ। यस्ता वर्ग र अन्तर्विरोधलाई सामान्य शक्तिले निषेध गर्न सकिँदैन। निषेध गर्ने दुस्साहस गर्नु भनेको निरंकुश अर्थात् सर्वसत्तावादी शासक÷प्रशासकले आफ्नो कलुषित चरित्र उदांग पार्नुजस्तै हो। दुनियाँमा एकाधिकारवादी चिन्तन र चरित्र भएका शासक वर्गको हविगत खराब भएका प्रशस्त उदाहरण छन्। यसका लागि सोभियत संघका जार, हिटलर र मुसोलिनीजस्ता शासक सम्झे मात्रै पुग्छ, अरू खोजिरहनै पर्दैन।
सभ्य र समतामूलक समाज निर्माण गर्ने राज्यको मुख्य उद्देश्य हो। तर पनि हाम्रो समाजको व्यवस्थापन विदेशीले नै गरिरहेजस्तो आभास हुन्छ। किनकि महाशक्ति राष्ट्रले गुप्तचर एजेन्सीका नेपालस्थित एजेन्टलाई लम्पसार र आत्मसमर्पण गर्न बाध्य तुल्याई राजनीतिक व्यवस्था परिवर्तन, कानुन लेखन, शान्ति÷सुरक्षाजस्ता आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेका छन्। परिणामतः नेपालीको स्वतन्त्र र सार्वभौम अधिकार कुण्ठित भएको छ। यसले राज्यसत्ता नै बाह्य शक्तिकेन्द्रको मुठ्ठीमा रहेको र यहाँका राजनेता तिनकै दबाब र प्रभावमा परेको प्रमाणित गर्छ। यस्ता व्यवहारले आम नेपालीलाई शिर निहुराउनुपर्ने र स्वाभिमान गुमाउनुपर्ने बनाएको छ। यसको तत्काल निर्विकल्प समाधान जरुरी देखिन्छ।
जनतालाई कर असुल्ने र भोट लिने साधनमा मात्रै सीमित गरिनु हुँदैन। यसो गरियो भने नागरिकमा देशको राजनीतिक व्यवस्था र सरकारप्रति नै वितृष्णा उत्पन्न भई वैकल्पिक राजनीतिक व्यवस्थाप्रति मोह जाग्ने प्रबल सम्भावना रहन्छ। त्यसैले यसतर्फ सतर्क रहन जरुरी छ।
हाम्रो समाजमा मेरो आस्था र विचारसँग मिल्ने दलको सरकार छ, मैलै यतिबेलै राज्यशक्ति र स्रोतको दोहन गरेर तथा सत्तालाई आफ्नो अनुकूलतामा चलाई अकुत सम्पत्ति आर्जन गर्नुपर्छ भन्ने दृष्टिकोण र चिन्तन भएका दलाल पुँजीपति वर्ग सल्बलाइरहेको पाइन्छ। यस्ता सम्भ्रान्त वर्गलाई सरकारले त्यस कुकृत्यमा साथ दिने हो भने अवश्य पनि दलित र अति विपन्न वर्ग अन्याय, शोषण र उत्पीडनमा पर्छन्। अवैध सम्पत्ति आर्जन गर्ने ध्याउन्नमा रहेका, विलासिता भोगको आकांक्षी राजनेताको सोच त्यस दिशातर्फ गएको छैन भन्न मुस्किल छ। यस्तो कुकृत्यले सरकार बदनाम हुने र जनताले दुःखपाउनेबाहेक अरू केही हुँदैन। तसर्थ अकुत सम्पत्ति आर्जन गर्ने अदृश्य वर्गको सोचलाई सफल हुन नदिन राज्य÷सरकार असल पद्धति निर्माण, कानुनको अक्षरशः पालना, राष्ट्रहित र विकासका लागि प्रतिबद्ध हुनुपर्छ।
नेपाली समाजमा राष्ट्रिय संकट र विकृति विसंगतिले व्यापकता लिएको अवस्था छ। हामी नेपाली र हाम्रो समाज एवं राष्ट्र विश्व राजनीतिको चक्रव्यूहमा फस्दै गएको स्थिति छ। सरकारका पदाधिकारी एवं राजनेता देशभित्रकै दलाल पुँजीपतिहरूको घेराबन्दी (इन्सर्कल्मेन्ट) मा परेको अवस्था छ। नेताको राजनीति गर्ने धरातल देशको भूगोल र त्यस भूगोलमा बसोबास गर्ने नागरिक हुन्। नेता जनताको कार्यादेश (म्यान्डेट) र संविधान र ऐन–कानुनबाट निर्देशित हुनुपर्छ। इमान्दारिता, सत्यनिष्ठा र कर्तव्यपरायणताजस्ता नैतिक आरचरण अक्षरशः पालना गर्नुपर्छ। नेताले आफ्नो धरातल के हो, कोबाट निर्देशित हुने र कुन नियतले काम गर्ने भन्ने कुराको राम्रोसँग हेक्का राख्नुपर्छ, बिर्सिनु हुँदैन।
राजनेताले संकुचित र पूर्वाग्रही सोच लिएर माफियाको घेराबन्दीमा पर्नु हुँदैन तथा विदेशीका बुख्याँचा भएर जीविका चलाउनु हुँदैन। यसले मुलुकको स्वाधिनता र स्वाभिमानमा आँच पु¥याउने आकलन गर्न सकिन्छ। नेताहरूको कार्यसम्पादन गर्ने क्षमताले सरकारकै कार्यकुशलता र शक्तिको मापन गर्छ र राज्य–व्यवस्थाको सफलता पनि त्यसैमा निर्भर हुन्छ। अन्यथा नागरिकको दृष्टिकोणमा अकर्मण्यताको पदवीले विभूषित हुनुपर्ने हुन्छ। राज्य र जनताको हित र विकासतर्फ संवेदनशील भएर काम नगर्ने हो भने संघात्मक लोकतन्त्र र अवलम्बन गरिरहेको शासन पद्धतिको समेत भविष्य अन्धकारतिर धकेलिने प्रबल खतरा रहन्छ। यसलाई विचार गरी राष्ट्रको समृद्धि र सुशासनमै पहलकदमी चाल्नु सर्वोत्तम उपाय हुनेछ।
हाम्रो समाजमा आपराधिक र अराजक गतिविधिले स्थान पाएका छन्। जसले गर्दा जनतामा विश्वासको संकट पैदा भएको छ। राजनीतिकर्मीको नैतिक आचरणमा सुधार, जनताबाट तोकिएको कार्यभार (अभिभारा) सम्पन्न गर्ने क्षमता विकास र भ्रष्टाचार, बलात्कार, तस्करीजस्ता कुप्रथा अन्त्य गर्ने, साथै माफियाकरण नामेट पार्ने साहस राजनेतामा भएका खण्डमा नागरिकको विश्वास सहजै जित्न सकिन्छ। वर्तमान सरकारले प्रथमतः यही उपयुक्त कदम चाल्न जरुरी छ। जनतालाई कर असुल्ने र भोट लिने साधनमा मात्रै सीमित गरिनु हुँदैन। यसो गरियो भने नागरिकमा देशको राजनीतिक व्यवस्था र सरकारप्रति नै वितृष्णा उत्पन्न भई वैकल्पिक राजनीतिक व्यवस्थाप्रति मोह जाग्ने प्रबल सम्भावना रहन्छ। त्यसैले यसतर्फ सतर्क रहन जरुरी छ।
प्रकाशित: १८ पुस २०७६ ०३:२३ शुक्रबार