५ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

प्याज पीडा

दुर्गानाथ शर्मा

नेपाली भान्सामा अनिवार्य मानिने प्याजले अहिले नेपालीहरूको आँखाबाट आँसु झारिदिएको छ। प्याज काट्दा पनि आँसु आउने, प्याज खाँदा पनि आँसु आउने, अब त बजार जाँदा पनि प्याज देख्नासाथ आँसु आउने अवस्था आएको छ। यो प्याजको कथा ठूलै छ। नेपाललाई कृषिप्रधान मुलुक पनि भन्छन्। नेपालीहरूको मुख्य पेसा पनि खेती नै हो। काठमाडौंमा प्याजको खपत बढी हुन्छ। किनभने ठूला तथा साना होटल, रेस्टुराँ जहाँ पनि प्याज प्रयोग हुन्छ। प्याज नभई वास्तवमा नेपाली भान्सा नै चल्दैन भने पनि हुन्छ। आयुर्वेदमा पनि प्याजको ठूलो महŒव भएकाले यसको औषधीय गुण पनि ठूलै छ। बेलाबेलामा प्याज यसरी नै बजारबाट हराउँछ। नेपालीका लागि यो नौलो कुरा होइन।

तर त्यही कृषिप्रधान र किसानको मुलुकमा भने प्याज नपाइनु एउटा अपत्यारिलो कुरा हुन्छ, अरूका लागि। हामी कृषिप्रधान देश भए पनि धेरैजसो हाम्रा भान्सामा प्रयोग हुने वस्तु बाहिर अर्थात् विदेशबाटै निर्यात हुन्छन्। कुरा हुन्छ– कर्णालीको ‘मार्सी चामल’को। तर हामीले खाने चामल कुनै भारतबाट त कुनै चीनबाट आउँछ। मार्सी चामल त नेताले मात्र खान सक्छन्। पञ्चायतकालमा सरकारले चामल निर्यात गर्न कार्यालय नै खोलेको थियो। चामल निर्यात पनि हुन्थ्यो। तर ती कारखाना कता पुगे ? पञ्चायतसँगै सती गए होलान्। अचेल हुनेखानेले  ‘मार्सी चामल’ खाएर ठूलठूला राजनीतिक कार्यक्रम तय गर्छन्। गरिबलाई भने मार्सी त कुरै छाडौं, ‘बगडा’ नामको ठूलठूला दाना भएका चामल पनि प्राप्त हुँदैन।

पञ्चायतकालदेखि अहिलेसम्मका अर्थमन्त्रीहरूले पेस गरेका नेपालको बजेट पल्टाएर हेर्ने हो भने कृषि र सिँचाइलाई नै प्राथमिकता दिइएको पाइन्छ। यसका लागि अर्बौं रुपैयाँ छुट्याइएको पाइन्छ। तर नेपालमा त्यस्तै बजेट आएको धेरै वर्ष चामलको हाहाकार भएको पनि सुनिन्थ्यो, पढिन्थ्यो। ती बजेट कहाँ पुगे ? हाकिमहरूका पकेटमा !

यो पंक्तिकार गोरखापत्रमा समाचार संकलन गर्ने (रिपोर्टर) थियो कुनै समय। २०२७÷२८ सालतिर होला, एकपल्ट बर्खाको समयमा काठमाडौंमा अहिले प्याज हराएजस्तै चामल हरायो। जेठ–असारको महिनामा चामलको हाहाकार नै चल्यो। बर्खाले गर्दा काठमाडांैवरिपरिका काँठहरूबाट आउने चामल पनि बन्द भयो। चामल निर्यात कम्पनीसँग पनि स्टकमा चामल छैन। हामीले यसलाई ठूलो समस्याका रूपमा लिँदै यसरी चामल अभाव हुनाका कारण खोतलेर एउटा अनुसन्धनामूलक समाचार बनाउने सोच्यौं।

धेरै पहिलेदेखि नै कृषिलाई हाम्रो मूल व्यवसाय ठानेर सरकारले अर्बाैं रुपैयाँ खर्च गरेको यतिका वर्ष भइसक्दा पनि भान्सामा दैनिक प्रयोग हुने एउटा वस्तु– प्याजमा पनि आत्मनिर्भर हुन सकेनौं, किन ?

त्यसबेला गोरखापत्रमा समाचारदाताको कुनै काम हुँदैनथ्यो। राष्ट्रिय समाचार समितिसित किनेको बुलेटिनबाट सम्पादन गरेर गोरखापत्रलाई चाहिने समाचारमा शीर्षक दिएर पठाउने एकमात्र काम थियो– हाम्रो। हामी केही रिपोर्टर मिलेर अनुसन्धान गर्ने क्रममा काँठतिरका किसानलगायत काठमाडौंमा ठूला/साना चामल व्यापारीलाई समेत भेटेर अन्तर्वार्ता ग-यौं। चामल निर्यात कम्पनीका उपमहाप्रबन्धकलाई पनि भेट्यौं र चामल अभावका कारण पत्ता लगाउने प्रयत्न ग-यौं। चामल कम्पनीका त्यसबेलाका उपमहाप्रबन्धकले हामीलाई केही कारण दिए।
हामीले सोच्यौं– एउटा समाचार बन्छ। हामीबीच सहमति पनि भयो। तर खाद्य संस्थानका उपमहाप्रबन्धको नाम उल्लेख नगर्ने सर्तमा हामीले ‘स्टोरी’ बनायौं। केही नगरी समय बिताउने हामीलाई ठूलो हौसला मिल्यो। के के न ग-यों भन्ठानेर नाक फुलाएर बस्यौं।

भोलिपल्ट अखबार निस्क्यो। हाम्रो समाचारले प्रमुखता पायो। पहिलो ‘हेडलाइन’ नै भयो। हामी खुसीले दंग पर्दै थियौं। सम्पादकले मलाई बोलाएर स्याबासी पनि दिए। हामीले जनताका समस्या, अभाव र दुःखका बेलामा यस्तै विश्लेषणात्मक समाचार दिनुपर्छ भनेर हाम्रो आफ्नो कोठामा पियनलाई बोलाएर चिया पनि खुवाए।

हाम्रो खुट्टा भुइँमा थिएनन्। त्यो दिन के के न गरेजस्तो भएथ्यो। त्यसको १ घण्टापछि तिनै सम्पादकले फेरि बोलाए र  भने– ‘तपाईंहरूको समाचार कथा त समाचारीय दृष्टिले निकै राम्रो छ, तर त्यसमा उल्लेख चामल कम्पनीका नायब महाप्रबन्धको नाम मन्त्रीज्यूले माग्नुभएको छ। को हो उहाँ ?’

हामी छक्क प-यौं। हामीले त्यो गोप्य कुराको सूचना दिने व्यक्तिको नाम छाप्दैनौं र एक कर्मचारीका अनुसार भनेर लेख्छौं भन्ने निर्णय पहिला नै भएको थियो। सम्पादकले हाम्रा कुरा सुनेपछि मन्त्रीजीले मान्नु नै भएन। मलाई नाम दिनुहोस्, भने। भनेपछि हामीलाई बेकारमा दुःख गरिएछजस्तो लाग्यो। तर हामीले सम्पादकलाई पत्रकारलाई आफ्नो स्रोत खुलाउनैपर्छ भनेर बाध्य पार्न पाइँदैन, आफ्नो स्रोत भन्न बाध्य छैनौं भनेर अनुरोध ग-यौं। त्यसपछि उनले हेरौं न त भोलिसम्म म मन्त्रीलाई सम्झाउँछु भने। तर भोलि पनि र पर्सि पनि सञ्चार र कृषिमन्त्री दुवैले हाम्रा सम्पादकलाई नाम भन्न -याख-याखती पारेछन् र उनले बाध्य भएर नाम दिएछन्। हुन त हामीलाई त केही भएन तर चामल कार्यालयका ती नायब महाप्रबन्धकलाई केही नसिहत दिइयो भन्ने सुन्यौं। त्यसपछि जनताका समस्यासम्बन्धी अनुसन्धानमूलक समाचार ल्याउने हाम्रो इच्छा मर्न थाल्यो र हामी कामै नगरी खान पाइन्छ भने किन दुःख गर्ने भनेर ‘रासस’का बुलेटिन हाल्ने काम गर्न थाल्यौं। यो पञ्चायतकालको कुरा हो। त्यसबेलाका मन्त्रीहरू यस्ता समाचार मन पराउँदैन थिए। उनीहरूलाई त अहिले देशमा चामल उत्पादन भएको छ, आलु फेलेको छ, धेरै थोक उब्जनी भएका छन् भन्ने कुरा मात्र मन पथ्र्याे। तर त्यस्तो भएकै हुँदैनथ्यो।
अहिले प्याजकै कुरा गरौं। नेपालमा बर्सेनि ६ अर्ब रुपैयाँको प्याज आयात हुँदोरहेछ। हामी जम्मा २ करोड रुपैयाँको प्याज निर्यात गर्दारहेछौं। यो एउटा दैनिक पत्रिकाको ‘हेडलाइन’ समाचार पढ्दा मलाई त्यतिबेला हामीले बनाएको चामलसम्बन्धी समाचारको ‘हेडलाइन’ सम्झना आयो।

उल्लिखित दैनिकको समाचार पढ्दा भान्सारमा ३५ रुपैयाँ किलोका दरले मूल्यांकन गरेर ल्याएको प्याज बजारमा २५० रुपैयाँमा बिक्री हुँदा भन्सार कति छलिएछ,  सहजै अनुमान लगाउन सकिन्छ। आफ्ना उपभोक्ता यसरी ठाडै ठगिँदा पनि सरकार भने मुकदर्शक भएर त्यही समाचार पढ्दै छ। सम्बन्धित अधिकारीले भने मनमनै समाचारका सम्पादकलाई सरापे पनि होलान्।

माथि नै उल्लेख गरियो– धेरै पहिलेदेखि नै कृषिलाई हाम्रो मूल व्यवसाय ठानेर सरकारले अर्बाैं रुपैयाँ खर्च गरेको यतिका वर्ष भइसक्दा पनि अझ हामी भान्सामा दैनिक प्रयोग हुने एउटा वस्तु प्याजमा पनि आत्मनिर्भर भएनौं, किन ? चामल, दाल र प्याजमा मात्र होइन, हामी हरेक कुरामा परनिर्भर छौं। हामी कामभन्दा कुरा ठूला गर्छौं। हाम्रा सरकारी अधिकृत र मन्त्रीहरू खेतबारीमा उब्जनी बढाएर जनतालाई सुख दिनुभन्दा कसरी ‘कमिसन’ खाएर आफूले त्यो महँगो प्याज खाने भन्ने ध्याउन्नमा भएपछि भारतमा उब्जेका प्याज नखाएर के खानु त ? प्याजको उत्पादन बढाउने कुरा त परै जाओस्, हाम्रा कृषिमन्त्री र देश–विदेशका विश्वविद्यालयबाट ठूलठूला डिग्री लिएर हाकिम भएका विशेषज्ञहरूसँग प्याजमा देशलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर सोच्ने पनि फुर्सद छैन। अनि प्याजले जनताका आँखामा आँसु नबगाएर के बगाउँछ त ? हुँदाहुँदा नेपालमा हामीले लगाउने जनै पनि अब चीनबाट आउन थालेछ। कति हाँस्नु ? हाम्रा पण्डितहरूले जनै उद्योग खाल्दा केही बिग्रन्छ र ? हामी आत्मनिर्भरचाहिँ केमा छौं त ?

यस्तै एउटा उदाहरण– पूर्वी इलाममा अलैंची राम्रो र निकै फल्थ्यो। अन्तर्राष्ट्रिय मागसमेत भएकाले विदेश पनि निकासी हुन्थ्यो र किसानले मूल्य पनि राम्रै पाउँथे। यसको औषधीय मूल्य पनि भएकाले ठूलै व्यापार हुन्थ्यो, इलाममा। तर फुर्के भन्ने रोग लागेर त्यो अलैंची खेती अहिले सखाप भयो। इलामका ‘पाँच अ’ बाट अलैंची बिदा भयो। तर हाम्रा दिग्गज कृषि विशेषज्ञले ‘फुर्के रोग’ पत्ता लगाएनन्/लगाउन सकेनन्। विदेश गएर ठूलठूला अनुसन्धान गरेर फर्केका हाम्रा वैज्ञानिक आखिर ‘जागिरे’ त रहेछन् नि भन्छन्, अहिले इलामका किसान। यस्तै हुँदै गयो र हाम्रो सोच र कार्यशैली परिवर्तन भएन भने प्याज र अलैंची मात्र होइन, खानेकुरामा पनि हामी भारत र चीनको भरपर्नुपर्ने दिन आउँछ।

सुरुमा २०२५ सालतिर यो पंक्तिकार अध्ययन गर्न काठमाडौ आउँदा यहाँ धेरै फाँटमा धान र तरकारी खेती हुन्थे। चामल र सब्जी, ताजा–राम्रो पाइन्थ्यो र सस्ता पनि थिए। अहिले ती फाँटमा ठूलठूला ‘बिल्डिङ’ फलेका छन्। ती बिल्डिङमा बस्ने र करोडौंको व्यापार गर्ने धनी वर्गलाई प्याज र चामल नपाए पनि केही फरक पर्दैन। उनीहरू जापान र अमेरिकाबाट चामल मगाएर खान्छन्। प्याज खाँदा आँसु आउने त हाम्रै हो नि ! सरकार ! एकैछिन राजनीति छाडेर यस विषयमा पनि सोच न।

प्रकाशित: २० मंसिर २०७६ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App