११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

पदकमा प्रश्न

लोकतन्त्रको अर्थ हाम्रा निम्ति जीवन पद्धतिमै रूपान्तरण हो। हामीलाई लोकतन्त्र चाहिएको सत्ता–शिखरमा पुगेका हाम्रा नेताले समेत हिजोजस्तै आफ्ना सेवक र चाकरीदारलाई ‘बक्सिस’ दिनाका लागि मात्र होइन। तिनका व्यवहारमा पनि राजा–महाराजाका दम्भ झल्किनु हामीलाई स्वीकार्य छैन। राजकीय शक्तिले व्यक्तिलाई अझ बढी विनम्र बनाउनुपर्छ, दम्भी होइन। अनि एकबारको मतादेशलाई सदासर्वदाको जनादेश सम्झेर व्यवहार गर्नुको साटो आफूप्रतिको विश्वास कम नहोस् भनेर फुकीफुकी चल्नु उचित हुन्छ। अनि मात्र अपेक्षित परिणाम ल्याउन सकिन्छ। आम नागरिकका असन्तुष्टिसमेत कम हुन्छन्। राष्ट्रिय जीवनमा योगदान गर्ने व्यक्तिलाई राष्ट्रले सम्मान गर्छ। यस्तो सम्मान सत्पात्रका हातमा पर्नुपर्छ। अनि मात्र ‘सम्मान’को सम्मान हुन्छ। त्यसमा पनि असोज ३ लाई संविधान दिवस मात्र होइन, राष्ट्रिय दिवसका रूपमा मनाउँदै यसै दिन मानपदवी र अलंकार घोषणा हुने परम्परा सुरु भएको छ। वास्तवमा यो दिन मानपदवी पाउने व्यक्तिका नाम सुनेर श्रद्धाले सबैको शिर झुक्ने अवस्था हुनुपर्छ। वाह ! देशले कदर गर्नैपर्ने व्यक्तिलाई सम्मान गरियो भनेर महसुस हुने दिन कहिले आउला ? हाम्रा नेताहरू आफूले लोकतन्त्र ल्याउन संघर्ष गरेका वर्ष औंला भाँचीभाँची सम्झाउने गर्छन्। लोकतन्त्रका लागि गरेको संघर्ष आफ्नो ठाउँमा छ, त्यसैकारण हामी लोकतान्त्रिक देशका नागरिक भएका छौं। तर लोकतन्त्र जोगाउन विशेष संस्कृति आवश्यक हुन्छ, जसले यसलाई जुगजुगसम्म टिकाउँछ। आफ्नै भारदारीसभा र यसले रुचाएका व्यक्तिहरूलाई बर्सेनि मानपदवी र अलंकार बाँड्नुको कुनै अर्थ हुँदैन। न पाउनेलाई गर्व बोध न दिने पक्ष विवादमुक्त। यस्तो अपजसको काम किन गर्ने ?

यसपटक संविधान दिवसका दिन असोज ३ गते मानपदवी र अलंकार पाउनेको संख्या ६ सय ३४ छ। एकै वर्षमा यति धेरै पदक बाँड्नुको अर्थ आफ्ना पक्षका मानिसलाई बर्सेनि कुनै न कुनै रूपमा ‘बक्सिस’ दिने हिजोका राजा–महाराजाले चलाएको चलनकै निरन्तरता हो। एक, यसरी एकै वर्षमा यति धेरै मानिसलाई तिनको योगदानबारे समेत राम्ररी अध्ययन नगरी मानपदवी र अलंकार बाँड्ने चलनमै खोट छ। दुई, यसरी बाँडिएका पदक र पाउनेका नामबाट प्रस्ट हुन्छ– सत्ताले रुचाएका व्यक्तिले मात्र यो पाउँछन्। राज्य संयन्त्र सञ्चालनको जिम्मा पाएका व्यक्ति आफ्नै दलमा मात्र सीमित हुनु हुँदैन। राष्ट्रिय जीवनमा योगदान गर्ने सबै क्षेत्रका व्यक्ति यसमा समेट्नुपर्छ। ती व्यक्ति सत्तारूढ दलभन्दा फरक विचारका पनि हुन सक्छन्। सरकारको आलोचना गर्ने पनि हुन सक्छन्। गणेश शैलीमा सत्तावरिपरि घुमेकै भरमा राष्ट्रिय अलंकारको सम्मान पाइने भएपछि देश र जनताका लागि योगदान किन गरिरहनुप¥यो ? यो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चार विदेशी डाक्टरसमेत पदक पाउने सूचीमा परेका छन्। हुन  त विगतमा पनि विदेशीहरूलाई यसरी पदक दिइन्थ्यो, तर त्यसका निम्ति उनीहरूको योगदानलाई आधार बनाइन्थ्यो। राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई उपचार गर्नु नै नेपाल राष्ट्रकै लागि योगदान गरेको ठानिनु ठीक होइन। र, पदकलाई आफ्नो सेवा÷चाकरी गरेबापत दिइने ‘बक्सिस’मा अनुदित गरिनु हुँदैन।

बर्सेनि पदक दुरुपयोग भइरहेको भन्दै प्रश्न उठ्छन्। तर कहिल्यै त्यसलाई गम्भीर रूपमा लिएको पाइँदैन। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ शैलीमा पदक ‘वितरण’ भइरहेका छन्। हामी सत्तामा छौं, हामीले जे ग¥यो, त्यही लोकतन्त्र हो भन्ने सोच राखिएको हो भने त्यो गम्भीर भुल हो। वास्तवमा राष्ट्रको एक–एक पैसा हिसाब गरेर मात्र कुनै निर्णय गर्नुपर्छ। आफू अधिकारमा हुँदा आशा गर्ने धेरै हुन्छन्, तिनको चित्त बुझाउन दान, दातव्य, चन्दा–पुरस्कारजस्ता अनेक उपाय  छन्। पदकलाई अहिले साह्रै सस्तो बनाइयो। हिजो पञ्चायतमा राजाहरूले जे गरे, आज लोकतन्त्रमा नेताहरूले त्यही व्यवहार गर्ने हो भने यो परिवर्तन खोक्रो हुनेछ। हिजो राजाले आफ्ना अनुचरलाई बाँड्ने बक्सिसकै ‘नयाँ नेपाल’ संस्करण बन्न पुग्छ भने यो व्यवहारतः ‘बहुदलीय पञ्चायत’ बन्न पुग्छ। अधिनायकवादी सत्ताले आफूलाई टिकाउन अनुचरहरू पाल्नुपर्छ। विशेषगरी लोकतान्त्रिक शासन व्यवस्थामा भने सत्ताधारीले पद्धति बलियो बनाएर यसलाई दीर्घजीवी बनाउँछन्। त्यसका निम्ति गुण–दोषका आधारमा निर्णय गर्छन्। लोकतन्त्रमा आफू र आफूनिकटका व्यक्तिलाई फाइदा पुग्ने निर्णय गर्न आफैंलाई लाज लाग्नुपर्छ। लोकतन्त्र सुन्दर शासन व्यवस्था हो, नकाम गरेर यसलाई कुरूप बनाउने कोसिस नगरियोस्।  

प्रकाशित: ६ आश्विन २०७६ ०५:२९ सोमबार

लोकतन्त्र