४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रधानमन्त्रीको उपचार खर्च ?

गौरीबहादुर कार्की
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा दोस्रोपटक उपचार गराएर स्वदेश फर्किसक्नुभयो। उहाँको स्वास्थ्य राम्रो रहेको बताइएको छ। सिंगापुरमा उपचार क्रममा प्लाज्माफेरेसिसका लागि प्रधानमन्त्रीको मुटुमा राखिएको सन्ट्रेल भेनस क्याथेटर गत भदौ २५ गते त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निकालियो। राखेको ४५ दिनभित्र यो निकाल्नु पर्नेरहेछ। उहाँ नियमित काममा लागि सक्नुभएको छ।

१२ वर्षअगाडि भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उहाँको मिर्गौला फेरिएको(ट्रान्सप्लान्ट गरिएको) थियो। मिर्गौला फेरेपछिको परिवर्तित अवस्थाको उपचार प्रधानमन्त्रीले आवश्यकतानुसार बैंकक र सिंगापुरमा गराउँदै आउनुभएको छ। मिर्गौला प्रत्यारोपण गराएपछि औषधि खाइरहनुपर्ने, खानपिन पथ–परहेजमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको भनाइ छ। प्रधानमन्त्री ओली दृढ इच्छाशक्तिले नै अति सक्रिय जीवन बाँचिरहनुभएको छ। दिनमा १७–१८ घण्टा काम गर्नुहुन्छ।

पहिलोपटक सिंगापुरबाट फर्केपछि प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको भनिएकामा १० दिनकै बीच उहाँ पुनः सिंगापुर जानुपर्ने अवस्था आयो। उहाँको स्वास्थ्यबरे सही सूचना नआएको वास्तविकता यो घटनाले देखायो। त्यसपछि गत साउन १८ गते उहाँ पुनः सिंगापुरकै नेसनल युनिभर्सिटी अस्पताल जानुभयो र एक हप्ता उपचार गराएर साउन २७ गते स्वदेश फर्कनुभयो।

प्रधानमन्त्रीले मात्र होइन, अन्य नेताहरूले पनि विदेश भ्रमण र उपचारमा गरेका खर्च सार्वजनिक गर्ने परिपाटी थालनी प्रधानमन्त्री ओलीबाट हुनु समयोचित र प्रशंसनीय कदम हुनेछ।

गत साउन १२ गते सैनिक शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य स्थिति सामान्य रहेको, कुनै समस्या नरहेको कुरा उहाँका चिकित्सक डा.दिव्यासिंह शाहले बताउनुभएको थियो। प्रधानमन्त्री मुलुकका कार्यकारी प्रमुख र सार्वजनिक व्यक्ति भएकाले उहाँको स्वास्थ्य अवस्थाबारे आम नागरिकलाई चासो हुन्छ। तर सरकार वा प्रधानमन्त्रीको सचिवालयले उहाँको उपचार विवरण सार्वजनिक नगरेको भन्दै टिप्पणी र गुनासो आइरहेका छन्।

केहीले आपूmलाई मरिहालोस् भनेको तर आपूm अझै १५ वर्षसम्म राजनीतिमा सक्रिय हुने प्रधानमन्त्री ओलीले बताउनुभएको कुरा पनि सार्वजनिक चर्चामा आयो। आफ्नो स्वास्थ्यबारे गलत प्रचार भइरहेको गुनासो पनि प्रधानमन्त्रीले गर्नुभयो। झापा क्षेत्र नं. ५ का कार्यकर्ताहरूसँग प्रधानमन्त्रीले– म सिकिस्तै भएँ भनेर आउनुभयो कि क्या हो भन्ने प्रश्न गर्दै अझै २० वर्ष ठीक रहन्छु, प्रचार अर्कै ढंगले भएछ भनेको पनि सुनियो।

अन्नपानीको शरीर हो, जो पनि बिरामी हुन सक्छ। तर मन नपरेका मानिस बिरामी भयो भन्दैमा मरिहालोस् भन्नु अमानवीय सोचाइ हो। कसैले मरोस् भन्दैेमा मरिने र बाँचोस् भन्दैमा बाँचिने पनि होइन। जनताले नचाहँदा नचाहँदै पनि बिपी कोइराला स्वर्गे हुनुभयो। कति मनपर्ने आफन्त, नेता, साहित्यकार आदि परलोक भए।

प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिनको स्तर बढेको रहेछ। यो बढ्दा मिर्गाैलाको कार्यक्षमतामा कमी आउनेरहेछ। शरीरमा बढेको एन्टिबडी घटाउन हाम्रा प्रधानमन्त्री ओली दोस्रोपटक गत भदौ ५ गते सिंगापुर जानुभएको रहेछ। उपचारपश्चात् उहाँ भदौ २० गते नै स्वदेश फर्किसक्नुभएको छ।  

प्रधानमन्त्रीको स्वास्थ्य राम्रो होस्, अझै उहाँको चाहनाअनुसार २०–२५ वर्षसम्म बाँच्नुहोस्, देशको नेतृत्व गर्नुहोस्, ‘समृद्ध नेपाल सुखी र नेपाली’ बनाउन सफलता मिलोस्,  शुभकामना छ।

शरीरमा एन्टिबडी उत्पादन जति बढी हुन्छ, त्यति नै मिर्गाैलामा क्षति पुग्ने भएका कारण उपचार आवश्यक पर्नेरहेछ। शरीरमा बनेको एन्टिबडी रगतबाट हटाउन ‘प्लाज्माफेरेसिस’ उपचार विधि अपनाउनुपर्दाेरहेछ। यो विधि उहाँलाई सातपटक प्रयोग गरियो।

प्रधानमन्त्रीको उपचार नेपालमा हुन नसकेकामा संसद्मा समेत चिन्ता व्यक्त गरिएको थियो। नेपालका शिक्षण अस्पताल, अन्य अस्पताल र चिकित्सकले उहाँको रोग पत्ता लगाउन नसकेकै हुन त भन्ने प्रश्न उठेको छ। नेपालमा यत्रा ठूला अस्पताल अनि डाक्टर उत्पादन गर्ने मेडिकल कलेजरूपी कारखानाहरू छन्। तर कुनै पनि नेता आपूmले खोल्न अनुमति दिलाएको मेडिकल कलेजमा उपचार गर्न जाँदैनन्।

सार्वजनिक पदमा रहेका लगायत कुनै पनि व्यक्तिले विदेशमा गर्ने उपचार खर्च सरकारले नबेहोर्ने निर्णय प्रधानमन्त्री ओलीकै पालामा भयो। ‘प्रधानमन्त्रीको टोलीमा रहेका सबैको हवाईभाडा, कर्मचारीको दैनिक भ्रमणभत्ता र होटल खर्च मात्र सरकारले बेहोर्छ, प्रधानमन्त्रीको उपचार खर्च र भ्रमण दलका सदस्यको खर्चसमेत प्रधानमन्त्री स्वयंले बेहोर्नुहुन्छ’ भनी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताउनुभएको थियो। तर यसअनुसार सरकारले तथा प्रधानमन्त्री आपैंmले बेहोरेको खर्च सार्वजनिक नगरिएकामा सामाजिक सञ्जालमा टिप्पणी गरिए।

आफ्नो उपचार खर्च प्रधानमन्त्री आपैmंले बेहोर्ने भनिए पनि त्यो अरू कसैले बेहोरेको आशंका गरिएको छ। सिंगापुर सरकारले वा अन्य कसैले बेहोरेको भए पनि देशलाई जानकारी दिनुपर्छ। विवादित प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी र जनसम्पर्क सल्लाहकार अच्युत मैनालीलगायत महानुभावहरू सिंगापुर पुग्नुबाट उनीहरूले खर्च बेहोरिदिएको आशंका पनि गरिएको पाइन्छ। प्रधानमन्त्री भेट्न व्यवसायीको लस्कर पनि सिंगापुर पुगेको खबर पनि बाहिरियो।

उहाँ प्रधानमन्त्री पदमा नरहेका बेला मिर्गाैला प्रत्यारोपणदेखिको खर्च राज्यले बेहोरेकै हो। उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ। उहाँको उपचार नेपालमा हुन नसक्नेमा विवाद छैन। यस्तो अवस्थामा विदेशमा उपचार गराउँदा प्रधानमन्त्रीलगायत राष्ट्रका पदाधिकारीको उपचार खर्च सरकारले बेहोर्नुपर्छ। उहाँ केपी ओली वा साविक एमाले र हाल नेकपाका अध्यक्ष मात्र होइन, हाम्रो देशका प्रधानमन्त्री पनि हो। देशका प्रधानमन्त्रीको उपचार खर्च राज्यले बेहोर्नुपर्छ। सिंगापुर सरकार वा अन्य कसैले पनि बेहोर्नु हुँदैन। प्रधानमन्त्रीले कसैसँग खर्च मागेर आफ्नो उपचार गराउने होइन। कुनै मित्र राष्ट्रको निगाहमा रहँदा सार्वभौम देशको स्वाभिमानमा असर पर्न जान्छ।
प्लाज्माफेरेसिस उपचार गर्ने मेसिनको बढीमा ८० लाख रुपैयाँ पर्नेरहेछ। मिर्गौला फेरिएका बिरामीहरूका लागि यो उपकरण अत्यावश्यक रहेछ। नेपालमा नभएको यो मेसिन सरकारले तुरुन्तै खरिद गर्नुपर्छ।  

प्रधानमन्त्री कुनै एउटा दलको मात्र होइन, देशकै सार्वजनिक व्यक्ति हुन्। सार्वजनिक पदमा बस्नेको स्वास्थ्य मात्र होइन, अन्य गतिविधिसमेत जान्न पाउने नैसर्गिक हक नागरिकलाई हुन्छ। इमान्दारिता र सुशासनको भाषण गरेर नथाक्ने हाम्रा नेताहरू महिनाको लाखौं भाडा लाग्ने घरमा सित्तैमा बस्छन्। होइन भने कुन आम्दानीले भाडा तिर्छन् त ? यो कुरा प्रकाशमा आउँदैन। नेता भन्दैमा कसैले लाखौं भाडा आउने घरमा सित्तैमा वर्षौं बस्न दिन्छ र ? अनि अर्काको निगाहमा चल्ने, बस्ने र हिँड्नेबाट अनुचित कार्य हुँदैन भन्न सकिँदैन।

प्रधानमन्त्री सार्वजनिक पदाधिकारी भएकाले उहाँको स्वास्थ्य भनेको राज्यसँग सम्बन्धित हुन्छ। प्रधानमन्त्रीको स्वास्थ्य राम्रो होस्, अझै उहाँको चाहनाअनुसार २०–२५ वर्षसम्म बाँच्नुहोस्, देशको नेतृत्व गर्नुहोस्, ‘समृद्ध नेपाल सुखी र नेपाली’ बनाउन सफलता मिलोस्,  शुभकामना छ। उहाँको चाहनानुसार दुईतिहाइ मतको सरकारले ५ वर्षे कार्यकाल पूरा गरोस्, उत्तर–दक्षिण दुवैतिर रेल चलोस्, देशभित्रबाटै पानीजहाज चढेर समुद्र जान पाइयोस्। सिंगापुरमा अघिल्लोपटक र यसपटकको उपचारमा लागेको खर्च प्रधानमन्त्रीले सार्वजनिक गर्नु हुने नै छ। खर्च कसले बेहोरेको हो भन्ने जानकारी जनताले खोज्नु अन्यथा होइन।

नेताहरूले विदेशमा गर्ने उपचार खर्च सरकारले नबेहोर्ने देशभक्तिपूर्ण निर्णय गराएकामा प्रधानमन्त्री ओलीको प्रशंसा भइरहेको छ। यसर्थ प्रधानमन्त्रीले मात्र होइन, अन्य नेताहरूले पनि विदेश भ्रमण र उपचारमा गरेका खर्च सार्वजनिक गर्ने परिपाटी थालनी प्रधानमन्त्री ओलीबाट हुनु समयोचित र प्रशंसनीय कदम हुनेछ। अनावश्यक टीकाटिप्पणी स्वतः मत्थर हुनेछन्। यसबाट सबै नेतालाई ठूलो शिक्षा मिल्नेछ। वैध स्रोतबिना अकुत खर्च गर्ने अन्य नेताहरूलाई समेत ठाउँमा ल्याउनेछ। आशा गरौं, हाम्रा प्रधानमन्त्री ओलीले उपचारमा लागेको खर्च तथा खर्च तथा त्यो बेहोर्ने स्रोत सार्वजनिक गरेर इतिहास रच्नुहुनेछ। पूर्वअध्यक्ष, विशेष अदालत

प्रकाशित: १ आश्विन २०७६ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App