समय एउटा अनुभव हो। समयले नै हामीलाई जन्म दिन्छ र प्रेम, घृणा, दुःख, सुख, भय, हतास, सफलता, असफलता आदि अनुभव गराउँछ। दिन, महिना र वर्ष बिताउँदै आयौँ। एक वर्ष बित्नेबित्तिकै पात्रो(क्यालेन्डर) फेरिन्छ र नयाँ साल आएको सूचना दिन्छ। तर क्यालेन्डर फेरिँदैमा हाम्रो स्वभाव फेरिँदैन। वर्ष बित्दैमा हामीले आफ्नो हुनुको बोध गर्न सकेका हुदैनौँ। विगतका वर्षहरूमा तिमीले सबै कुरा अनुभव ग-यौ तर आफू हुनुको बोध ग-यौ भन्ने पुनः स्मरण गराउँछ समयले। जबदेखि आँखाले यो संसार देख्न सक्यौँ तबदेखि हरेक नयाँ वर्ष मस्तिष्कमा एउटा कथा भर्न थाल्यौँ र जीवनको अर्थ लगाउँदै समाजका मान्यतालाई पछ्याउँदै आयौँ। समय बित्दै जाँदा सबै कुरामा परिवर्तन आइरहेको हुन्छ। त्यसलाई परिवर्तन, वृद्धि, विकास जेजे भने पनि आखिर ती सबै अनुभव हुन्।
हामी संसारका सारा दृश्य, घटना देख्न सक्छौँ तर आफ्नै मस्तिष्क देख्न सक्दैनौँ। हाम्रो मस्तिष्कले बाहिर आउने सबै परिवर्तन बुझ्नसक्छ तर हाम्रो आफ्नै स्वभाव कस्तो छ भनेर जान्न र बोध गर्न आफैँभित्र हेर्नुपर्छ। समय बित्दैमा आफ्नो पहिचान बोध हुन्छ भन्ने छैन। हामी भित्रका चेतन, अचेतन र अवचेतन मन तथा स्वभावसमेत समयचक्रका क्रममा आउने परिवर्तन हुन्। कुन अवस्थामा हामी स्थिर रहने र कुन अवस्थाले हामी हुनुको बोध गराउँछ त्यो थाहा पाउनु र त्यसमै जिउनु महत्वपूर्ण पक्ष हो। किनकि संसारका सबै क्रियाकलाप, परिवर्तन, घटनासँग हामी परिचित छौँ अनि सचेत पनि। तर ती घटना र परिस्थितिका एक अंश हामी प्रत्येक व्यक्ति पनि हौँ भन्ने बोध गर्दैनौँ। संसार र यहाँका हरेक क्रियाकलाप व्यक्तिको मस्तिष्कका उपज हुन् तर प्रत्येक व्यक्तिको वास्तविक स्वभाव भने मस्तिष्कभन्दा परको अनुभूति हो। मस्तिष्क ऐना हो जसले मानिस जे देख्न चाहन्छ त्यही देखाइदिन्छ। तर भित्रको चैतन्य स्वभाव, अपरिवर्तनीय स्वभाव, अकम्प स्वभाव मस्तिष्कभन्दा पर, चेतनाको गहिराइमा हुन्छ भन्ने जान्न स्वबोधको अनुभूति नगरी थाहा हुँदैन। शारीरिक, मानसिक, मनोविज्ञानभन्दा पनि गहिराइमा अवस्थित चेतना बोध गर्न सहज, सरल, प्रेमिल र जागृत हुनुको विकल्प छैन। त्यो जागरण वर्ष फेरिँदैमा, समय बित्दैमा आउँदैन, त्यसका लागि ध्यानको साधना जरुरी हुन्छ।
जागृत केही प्रतिशत व्यक्तिबाहेक धेरैजसो मानिस वर्तमानमा रहेर वास्तविक जीवन बाँचेकै हुँदैनन्, चाहे ८०÷९० वर्षसम्म बाँचेका किन नहुन्। उमेर बित्दैमा चेतना जागृत हुँदैन बरू यो जागृत गराउने कला जानेमा कम उमेरमै पनि व्यक्तिले जीवनको मूल्य र महत्व अनि जिउनुको आनन्दबोध गर्नसक्छ। म को हुँ ? मेरो पहिचान के हो ? नजानिकन समयले जति नै वर्ष बिताए पनि आफू हुनुको बोध प्राप्त गर्न सकिँदैन। म को हुँ ? एउटा आन्तरिक रहस्य जुन सधैँ सबैको मनमा प्रश्न बनेर बसेको छ। जसको जवाफ आफैँसँग हुन्छ। हुन त मन धेरै बाठो हुन खोज्छ। उसले उच्चदेखि नीचसम्मका विशेषण जोडेर जवाफ दिने कोसिस गर्छ। तिमी जीवनको सार हौ, अनन्त आत्मा हौ, दिव्यता हौ आदि इत्यादि। मस्तिष्कबाट जति शक्ति लगाए पनि, जति अनुसन्धान गरे पनि यो रहस्य उजागर हुनेवाला छैन। किनकि यसको जवाफ त्यति छिटो आउँदैन। म यो हुँ भन्ने हतारमा जवाफ आयो भने त्यो अपूर्ण हुन्छ। म शरीर हुँ , मन हुँ , बुद्धि हुँ , विचार हुँ , पत्रकार, शिक्षक, गुरु, गायक, राजनीतिज्ञ, प्रधानमन्त्री, राष्ट्रपति आदि आदि। एउटा न एउटा पात्रका रूपमा जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्ने एक व्यक्ति हुँ वा एकै व्यक्तिले पनि अनेक भूमिका निर्वाह गर्नुपरेको व्यक्ति हुँ। तर भित्र गहिराइमा हेर्दै जाँदा मात्र यसको जवाफ मिल्नसक्छ। कुनै किताब पढेर पाएको वा कसैले दिएको जवाफले हुँदैन। बाहिरी ज्ञान र मनस्थितिबाट आएको जवाफले पनि पूर्णता दिँदैन, त्यसैले त कैयौँ जीवन बितिसक्दा पनि यो रहस्यले छाडेको छैन।
आफ्नो व्यक्तित्व, आफ्नोपनको घमण्ड र आफू हुनुको अहंकारले म हुँ को स्थिति जन्माउने गर्छ। जीवन सधैँ मैले, मेरा लागि, मद्वारा भन्ने भाव केन्द्रमा रहुन्जेल म रित्तिँदैन। प्रत्येकले आफैँ मनन गर्दै, भित्र हेर्दै, भित्रको बोध गर्दै जाँदा एउटा अवस्था आउँछ जहाँ शून्यता, स्थिरता बोध हुन्छ र को हुँ बाट हुँ मात्रको स्थितिमा पुगिन्छ। स्वयंको पहिचान, आफू हुनुको परमबोध, केका लागि नभएर छु र हुँ कोे साक्षीपूर्ण अवस्थामा सारा जवाफ र प्रश्न बिलाएर जान्छन्। एउटा शून्यता, जागृत अवस्था, होसपूर्ण र प्रेमपूर्ण अवस्था मात्र बाँकी रहन्छ।
जबसम्म प्राणशक्तिबाट मपर म चैतन्य हुँ, सत्य हुँ सत्चित्त, आनन्द हुँ, परब्रह्म हुँ भन्ने बोध हुदैँन तबसम्म यो रहस्यले प्रश्न खडा गरिहन्छ। जीवनलाई खुसी राख्ने, सुखभोगमा रमाउने हाम्रो प्रयत्न जारी रहन्छ। तर को हुँ को रहस्य मेटिँदैन। को हुँ बोध नगरी जीवनलीला समाप्त गर्नुपर्ने स्थिति नआओस् भन्ने चाहने हो भने थोरै समझ, थोरै खोज, थोरै समर्पण, जागरण, सचेतना र थोरै साधनाको जरुरत पर्छ। अध्यात्म, आन्तरिक चेतनाको जागरण हो भने आफ्नो पहिचानका लागि पनि आफ्नो वास्तविकता थाहा पाउनु जरुरी हुन्छ। म को हुँ को जवाफ एउटा अस्तित्वगत अनुभूति बनेर आएको क्षण मात्र हामी आफैँलाई जान्न सक्छौँ। त्यसैले होला, महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवनको अन्तिम क्षणमा यसो भनेका छन्ः
संसाररूपी सुख स्वर्गभित्र
रमेर लिई भित्रचित्र
सारा भयो त्यो मरूभूमि तुल्य,
रातैपरेझैँ अब बुझ्छु बल्ल।
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान
न भक्ति भो, ज्ञान, न भो विवेक
आखिर श्रीकृष्ण रहेछ एक।।
बिनाकारण मानिस केही पनि जान्न चाहँदैन। किन म कोहुँ जान्न जरुरी छ ? मानिस बाहिरी आकर्षण मात्र होइन भित्रको आत्मस्वरूप पनि हो। त्यसैले स्वयंलाई जान्न जरुरी छ। अज्ञानताबाट मुक्त भएर आत्मभाव जागृत हुन पनि स्वयंसँग परिचित हुनु जरुरी छ। अहंकार भावबाट मुक्त भएर पवित्र भावमा जिउन र प्रेमपूर्ण हुन पनि स्वयंलाई जान्न जरुरीछ। शान्ति, प्रेम, आनन्द मानिसका गुण, धर्मह हुन्। त्यसैले सत्य स्वरूपलाई जान्न पनि म कोहुँ जान्न जरुरी छ। मन, बुद्धि र संस्कारलाई आत्मासम्म संयोजन गर्नका लागि पनि आफ्नो पहिचान थाहा पाउन जरुरी छ। प्रेमपूर्ण हुन हृदय जागृत हुनुपर्छ। हृदयबाट प्रेम प्रस्फुटन हुनुपर्छ र सेवा भाव हुनुपर्छ। यसका लागि आफूप्रतिको सजगता अत्यन्त जरुरी छ। हरेक नयाँ वर्षले यही आफूलाई चिन्ने अवसर प्रदान गर्दै विगतका कमजोरी आत्मसात गरी नयाँ ऊर्जा र संकल्पका साथ आफूमा रमाउन सिक भन्ने सन्देश प्रदान गरेको हुन्छ।
प्रकाशित: २ वैशाख २०७६ ०३:२५ सोमबार