नेपाली वाम–लोकतान्त्रिक आन्दोलनको छुटाउनै नहुने एउटा नाम हो– पद्मरत्न तुलाधर। ७८ वर्षअघि काठमाडौँमा जन्मेका तुलाधरको आइतबार दिउँसो अस्पतालमा निधन भएसँगै नेपाली लोकतान्त्रिक संघर्षको एउटा इतिहासमा पनि विराम लागेको छ। नेपालको राजनीतिक आन्दोलनमा प्रत्यक्ष/परोक्ष सरिक भएर मात्र होइन, मुलुकको भाषा आन्दोलनमा समेत उनले उल्लेख्य योगदान गरेका छन्। मानव अधिकार अभियन्ताका रूपमा उनी जीवनको अन्तिम घडीसम्म निरन्तर सक्रिय रहे। पत्रकारका रूपमा उनले आफ्नो जीवनमा एउटा लामो हिस्सा बिताएका थिए । यसअर्थमा उनी नेपाली समाजको रूपान्तरणका निम्ति आफ्ना रचनात्मक कार्यबाट समर्पित बौद्धिक व्यक्ति थिए। निरंकुश एकदलीय पञ्चायती शासनका बेला यिनले स्वतन्त्रताको धिपधिपे दियोलाई निभ्न दिएनन्। ती अँध्यारा दिनमा उनी भावी लोकतान्त्रिक शासन व्यवस्थाका निम्ति क्रियाशील रहे। जनपक्षीय उम्मेदवारका रूपमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भई उनले कोरेको स्वतन्त्रताको गोरेटोमा मुलुक बिस्तारै अघिबढेको हो। त्यो बेला साहस देखाएर उनी अघि नबढेका भए सायदै मुलुकमा नागरिक चेतनाले गति लिने थियो। नागरिक चेतना अभिवृद्धिका निम्ति उनले खेलेको भूमिका इतिहासको पानामा स्वर्णाक्षरले लेखिएको छ।
आदर्श नेताका रूपमा उनले आफूलाई उभ्याइरहे। सत्ताबाहिर रहँदा पनि सधैँ उनी सर्वसाधारणको मनमा बस्न सफल रहे। अचेल धेरैले सत्ता निकट भएका कारण अनेकानेक ‘रत्न’धारी पदक पाउने गरेका छन्। तर, पद्मरत्न नै यस्ता रत्न रहे, जो सत्ताको रत्न नपाएर पनि चम्किरहनेछन्।
आज मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ। आजभन्दा ३० वर्षअघिको नेपालका निम्ति आजको समय थोरै व्यक्तिको कल्पनामा थियो होला। जसले परिवर्तनका पदचाप सुनेका थिए तिनले मात्र लोकतान्त्रिक शासन व्यवस्था माग गर्न सक्थ्यो। नागरिक स्वतन्त्रताका निम्ति आग्रह गर्न सक्ने जमात नै कत्रो थियो र? तत्कालीन शासकहरूको जनविरोधी काम र पद्मरत्नजस्ता स्वतन्त्रताका निम्ति क्रियाशील व्यक्तिकै कारण नागरिकमा स्वतन्त्रताका अन्तहीन सम्भावना फैलिएका हुन्। तुलाधरले जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यका रूपमा रुँदै गरेका भाषण त्यतिबेला विद्यार्थी आन्दोलनका निम्ति अतुलनीय ऊर्जाका स्रोत थिए। तिनलाई गाउँगाउँका मानिसले क्यासेटमा सुनेका कारण तत्कालीन शासन व्यवस्थालाई बुझ्न सहयोग पु-याएको थियो। तत्कालीन नेकपा (माले)ले पञ्चायती निर्वाचनलाई उपयोगको नीति अंगीकार गरेको थियो। त्यो बेलाको प्रतिबन्धित नेपाली कांग्रेस पनि कुनै न कुनै रूपमा पञ्चायतका विरुद्धमा क्रियाशील थियो। जनपक्षीय सांसदका रूपमा पद्मरत्न, द्रोणाचार्य क्षत्री र जागृतप्रसाद भेटवालको राष्ट्रिय पञ्चायतको उपस्थितिले वास्तवमै नेपालको लोकतान्त्रिक आन्दोलनलाई उत्प्रेरित गरेको थियो। २०४६ सालको जनआन्दोलनमा कांग्रेस र वाममोर्चाको सहभागिताले सफलता हासिल गरी मुलुकमा प्रजातन्त्र पुनःस्थापित हुन सम्भव भयो। त्यो आन्दोलनका लागि तुलाधरजस्ता व्यक्तिहरूको निरन्तरको क्रियाशीलता प्रमुख थियो।
जनआन्दोलको सफलतापछि सम्पन्न निर्वाचनमा उनी स्वतन्त्र वाम उम्मेदवारका रूपमा सहभागी भए। २०५१ सालको मध्यावधि निर्वाचनपछि पद्मरत्न श्रम र स्वास्थ्यमन्त्री बनेका थिए । मन्त्री रहेका बेला पनि उनले मुलुकमा रहेका अल्पसंख्यको अधिकारका निम्ति आवाज उठाउँदा विवादको उत्कर्षमा समेत रहेका थिए। कुनै एउटा वामपन्थी दलमा आवद्ध नभई आफूलाई स्वतन्त्ररूपमा उनले उभ्याएका कारण पनि उनी सबैका निम्ति उत्तिकै प्रिय थिए । उनको स्वतन्त्र छवि र मानव अधिकारप्रतिको निष्ठाका कारण ‘जनयुद्ध’मा लागिरहेको तत्कालीन नेकपा (माओवादी)लाई राजनीतिक मूलधारमा ल्याउन उनले निरन्तर सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । माओवादी मूलधारको राजनीतिमा आइसकेपछि पनि शान्ति प्रक्रियालाई आकार दिन उनले खेलेको भूमिका सबैको स्मृतिमा छ। हालै एउटा कार्यक्रममा यसबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले खुलासा समेत गरेका थिए। उनको निधनको खबर लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै ‘वाम आन्दोलनमा पु-याएको योगदान’को सम्झना गरेका छन्। पद्मरत्न लामो समय सत्ता वृत्तमा रहेनन् । छोटो समयका निम्ति मन्त्री बने पनि त्यसमै रमाएर अनियमिततामा आफूलाई संलग्न गराएको पनि सुनिएन । एउटा आदर्श नेताका रूपमा उनले आफूलाई उभ्याइरहे। सत्ताबाहिर रहँदा पनि सधैँ उनी सर्वसाधारणको मनमा बस्न सफल रहे । अचेल धेरैले सत्ता निकट भएका कारण अनेकानेक ‘रत्न’धारी पदक पाउने गरेका छन् । तर, पद्मरत्न नै यस्ता रत्न रहे, जो सत्ताको रत्न नपाएर पनि चम्किरहनेछन् । नागरिक चेतनाका यी धरोहरको असामयिक निधनप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली।
प्रकाशित: १९ कार्तिक २०७५ ०३:१३ सोमबार