११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

हिंसा अस्वीकार्य

शान्तिसुरक्षा अहिलेको स्थितिमा आइपुग्न मुलुकले ठूलो मूल्य चुकाएको छ। तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ मा ‘जनयुद्ध’ थालेपछि १० वर्षमा त्यसको आयतन बढ्दै जाँदा भोगेको पीडाबाट बिस्तारै सर्वसाधारण बौरिँदैछन्। मुलुकले फेरि त्यस्तै प्रकृतिको द्वन्द्वका सामना गर्न र फेरि त्यसैको समाधानका लागि अरू केही दशक गुजार्ने फुर्सद हामीलाई छैन। सबैखाले समाजमा द्वन्द्व अन्तर्निहित हुन्छ। जिम्मेवार राजनीतिक नेतृत्वले त्यसलाई समयमै व्यवस्थापन गरी समाधानतर्फ लैजान्छ। समस्याका नयाँनयाँ आयाम थपिँदै जानु समाजको नियम नै हो। बुद्धिमत्तापूर्ण व्यवहार गर्न सक्ने राजनीतिज्ञले त्यसलाई समाधान गर्दै समाजलाई समृद्ध बनाउँदै लैजान्छन्। आजका विकसित भनिएका अधिकांश मुलुक हामीले भोगेजस्तो पीडा पार गर्दै आजको अवस्थामा आइपुगेका हुन्। तर, तिनीहरू पटकपटक त्यही बाटोमा फर्किएनन्। समय अगाडि बढ्दै जाँदा समाजमा नयाँखाले समस्या आए पनि तिनलाई समाधान गर्दै अघि बढेका हुन्। अनि राजनीतिलाई पनि पटकपटक परीक्षण गरी सधैं संक्रमणकै अवस्थामा बसिरहने अभ्यास पनि तिनले गरेनन्। राजनीति दिगो र भरपर्दो त्यतिबेलै बन्छ जतिबेला प्राप्त अवसरलाई उपयोग गर्दै अघि बढ्ने दृढ इच्छाशक्ति नेतृत्वमा देखिन्छ । राजनीतिलाई त्यसै सबै नीतिमध्येको प्रमुख मानिएको होइन। राजनीति ठीक भएमात्र मुलुकको वर्तमान मात्र होइन, भविष्य पनि सुनिश्चित हुन्छ । विश्वका विरलै मुलुकमा नेपाल पर्छ जहाँ पुस्ताैंपुस्ताले सुखद दिनको प्रतीक्षामा निरन्तर संघर्ष गरेका छन् । हामी कति लडिरहने ? कति मरिरहने?

फेरि बम विस्फोटको आवाज र बारुदको गन्धले हाम्रो समयलाई अभिशप्त नतुल्याइयोस्। शान्तिपूर्ण बाटोबाटै मुलुकले थप उपलब्धि हासिल गर्नुपर्छ। लोकतान्त्रिक विधि र पद्धतिका निम्ति सबैखाले शक्ति र दलले प्रतिस्पर्धात्मक राजनीतिलाई अवलम्बन गर्नुको विकल्प छैन।

परिवर्तनका निम्ति गरिएका प्रयत्न प्रत्येक पटक असफल भएका छन्। एउटा ‘सिसिफस’ जिन्दगीजस्तो हामी निरन्तर खाल्डोमा जाकिँदै फेरि माथि उक्लिन खोजिरहेका छौं। यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नाममा फेरि हिंसात्मक गतिविधि हुन थालेका छन्। चन्दाआतंकले नागरिकको निद्रा फेरि चोर्न थालेको छ । यो मुलुकमा सर्वसाधारणले कहिल्यै सुखको सास फेर्नै नपाउने अवस्था रहेको छ । सरकारको कर तिर्दातिर्दा ढाड खुस्किन लागेका नागरिकले विद्रोहीको चन्दाको माग पूरा गर्न सम्भव हुँदैन । राजनीति बाटो लागे पनि अझै परिस्थितिले गन्तव्य पक्रिन सकेको छैन। आखिर हिंसात्मक गतिविधिलाई यस्तै पक्षले मलजल गर्छ। नागरिकमा निराशाको स्थिति विद्यमान रहिरहनुले विप्लवको जस्तो राजनीतिलाई प्रोत्साहित गरिरहन्छ। मुलुक लोकतान्त्रिक राजनीतिमा प्रवेश गरेपछि विरोधको शैली पनि शान्तिपूर्ण अवस्थामै सीमित हुनु आवश्यक छ। निरंकुश किसिमको शासन सत्ताविरुद्ध पनि हिंसात्मक आन्दोलन गर्नुहुन्छ वा हुन्न भन्ने आआफ्नै तर्क छन्। तर, हिंसात्मक आन्दोलनले जनताको वास्तविक शक्तिलाई कम आँक्छ। र, हतियारलाई नै सर्वेसर्वा ठान्छ। हाम्रो मुलुक हतियारको राजनीतिले गर्दा कति धेरै पछि प-यो भनेर आत्ममूल्यांकन गर्न ढिला गर्नु हुँदैन। पूर्वविद्रोही शक्तिबाट अनूदित हुँदै आज नेकपासम्म आइपुगेको तत्कालीन माओवादी नेतृत्वले समेत यसलाई बेठिक ठान्न थालेको छ। विप्लवविरुद्धको कडाइ हेर्दा सरकारले हिंसात्मक गतिविधि र चन्दाआतंकलाई अस्वीकार गर्ने देखिएको छ। हिंसात्मक गतिविधिलाई कुनै अर्थमा पनि स्वीकार गर्न सकिँदैन।

विप्लवलगायत सबै असन्तुष्ट समूहले आफ्ना मागको शान्तिपूर्ण समाधानमै जोड दिनुपर्छ। सुरक्षा निकायले सतर्कताका निम्ति दिएको सुझावलाई सरकारले गम्भीरतापूर्वक लिनु आवश्यक छ। विगतको हिंसात्मक गतिविधिमा सरकार र दलमा त्यसलाई हेर्ने दृष्टिकोणबारे स्पष्ट नहुँदा यसले मौलाउने मौका पाएको हो। एउटा सभ्य समाजले हिंसा स्वीकार्न सक्दैन । अतः सरकार हिंसात्मक गतिविधिविरुद्ध तत्पर रहनुपर्छ। हिंसा र आतंकपूर्ण गतिविधिले सर्वसाधारणलाई एक्लो तुल्याउँछ । समाजमा रहेर पनि तिनले असुरक्षित महसुस गर्ने अवस्था आउँछ। यसले सरकारप्रतिको विश्वास कमजोर तुल्याउँछ। यस्ता गतिविधिमा सरकार कडाइका साथ प्रस्तुत हुनैपर्छ। कडाइका साथ प्रस्तुत हुनुको अर्थ फेरि मानवअधिकार उल्लंघन गर्ने भन्ने होइन। हिजो सँगै लडेका व्यक्तिमध्ये एकथरी अहिले सत्तामा छन्। अर्काथरी फेरि हिजोकै जस्तो गतिविधि गरेर संगठन विस्तारमा सक्रिय छन् । संगठन विस्तारका निम्ति हिंसालाई हतियारका रुपमा उपयोग नगर्न प्रोत्साहित गर्नुपर्छ । हिजो १० वर्षका सशस्त्र गतिविधिले आज मुलुक धेरै पछि परेको महसुस भइरहेको छ । फेरि यस्तै गतिविधितर्फ प्रवेश गर्न खोज्नु उचित होइन। मुलुकले प्राप्त गर्नुपर्ने राजनीतिक र सामाजिक अधिकार उल्लेख्य रूपमा हासिल गरिसकेको छ। अबको ध्यान भनेको यसलाई थप परिष्कार गर्दै जाने मात्र हो। लोकतान्त्रिक पद्धतिको विकल्प भनेको थप लोकतान्त्रिक बन्ने हो । यसविरुद्ध हतियार उठाएर अर्को सुन्दर राजनीतिक व्यवस्था अवश्य पनि प्राप्त हुने छैन। बरु यसले हाम्रो मुलुकलाई थप कमजोर तुल्याउनेछ। फेरि बम विस्फोटको आवाज र बारुदको गन्धले हाम्रो समयलाई अभिशप्त नतुल्याइयोस्। शान्तिपूर्ण बाटोबाटै मुलुकले थप उपलब्धि हासिल गर्नुपर्छ। लोकतान्त्रिक विधि र पद्धतिका निम्ति सबैखाले शक्ति र दलले प्रतिस्पर्धात्मक राजनीतिलाई अवलम्बन गर्नुको विकल्प छैन।

प्रकाशित: २९ श्रावण २०७५ ०५:४७ मंगलबार

#हिंसा अस्वीकार्य #शान्तिसुरक्षा #राजनीति