मलाई गोरा मानिसको टिप्पणी प्रिय लाग्छ। खासगरी विश्व खेलकुदको सबैभन्दा ठूला प्रतियोगिता हुँदै गर्दा पाका गोरा मानिसले कालो शरीरका खेलाडीहरूमाथि बोलेका शब्द सम्झनलायक हुन्छन्। मैले वर्षाैंदेखि गोरा पण्डितहरूले फिफा विश्वकप र ओलम्पिकमा प्रयोग गर्ने भाषालाई पछ्याइरहेको छु। गोराहरूले कालो शरीरका बारेमा गर्ने ठट्ठासँग मेरो राम्रै परिचय छ।
त्यसैले पनि होला बेलायती व्यवसायी र टेलिभिजन प्रस्तोता एलन सुगरजस्ता व्यक्तिको रसियाको विश्वकपमा खेलिरहेको सेलेगलिस टोलीप्रतिको नश्लवादी र तीतो ट्वीट देख्दा छक्क परिनँ। सुगरको औपनिवेशिक मानसिकताले सेलेगलिस टोलीका सदस्यलाई समुन्द्री तटमा चश्मा बेचिरहेको मात्र देख्यो। उनीहरू विश्वस्तरीय खेलाडी हुन् र गोरा टोलीहरू जत्तिकै सफलताको हकदार छन् भन्ने कुरा देखेन।
सुगरको यस भनाइले पश्चिमी सञ्चार जगत्मा बेला बेलामा सतहमा आइपुग्ने अफ्रिकन खेलाडीको बारेमा हुने अनुचित बहसलाई इंगित गर्छ। सुगर र उनका समर्थकले सुरुमा नश्लवाद देखेनन्। उनीहरूले ट्वीटलाई मजाक बनाए। यसले फुटबलप्रतिको कट्टरपन्थी विचार र सञ्चारमाध्यममा त्यस्ता विचारलाई कसरी प्रसारित हन्छ भन्ने कुरा पुष्टि गर्छ।
सुगरको ट्वीटमा मात्र होइन फुटबल खेलिँदै गर्दा गोरा टिप्पणीकर्ताले प्रयोग गर्ने भाषामा पनि नश्लवाद झल्कन्छ। यस्तै भाषामध्ये उनीहरूले अत्यधिक प्रयोग गर्ने सतही भनाइ, “अफ्रिकन टोली कलात्मकभन्दा पनि शारीरिक हुन्छन्”ले मलाई खुब छुन्छ । केही दिन अगाडि सेनेगलले पोल्यान्डविरुद्धको पहिलो खेल खेल्यो, त्यतिबेला पनि यही कुरा पटक पटक भनिएको थियो।
जब सेनेगलले आफ्नो पूर्वी यूरोपियन प्रतिस्पर्धीलाई २–१ ले पराजित ग-यो, एनबिसी भन्ने प्रख्यात खेलकुदसम्बन्धी अनलाइनले सेनेगलको गति र शारीरिकताले पोल्यान्डलाई परास्त ग-यो भनेर लेख्यो । त्यस्तै वोइस्ट हामका पूर्वप्रशिक्षक र अहिलेको चल्तीका फुटबल पण्डित सेल्यभेन विलिकले पनि सेनेगलको गति र शारीरिक शक्तिमा मात्र टिप्पणी गरे । फुटबल पण्डितहरूले अफ्रिकन टोली शारीरिक मात्र हुन्छन् भन्ने एकाधिकार छैन । जापानका प्रशिक्षक अकीर निस्ह्न्यिोले, सेनेगलसँग खेल्नुभन्दा अगाडि भने, “हामीले शारिरिक बलमा मात्र होइन, सेनेगलसँग खेल्दा कौशल र रणनीतिमा पनि उत्तिकै ध्यान दिनुपर्छ।”
रसिया विश्वकपका एक मात्रा काला प्रशिक्षक सेनेगलका अलियू सिसेले आफ्नो टोलीको सफलताका लागि प्रयोग गरेको सीपलाई जापानका प्रशिक्षकले ध्यान दिए । जापानले त्यसैअनुसार तयारी पनि ग-यो।
नश्लवादको अर्को गहकिलो उदाहरण बिबिसीका टिप्पणीकारबाट आउँछ । नाइजिरियन खेलाडी अहमेद मुसाले गोल गरेपछि उनलाई “गजेली”, अफ्रिका र एसियामा मात्र पाइने मृग भन्दिए । बिबिसीका टिप्पणीकारले यसरी दाँज्नुको संकेत मुसाको खेलभन्दा पनि उनको शारिरिक बल बढ्ता थियो भन्ने हो। अफ्रिकनहरूलाई उनीहरूको शरीरको आधारमा जनावरसँग दाँजिने लामो नश्लीय इतिहास नै छ । अब यो कुरालाई अन्त्य गरिदिनु पर्छ।
माथिका कुराहरू प्रतिनिधि उदाहरण मात्र हुन् । अफ्रिकन खेल र खेलाडीहरू शारिरिक मात्र हुन्छन् भन्ने विचार प्रत्येक ठूला प्रतियोगितामा बारम्बार दोहोरिने गर्छ।
आइसल्यान्डले पनि अर्जेन्टिनासँग अप्रत्याशित रूपमा बराबरी खेल्यो । तर, सेनेगल जसरी पोल्यान्डलाई अप्रत्याशित रूपमा हराए पनि आइसल्यान्डको सफलतलाई शारीरिक शक्तिसँग मात्र हेरेर व्याख्या गरिएन। हुनसक्छ, गोराहरूको टोली जब काला खेलाडीले भरिन्छन् तब मात्र शरीरिक शक्तिलाई आधार मानेर सफलतालाई व्याख्या गरिन्छ होला । फ्रान्सका सन् २०१४ र अहिलेको राष्ट्रिय टोली पनि काला खेलाडीले भरिएको छ । यस सन्दर्भमा फ्रान्सको टोलीलाई यो कुरा कतिको लागु होला!
कतिले भन्न सक्छन्, शारीरिक बललाई आधार मानेर अफ्रिकन टोलीको प्रंशसा गरिनुपर्छ । तर, यस्तो कथनले काला टोलीले फुटबलका लागि चाहिने उल्लेखनीय सीप, कौशल र सृजनात्मकता छैन भन्ने कुरा जनाउँछ। फ्रान्सका खेलाडी पाउलो पोग्बाकोले खेलमैदानमा प्रदर्शन जति नै सुन्दर भए पनि उनको सबै कौशल शरीरिक शक्तिसँग मात्र जोडिन्छ । किनभने, पहिले उनी काला जातिका खेलाडी हुन्, त्यसपछि मात्र सफल फुटबल खेलाडी।
सेनेगलले पोल्यान्डलाई खेलमैदानमा सुन्दर फुटबल खेलेर हराए पनि फुटबलका पण्डितले उक्त जितलाई विवादास्पद बनाउने प्रयत्न गरे । पोल्यान्ड हार्नुको कारण सेनेगलको रणनीति र खेल कौशल होइन, बलियो शरीर र गति मुख्य कारण हो भन्ने कुरामा जोड दिइयो । जुन कुरा अत्यन्त नमीठो सुनिन्छ।
सत्य कुरा के हो भने विश्वकप फुटबल र ओलम्पिकजस्ता ठूला प्रतियोगिता स्वच्छ खेल भावनाबाट नभई, शक्ति सम्बन्धलाई झन् सशक्त गर्ने माध्यम हुन् । गोरा टिप्पणीकारले प्रयोग गर्ने भाषा र सोचले यो कुरालाई झन् मजबुत बनाएको छ।
ओलम्पिकको लामो दूरीको दौड प्रतियोगितामा केन्या, इथियोपिया र अन्य पूर्वी अफ्रिकन देशहरूबाट आएका धावकहरूलाई अन्य प्रतिस्पर्धीसँग तुलना नै गरिन्न । उनीहरू प्राकृतिक रूपमा नै बलिया छन् भन्ने गरिन्छ । उनीहरूले पाएको सफलतालाई कैशल, सीप, निरन्तरको कठिन अभ्यासको प्रतिफल हो भन्ने कुरालाई मानिँदैन । अफ्रिकी मुलुकले खेलकुदमा विकास गरेको मौलिक सीप बुभ्mने जमर्को गर्नु त टाढाको कुरा भयो । गोरा केन्द्रित सोच र संरचनाले यसरी सोच्ने अवस्था नै सृजना गर्न दिँदैन । त्यसैले त काला खेलाडीको जितलाई शरीरिक बलको प्रतिफल मान्दियो, अनि सकियो कुरा।
शरीरिक शक्तिको धारणा आउनु पछाडिको कारण नश्लीय सोचलाई मलजल गर्ने प्रयत्न हो। पश्चिमी दर्शकलाई अफ्रिकन खेलाडीको खेल सृजनालाई छायाँमा पारिदिने उद्देश्यले यस्ता भाषाहरू निर्देशित हुन्छन् । यस्तो भाषाले नश्लीयतालाई नै प्रवद्र्धन गर्छ । यस्तो नश्लीय भाष्यविरुद्ध प्रश्न गर्ने साहस भएन भने एकै जातिको प्रभुत्व स्थापित हुँदै जान्छ।
प्रत्येक खेलाडीको शरीरिक अवस्था मजबुत हुनुपर्छ । यसमा कुनै दुईमत नै छैन । दुवै काला र गोरा जातिका खेलाडी खेल खेल्न पर्याप्त मात्रामा शरीरिक बलको आवश्यकता पर्छ । तर, काला जातिका खेलाडीको खेललाई सञ्चार माध्यमले जहिले पनि शरीरसँग मात्र जोडेर हेर्नु, नश्लवादी सोच हो । नश्लवादी चरित्र हो । यस्तो कुरालाई नयाँ तरिकाले बहस गर्नु अहिलेको तत्कालको आवश्यकता भइसकेको छ।
(‘अलजजिरा’मा प्रकाशित यिकुको लेख रवीन्द्र ढकालले भावानुवाद गरेका हुन्। अंग्रेजीमा विद्यावारिधि गरेका यिकुको अनुसन्धान अफ्रिकन साहित्य र संस्कृति साथै नाइजेरियन सोसल मिडियाबारे केन्द्रित छ।)
प्रकाशित: १५ असार २०७५ ०२:३७ शुक्रबार