८ पुस २०८१ सोमबार
image/svg+xml
विचार

कस्तोसँग बिगार्‍यो दिमाग?

बाइरोडको बाटोमा

अंग्रेजी भाषाको मानक शब्दकोश प्रकाशक संस्था अक्सफोर्ड युनिभर्सिटी प्रेसले वर्ष २०२४ को ‘वर्ष शब्द’ गत साता सार्वजनिक गरेको छ-‘ब्रेन रट’। ब्रेन रट अर्थात् बोलीचालीको नेपाली भाषामा भन्दा ‘दिमाग खराब’।

अचेल तपाईको ‘दिमाग खराब’ भइरहेको छ भने आफैँसँग केहीछिन संवाद गर्नुहोस् कतै दिनचर्या बिग्रिरहेको त छैन ? छिनछिनमा मोबाइल चलाउन मन लाग्छ। कुनै काम गर्न खोज्यो फ्याट्ट आउने सन्देशले दिमाग भड्काउँछ। मोबाइल छुन नपाउँदै नयाँ ‘रिल्स’ वा ‘सर्टस्’ वा ‘टिकटक’ मा रमाइलो सामग्री आएको ‘नोटिफिकेसन’ ले उत्सुक गराउँछ। एउटा सामग्री हेर्छु भन्दाभन्दै घन्टा बितेको पत्तै हुँदैन। आखिर समय त त्यति नै हो, त्यसको सदुपयोग र दुरूपयोग आफ्नै हातमा छ।

केहीअघिसम्म एकजना वृद्धलाई मैले साँझतिर नियमित हार्मोनियम बजाएर भजन गाइरहेको अवस्थामा भेट्थेँ। केही महिनाको अन्तरालमा उनी मोबाइलमा झुम्मिएको देखिन थाले। उनले कुरैकुरामा भने– ‘यही मोबाइलले मलाई बिगार्‍यो। मोबाइल नहेरी चित्तै बुझ्दैन।’

‘ब्रेन रट’ त्यही अवस्था हो जहाँ हाम्रो मनस्थिति इन्टरनेटमा प्राप्त हल्काफुल्का सामग्रीको उपभोगबाट निर्देशित हुन थाल्छ। यसलाई बुझाउने गरी बिबिसी नेपालीले शुक्रबार एक सामग्री प्रकाशित गर्दै लेखेको छ– सरल बुझाइमा अंग्रेजी भाषामा  ‘ब्रेन’ अर्थात् मस्तिष्क, ‘रट’ अर्थात् सड्नु भन्ने हुन्छ।’

‘ब्रेन रट’ शब्दको पहिलो प्रयोग इन्टरनेट आउनु भन्दा धेरैअघि भएको हो। हेनरी डेभिड थोरोले सन् १८५४ मा आफ्नो पुस्तक वाल्डेनमा यसलाई उल्लेख गरेका थिए। त्यही शब्द अहिलेको इन्टरनेट युगमा मानिसको मनस्थिति बुझाउन प्रयोग हुने अवस्थामा आइपुगेको छ।

अक्सफोर्डले यस वर्षको शब्द सार्वजनिक गर्नुअघि ३७ हजार मानिसको मत प्राप्त गरेको थियो। भाषा विशेषज्ञहरूले गत वर्ष मानिसको मनस्थिति र कुराकानीलाई प्रतिबिम्वित गर्ने ६ वटा शब्द छनोट गरेका थिए। यस्ता शब्दमा ‘स्लोप’ पनि परेको  छ। यसले कृत्रिम बौद्धिकताबाट सिर्जित न्युन गुणस्तरका, अप्रामाणिक वा गलत  सामग्रीलाई बुझाउँछ।

अब सहजै बुझ्न सकिन्छ, हामी आफूले थाहै नपाउने गरी दिमाग बिगारिदिने सामग्रीको प्रभावमा पर्न सक्छौं। अक्सफोर्ड प्रेसका अनुसार, सामाजिक सञ्जाल र इन्टरनेटमा फेला परेका कम गुणस्तर र मूल्यवत्ता भएका सामग्रीको कारण र प्रभावलाई ‘ब्रेन रट’ ले व्याख्या गरेको छ। व्यक्ति वा समाजलाई यस्ता सामग्रीले पार्ने नकारात्मक प्रभावलाई यसले चित्रण गर्छ।

सूचना प्रविधिको अहिलेको उच्चतम विकासले जीवन जति सहज हुँदैछ, त्यति नै यसका नकारात्मक प्रभावले उत्तिकै जटिल पनि पार्दैछ। यसको प्रभाव समाजका सबै क्षेत्रमा देखिन थालेका छन्। यही पक्षलाई बुझेर अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने व्यवस्था गरेको छ। यस कानुनले बालिबालिकालाई ‘साइबर बुलिङ, ‘अनलाइन गु्रमिङ’ र हानिकारक सामग्रीसँगको साक्षात्कार’ बाट जोगाउन कोसिस गर्छ।

यो कानुनको पालना नगर्ने सामाजिक सञ्जाल सञ्चालकलाई ५० करोड अमेरिकी डलरसम्म जरिवाना हुन्छ। हाम्रो देशले यस्ता कानुनमा कहिले विचार गर्ने ? विचार गर्ने बेलासम्ममा धेरै क्षति भइसक्छ।

अमेरिकी सामाजिक मनोविज्ञ तथा लेखक जोनाथन हाइटको चर्चित पुस्तक ‘दी आङ्सियस जेनेरेसन’ मा सामाजिक सञ्जालले कलिला पुस्तालाई भ्रष्ट बनाउँदैछ भन्ने उल्लेख गरेका छन्। अस्ट्रेलियाले अहिले गरेको निर्णय उनको यही खोजको परिणाम पनि हो।

सामाजिक सञ्जालको विकाससँगै सर्वसाधारणले रुचि राख्ने सामग्रीको होडबाजी इन्टरनेट संसारमा बढेको छ। ‘भ्युज’ का लागि जस्तोसुकै हर्कत गर्ने प्रवृत्ति बढ्दो छ। सामग्री भाइरल बनाउनका निम्ति जस्तोसुकै बोल्ने र व्यवहार गर्ने चलन पनि चढ्दो छ। यसको प्रभाव सार्वजनिक जीवन र सिर्जनामा पनि पर्न थालेको छ। पाका मानिसहरूले अचेल इन्टरनेट सामग्रीमा सामाजिक मर्यादा भुलेर दिने गरेका अभिव्यक्तिले यसका उपभोक्तामा नराम्रो प्रभाव पर्छ नै।

अहिले एउटा नेपाली गीत विशेषगरी टिकटक, रिल्स र सर्टस्मा खुबै देखिएको छ। ‘तिम्रो बूढा विदेशमा हो, अनि तिमीसँग हिँड्ने भुसतिघ्रे को ?’ गीतमा आफ्नो सामग्री बनाउने होडबाजीले समाजको रुचिलाई चिनाउँछ। कुनै महिलाको पति विदेशमा हुनु र साथमा कुनै आफन्त हिँड्नुलाई समेत समाजले चियोचर्चोको विषय बनाएको छ भन्ने यसले देखाउँछ। यसमा प्रयोग भएका शब्दहरूबाट बालबालिकामा कस्तो प्रभाव पार्ला ?

नेपाली चलचित्र ‘छक्कपञ्जा ५’ को एउटा गीतले सराप्नुलाई पनि सामाजिक मानकका रूपमा अगाडि सारेको छ। ‘तँलाई सम्पत्तिको स नभाको भिखारीले पाओस्, मलाई जुत्ती हान्ने खुट्टी तेरो पड्किएरै जाओस्’ मार्का गीतका सर्जकलाई गर्नुभन्दा पनि त्यस्ता सामग्रीमा समाजको रुचि प्रतिबिम्बित भएको देखिन्छ। फत्तेमानले वर्षौं अघि गाएको एउटा गीतमा ‘मेरो इच्छा मारी जाने तिम्रो इच्छा फलोस् फुलोस्’ भन्ने उदात्त भावना देखिन्छ। अचेल यस्तो कल्पना पनि हुन छाडिसकेको छ।

मानिसलाई तत्काल जवाफ दिइहाल्नुपर्ने, फेसबुक वा अन्य सामाजिक सञ्जालका स्टेटसबाट हावा तरिकाले भए पनि कसैलाई चित्त दुखाइहाल्नुपर्ने मानसिकताबाट समाज अगाडि बढेको देखिन्छ। आजकल सामाजिक सञ्जालमा नेताहरू र आफूलाई मन नपर्ने मानिसलाई गाली गरिरहेका वयस्कहरूलाई हेर्दा आश्चर्य लाग्छ। इन्टरनेटबाट चल्ने यस्ता माध्यममा आएर गरेको गाली आफैँले मन पराएका मानिसले पनि सुन्नुपर्ने हुन्छ। त्यसले ती व्यक्तिबारे कस्तो धारणा बनाउला ?

कुनैबेला कसैलाई केही भन्नुअघि पनि धेरैपटक सोचिन्थ्यो। अचेल कसैले सोचेर जवाफ दिँदैन। सामाजिक सञ्जालमा ‘लाइभ’ बसेर जस्तोसुकै बोल्न छुट भएको छ। परिवारका सबै सदस्य सँगै बसेर सामाजिक सञ्जाल हेर्न सक्ने अवस्था छैन। कुनै पनि बेला दिमाग बिग्रेर कसैले जथाभावी बोलेको हुन सक्छ। त्यसले आफूलाई प्रभाव पार्न सक्छ।

त्यही भएर अचेल धेरैले राति सुत्नुअघि र बिहान उठ्नासाथ सामाजिक सञ्जाल नहेर्न सुझाउने गरेका छन्। यसले कुनै पनि बेला मानिसको दिमाग बिगार्न सक्ने खतरा हुन्छ। पछिल्लो समय राजनीतिक विश्लेषकका नाममा भेटिएकाहरूका अभिव्यक्तिको कुनै आधार भेटिँदैन। तिनले आफूखुसी बोलिरहेका हुन्छन्। तर, यस्ता सामग्री मात्र उपभोग गर्नेहरू कुनै निष्कर्षमा पुग्न सक्दैनन्। बरु सूचनाको जञ्जालमा अल्मलिन्छन्।

राजनीतिमा पनि त्यस्तै किसिमको भुइँफुट्टा वर्गको उदय भएको छ। सूचना प्रविधिलाई आफूअनुकूल प्रयोग गर्न जानेका यस्ता व्यक्तिले समाजलाई एकोहोर्‍याएका छन्। विगतमा यस्तो राजनीतिक कुराकानी मानिसले पढ्न चाहेमा मात्र उपलब्ध हुन्थ्यो। तर अहिले मानिसका हातहातमा यसको उपस्थिति छ। अहिले समाजले ‘नायक’ ठानेका केही व्यक्तिहरू यस्तै दिमाग खराब भएकाहरू छन् र तिनले तपाईँको दिमाग थप खराब बनाउन काम गरिरहेका छन्।

सामाजिक सञ्जालबाट निर्देशित सामग्री मात्र उपभोग गर्ने व्यक्तिले आफ्नो चाहना अनुसारका विषयवस्तु प्राप्त गर्न सक्दैनन्। अझ आफूले उपभोग गरेको सामग्रीका आधारमा निर्देशित ‘अल्गोरिदम’ ले त्यस्तै त्यस्तै किसिमका सामग्रीको बाढी लगाइदिन सक्छ। कुनै पण्डितको प्रवचन लगातार सुन्ने हो भने त्यस्तै सामग्री मात्र सामाजिक सञ्जालले पठाउन थाल्छ।

सामाजिक सञ्जाल मात्र होइन, हेर्दाहेर्दै हाम्रो जीवन कृत्रिम बौद्धिकताबाट निर्देशित हुन थालिकेको छ। अब सामाजिक सञ्जालभन्दा पनि बढी यसैको प्रयोग हुनेतिर हामी जाँदैछौँ। यस्ता उपलब्धिलाई हामीले आफ्नो आवश्यकता अनुकूल ढालेर प्रयोग गर्दा मात्र कार्यक्षमता बढ्छ। हिजो हातैले लेखेर कैयन् व्यक्तिले संसारलाई प्रभाव पार्ने सामग्री तयार गर्न सफल भएका थिए। अब कृत्रिम बौद्धिकताको अधिक प्रयोगले क्याल्कुलेटर आएपछि गुणांक बिर्सिएजस्तो नहोस्।

आज कृत्रिम बौद्धिकताले कामलाई सहज बनाएको छ भने त्यो भन्दा उन्नत स्तरमा जान मानिसले कोसिस गर्नुपर्ने हुन्छ। प्रविधिलाई मानव विकासको थप उच्चतातिर लैजान प्रयोग गर्ने कि त्यसैबाट आफ्नो दिमाग चलाउन नसक्नेमा पुर्‍याउने? छनोट आफैँमा छ। त्यसैले आजको दिनमा इन्टरनेटको प्रयोग कति गर्ने, प्रयोग गर्दा कसरी र कति शुद्धताका साथ गर्ने र अनलाइनबाट बाहिरका गतिविधिमा आफूलाई कसरी सरिक गराउने भन्ने अनेकन विधि आइसकेका छन्।

कविता लेख्न लगाउँदा वास्तविक कविले भन्दा राम्रो कृत्रिम बौद्धिकताले गर्न सक्छ। यो प्रयोग पनि गरेर हेरिसकेका छन्। तर मानव दिमागको क्षमता भने त्यो कृत्रिम बौद्धिकता सिर्जना गर्न सक्ने हो। त्यसैले आफैँले विकास गरेको सामाजिक सञ्जालबाट सिर्जित सामग्रीले आफ्नै दिमाग खराब गर्ने ‘ब्रेन रट’ को स्थितिबाट अगाडि बढ्ने कि?

प्रकाशित: २३ मंसिर २०८१ ०६:१६ आइतबार

# Byroadko Batoma # Artificial intelligence # What kind of brain damage?