विश्वले प्रविधिहरूको विकास र विस्तारमा ठुलो छलाङ लगाइरहेको छ। प्रविधिका कारण मानिसको श्रम बचत हुनुका साथै मानिसले प्रशस्त सेवा, सुविधा र मनोरञ्जन प्राप्त गरिरहेका छन्। मोबाइल, कम्प्युटर तथा इन्टरनेटको विकास र विस्तारले त ज्ञानविज्ञान तथा सूचना सञ्चारलाई मानिसको हातहातमा पुराइदिएको छ। हातमा मोबाइल वा कम्प्यूटर छ, इन्टरनेटको सुविधा छ भने आफूले खोजेको वा जान्न चाहेको जुनसुकै सूचना वा ज्ञानगुनका कुरा तुरुन्त पढ्न, सुन्न र हेर्न पाइने अवस्थामा छ अहिलेको विश्व।
प्रविधिको विकाससँगै यसको दुरूपयोग पनि ह्वात्तै बढेको छ। कतिपय प्रविधिका यस्ता साधनले मानिसलाई नराम्रोसँग दुर्व्यसनको दलदलमा फसाउँदै लगेका छन्। दुव्र्यसनी बनाउँदै लगेका छन्। प्रविधि दुर्व्यसन लागुपदार्थको दुव्र्यसन जस्तै गम्भीर तथा खतरनाक हुने वैज्ञानिक अध्ययनले देखाएको छ।
के हो प्रविधि दुर्व्यसन?
साधारण शब्दमा टिभी, कम्प्युटर, ट्याबलेट, स्मार्टफोन, भिडियो गेम तथा इन्टरनेट आदि जस्ता प्रविधि प्रयोग गर्ने अनियन्त्रित इच्छा वा लतलाई प्रविधि लत वा दुव्र्यसन भनिन्छ। प्रविधि दुव्र्यसनमा फसेको व्यक्तिको ध्यान केवल यस्ता प्रविधि प्रयोग गर्नमा हुन्छ। अम्मली व्यक्ति दिनको १०–१२ घण्टासम्म पनि यस्ता प्रविधि प्रयोग गर्न पछि पर्दैनन्। प्रयोग गर्न नपाएको खण्डमा बेचैन, आक्रोशित या उदासीन हुन्छ। यहाँ उल्लेखनीय कुरा के भने नयाँ प्रविधि सिक्नका लागि घण्टौँ प्रयासरत रहनु या आवश्यकताअनुसार यसको प्रयोग गर्नु लत होइन। यो तबसम्म नशा होइन जबसम्म यसले सामान्य जीवनयापनमा वा सम्बन्धमा नराम्रो प्रभाव पार्दैन।
लक्षण
प्रविधि दुव्र्यसनको प्रमुख लक्षण भनेको आवश्यकता बिना दैनिक ५ देखि १० घण्टा वा त्योभन्दा बढी समय प्रविधिहरू प्रयोग गर्न बिताउनु हो। यसका अन्य लक्षणमा साथीसंगी तथा परिवारबाट टाढा रहने, पर्याप्त नसुत्ने, खेलकुद तथा अन्य मनोरञ्जनपूर्ण क्रियाकलापमा चासो नदेखाउने, धेरै खाने वा कम खाने, शरीरको वजन बढ्ने वा घट्ने, हात र पाखुरामा पीडा हुनु। कार्पल टनल सिन्ड्रोमको समस्या देखा पर्नु, बारम्बार टाउको दुख्नु, दृष्टिसम्बन्धी समस्या देखा पर्नु। शरीर, ढाड र कम्मर दुख्नु। यस्ता प्रविधि प्रयोग गर्न नपाउँदा मुड खराब हुनु, बेचैन तथा चिडचिडे हुनु, आत्मविश्वासमा कमी तथा भावनात्मकरूपमा कमजोर महसुस गर्नु।
प्रकार
प्रविधि दुव्र्यसनअन्तर्गत प्रविधिसँग सम्बन्धित अनेक दुव्र्यसन पर्छन्। तीमध्ये प्रमुख दुव्र्यसन हुन्– भिडियो तथा कम्प्युटर गेम दुर्व्यसन, स्मार्टफोन, टेबलेट तथा आइप्याड दुर्व्यसन, साइबरसेक्स तथा पोर्नोग्राफी दुर्व्यसन, अनलाइन गेम्बलिंग, अनलाइन सपिंग, सोसल मिडिया दुव्र्यसन (जस्तै– फेसबुक, युट्युब, स्काइप, एक्स, इन्स्टाग्राम, माइस्पेस आदि)।
इन्टरनेट लत र मस्तिष्क
हालै गरिएको मनोवैज्ञानिक शोधका अनुसार इन्टरनेट लत लागुऔषध वा मद्यपानको लत जस्तै खतरनाक र हानिकारक देखिएको छ। विशेषगरी बालबालिका, किशोर तथा युवा वर्ग इन्टरनेट कुलतबाट बढी पीडित छन्। अनलाइन गेम तथा सोसल नेटवर्क, जस्तै– फेसबुक, ह्वाट्सएपको बढी प्रयोग तथा अश्लील चिजहरू हेर्ने आदत यसको सुरुवाती लक्षण हो। आदत बढ्दै गएमा इन्टरनेट प्रयोग गर्न नपाउँदा बेचैनी, चिडचिडापन तथा क्रोध आउने स्थिति देखा पर्छ।
इन्टरनेट एडिक्सन डिसअर्डर
मानसिक रोग म्यानुअलले इन्टरनेट एडिक्सनलाई अहिलेसम्म मानसिक रोगका रूपमा सूचीबद्ध गरेको छैन। तर निकट भविष्यमा नै एक मनोरोगका रूपमा सूचीबद्ध गर्ने पक्का छ। त्यसो त सन् १९९५ मा मनोविद् किम्बर्ली योङले इन्टरनेट एडिक्सन केन्द्र खोलेका थिए। र, उपचारका लागि कग्नेटिभ बिहेभियर थेरापीमा आधारित उपचार पद्धति बनाएका थिए। सोही वर्ष मनोचिकित्सक इभन गोल्डबर्गले इन्टरनेटको लतलाई इन्टरनेट एडिक्सन डिसअर्डर निदान गरी मनोवैज्ञानिक उपचार पद्धतिको आरम्भ गरेका थिए। इन्टरनेट एडिक्सनलाई एक मनोरोगका रूपमा लिएर उचार गर्ने उनी पहिलो व्यक्ति हुन्।
प्रविधि दुर्व्यसनको कारण
प्रविधि दुर्व्यसनका अनेक कारण हुन्छन्। साधारणतया मानिस तनाव, उदासीनता, चिन्ता तथा एक्लोपना कम गर्न इन्टरनेटको सहारा लिन्छन्। यसरी इन्टरनेट प्रयोग गर्दा उनीहरूलाई आनन्द मिल्छ। यस्तो आनन्दले उनीहरूलाई अम्मली बनाउँछ। अधिकांश व्यक्ति साथीसंगीको देखासिकीमा तथा खुलदुलीका कारण अनलाइन गैम तथा पोर्नोग्राफी दुव्र्यसनको दलदलमा पर्छन्। बालबालिका कार्टुन फिल्म हेर्दाहेर्दै तथा भिडियो तथा अनलाइन गेम खेल्दाखेल्दै इन्टरनेट दुव्र्यसन डिसअर्डरको शिकार बन्छन्।
रोकथाम र उपचार
इन्टरनेट दुर्व्यसनले व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने र यसले अन्य मनोरोगको समस्यासमेत निम्ताउने हुनाले छिटोभन्दा छिटो उपचार गर्न आवश्यक हुन्छ। त्यसो त हल्का खाल इन्टरनेट दुव्र्यसनको उपचार आफैँ पनि गर्न सकिन्छ।
जस्तो कि सामाजिक सञ्जालहरूमा बिताउने समय कम गर्दै जाने, बाहिर खेल खेल्ने, साथीसंगी तथा परिवारको साथमा समय बिताउने, राम्रा किताब पढ्ने, राति छिटै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्ने, योग, ध्यान तथा व्यायाम गर्ने, सामाजिक सञ्जाल चलाउने समय तालिका बनाउने, सोही समयमा मात्र इन्टरनेटको प्रयोग गर्ने, यससम्बन्धी सेल्फहेल्प किताबहरू पढेर उल्लिखित उपायहरू पालना गर्ने। तर कडाखालको इन्टरनेट दुर्व्यसनको उपचारका लागि भने विशेषज्ञको आवश्यकता पर्छ।
– बानियाँ साइकोथेरापिस्ट हुन्।
प्रकाशित: ३२ श्रावण २०८१ ०५:४१ शुक्रबार