७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

राष्ट्रिय ध्वजावाहकलाई यसरी उचालौं

केही दिनअघिको समाचार हो, नेपालको छिमेकी मुलुक चीनको नेपालसँगै जोडिएको तिब्बत प्रान्तमा सन् २०२३ को एक वर्षमा पाँच करोड ५१ लाख ७० हजार स्वदेशी र विदेशी पर्यटकले भ्रमण गरे। बर्सेनि १० लाख पर्यटक पनि भित्र्याउन नसक्ने नेपालका लागि यो निःसन्देह ठूलो समाचार हो। कुनैबेला तिब्बत भनेको त्यस्तो नगर थियो जहाँ कपडासमेत नेपालका व्यापारीले बेच्न लगे मात्रै पुग्ने गर्थ्याे।

तिब्बतको सम्पूर्ण व्यापार काठमाडौँका नेवार व्यापारीको नियन्त्रणमा थियो। यस्तो नगर अहिले हेर्दाहेर्दै चीनकै सबैभन्दा सम्पन्न प्रान्त बनिसकेको छ। यसमा सबैभन्दा ठूलो योगदान भनेको पर्यटन क्षेत्रकै छ। पर्यटनले मुलुकलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण अहिले तिब्बत बनेको छ। विज्ञहरू के भन्छन् भने तिब्बत स्वायत्त प्रदेशमा घुम्न जाने पर्यटकको तीन प्रतिशत हिस्सा मात्र नेपाल तान्न सक्ने हो भने वर्षमा सरदर १५ लाख पर्यटक नेपाल ल्याउन सकिन्छ।

पर्यटन कुनै एक निकाय लागिपर्दैमा विकास भइहाल्ने क्षेत्र होइन। यस पछाडि विभिन्न तŒव लुकेको हुन्छ। जस्तो पर्यटकीय क्षेत्रको व्यवस्थापन, सुगम मार्ग, होटल व्यवस्था, खानपिन, नेपालसम्म पुग्ने हवाई यातायात आदि। हवाई यातायातको कुरा गर्ने हो भने नेपाल यतिबेला अत्यन्तै समस्याग्रस्त अवस्थामा छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हवाई यातायातलाई सुरक्षित मानिँदैन। युरोपेली युनियनले नेपाली विमानलाई आफ्नो आकाशमा उड्ने अनुमति अहिलेसम्म दिएको छैन। अन्तर्राष्ट्रिय शंकालाई टेवा मिल्ने गरी केही दिनअघि मात्र सौर्य एअरवेजको विमान दुर्घटना भई १८ जनाको ज्यान गयो। यो दुर्घटनाले नेपालमा कति लापर्वाहीपूर्वक उडान हुँदोरहेछ भन्ने उदाहरण बनेको छ।

नेपालको हवाई उडानको स्थिति कस्तो छभन्दा नभएका सुविधा त नभएकै भयो, भएकै कतिपय सुविधालाई पनि उपयोग गर्न सकेका छैनन्। राज्यले करोडौँ लगानी गरेर तयार गरेका कपितय सुविधा अहिले उपयोगहीन अवस्थामा रहेको बुझिन आएको छ। यसको सबैभन्दा ज्वलन्त उदाहरण पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल नै हुन्।

यी विमानस्थल निर्माण गरिसकेपछि अहिले विभिन्न बहानामा प्रयोगबिहीन बनाइएको छ। पोखरा र भैरहवा ठूला विमानस्थल भए। नेपालका विभिन्न गाउँठाउँमा अरू साना विमानस्थल पनि धेरै छन् जो अहिले प्रयोगमा ल्याउन सकिएको छैन। यी साना विमानस्थललाई प्राविधिक भाषामा ‘स्टल एअरपोर्ट’ भनिन्छ। अहिले विभिन्न जिल्लामा यस्ता २० वटा स्टल एअरपोर्ट प्रयोगबिहीन छन्। राज्यले करोडौँ रूपैयाँ खर्च गरेर एअरपोर्ट बनाइसकेको छ तर प्रयोगमा ल्याउन सकेको छैन। ती गाउँबाट काठमाडौँ आउन तीन÷चार दिन लाग्छ।

यस्ता साना विमानस्थल प्रयोगमा ल्याउन सके एक घण्टामा गन्तव्यमा पुग्न सकिन्थ्यो। साथै यसले ती गाउँमा पर्यटक पु¥याउन पनि सजिलो हुन्थ्यो। अहिले त्यस्ता २० वटा स्टल एअरपोर्टमा निजी कम्पनीको त कुरै छाडौँ, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले समेत जहाज उडाउने गर्दैन। भौगोलिक दृष्टिकोणले ती ठाउँका लागि सुगम यातायात भनेको हवाई मार्ग हो।

विज्ञहरूका भनाइअनुसार ती एअरपोर्टलाई चलायमान बनाउने एक मात्र उपाय भनेको नेपाल वायुसेवा निगमले प्रशस्त मात्रामा साना विमान खरिद गरेर सबै ठाउँमा नियमित उडान भर्ने हो। कुनै स्टल सेक्टर घाटामा गए पनि निगमको अन्य सेक्टरबाट हुने कमाइबाट क्रस सब्सिडीको सिद्धान्तअनुसार घाटा हुने सेक्टरमा पनि नियमित उडान गरेर त्यस भेगका बासिन्दालाई राहत दिनुपर्छ। नेपाल टेलिकम र विद्युत् प्राधिकरणले विकट गाउँहरूमा सेवा दिइरहेका पनि क्रस सब्सिडीको आधारमा नै हो तर ती संस्था समग्रमा फाइदामै चलिरहेका छन्। जनताको सेवा र स्थानीय विकासको कुरा गर्दा राज्यले फाइदा/घाटा मात्र हेरेर हुँदैन।

भैरहवाको लागि एक छुट्टै न्यारोबडी विमान खरिद गरेर बौद्ध मुलुक श्रीलंका, म्यानमार, भियतनाम, क्याम्बोडिया, लाओस आदिमा सिधा उडान गर्दा राम्रो हुने सुझाव विज्ञले दिइरहेका छन्। पोखराको हकमा पनि त्यस्तै अर्को एक छुट्टै न्यारोबडी विमान खरिद गरेर भारत, चीनका केही सहरबाट रमणीय वा हनिमुन सहर भनेर प्रचार प्रसार गरेर पोखरामा सिधा उडान गराउन सकिन्छ।

सुरुसुरुमा अलि घाटा सहेर भए पनि राष्ट्रिय ध्वजाबाहकले पोखरा र भैरहवामा सेवा सुरु गर्नुपर्छ। विदेशी एयरलाइन्सको मुख ताकेर हुँदैन। त्यसका लागि अर्थ मन्त्रालय पनि सक्रिय हुनु जरुरी छ। नेपाल वायुसेवा निगमको मालिक त नेपाल सरकार नै हो। यो काममा नेपाल सरकारले लगानी नगरी अरूलाई मात्र लगानी गरभन्दा कोही पनि अघि सर्दैन।

अहिले नेपाल वायुसेवा निगमको कुरा गर्दा निजीकरणको कुरा पनि उठ्ने गर्छ। वास्तवमा आज पनि विश्वका दुई सय मुलुकका राष्ट्रिय ध्वजावाहकमध्ये करिब ३५ प्रतिशत एयरलाइन्स सरकारको शतप्रतिशत स्वामित्वमै चलिरहेका छन्। यीमध्ये इथियोपियन एयर, कतार एयर, फ्लाइ दुबई, इत्तेहाद एयर, इमिरेट्स एयर, गल्फ एयर, भियतनाम एयर आदि अत्यन्त राम्ररी चलिरहेका छन्। प्रशस्त मात्रामा विमान खरिद गरेर नाफा कमाउन सक्ने सेक्टरमा उडान राखी निगम पनि नाफामा जान सक्ने सम्भावना छ।

अहिलेको अवस्थाले न नेपालको हवाई विकास हुन्छ न त पर्यटनकै। न गाउँठाउँमा सरकारले निर्माण गरिसकेको विमानस्थल प्रयोगमा आउँछ। अवस्था परिवर्तनतर्फ नलाग्ने हो भने खाली फलाना देशले यति पर्यटक भित्र्याए, उति भित्र्याए भनेर गन्थन मात्र गर्नुको कुनै अर्थ छैन।

प्रकाशित: १८ श्रावण २०८१ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App