पूर्वी तराईमा शीतलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताभित्रै नौ जनाको ज्यान गएको जुन तथ्य बाहिर आएको छ, त्यसले सर्वसाधारणमा आधारभूत स्तरको न्यूनतम तहमा समेत जीवन जिउने अवस्था नभएको देखाएको छ । चिसोले कठ्यांग्रिएर मृत्यु भए पनि एक हिसाबले भन्ने हो भने यो विपन्नताकै परिणाम हो । गरिबीका कारण सर्वसाधारणले न्यूनतम स्तरको समेत बसोबासको प्रबन्ध गर्न नसकेकै कारण उनीहरु चिसोले मृत्युवरण गर्न बाध्य छन् ।
पछिल्लो समय चिसोले कठ्यांग्रिएर ज्यान गुमाउनेमा सप्तरीका ६ जना र रौतहटका तीन जना छन् । चिसोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । हरेक वर्ष चिसोका कारण तराई–मधेसलगायत देशका विभिन्न क्षेत्रमा सर्वसाधारणको मृत्यु हुँदासमेत राज्य त्यसप्रति बेखबरजस्तो देखिनु आफैंमा विडम्बनापूर्ण अवस्था हो । मौसमअनुसारका प्रकृतिक प्रतिकूलता मानवजीवनमा देखिन्छन्, तर तिनलाई सामना गर्ने क्षमताको विकास भने राज्य तहबाटै हुनुपर्छ । जाडो प्रत्येक वर्ष आए पनि त्यसले जनजीवनमा सिर्जना गर्ने कष्टकर अवस्था पुनरावृत्ति भइरहन्छ । जाडोबाट जोगाउन निर्माण गर्नुपर्ने आवास, तापक्रम र अन्य आवश्यक व्यवस्थाको जोहो गर्न राज्यले बाटो देखाउनुपर्छ । समस्या आउँछन्, दुईचार दिन त्यसमा छलफल ग¥यो र बिस्र्यो गरेर मात्र हुँदैन ।
विशेष गरी गरिब बस्तीमा न बस्नका लागि न्यानो घर नै हुन्छ, न लगाउनका लागि पर्याप्त कपडा । त्यति मात्र होइन, पर्याप्त खाद्यान्नसमेत हुँदैन । कतिपय आगो तापेर नै चिसो छल्ने गर्छन् भने कतिपयले काठदाउरा अभावमा आगो ताप्नसमेत पाउँदैनन् । गरिब बस्तीको यस्तो दर्दनाक परिस्थितिप्रति सरकार जानकार नभएको होइन । तर, चिसो बढ्नुअगावै त्यस्तो बस्तीका बासिन्दाका लागि सरकारका तर्फबाट खासै ध्यान जाने गरेको देखिँदैन । चिसोले सर्वसाधारणको मृत्यु हुन थालेपछि न्यानो कपडा बाँड्ने भनेर केही कार्यक्रम सञ्चालन गरे पनि त्यतिखेरसम्म धेरै ढिला भइसकेको हुन्छ ।
दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोले सरकारी कार्यालयमा सेवाग्राहीको संख्या कम भएको छ भने सार्वजनिक यातायातमा यात्रा गर्ने पनि कम पनि निकै कम भएको छ । चिसो बढेपछि व्यवसाय पनि प्रभावित भएको छ । मधेसमा शीतलहर बर्सेनि आउने गरेको छ । त्यसको कारण प्रदूषण पनि एक हो । जाडोमा असाध्यै जाडो र गर्मीमा असाध्यै गर्मी हुने मुलुक संसारभरि छन् । तर, हामीकहाँ मौसमी प्रतिकूलता धेरै नहुँदा पनि सामान्य अवस्थालाई पनि सुधार गरेको देखिएन ।
शीतलहरले जनजीवन प्रभावित भएकाले रौतहटका विद्यालयमा बिदा दिइएको छ । बालबालिकाका लागि मौसम प्रतिकूल देखिएकाले जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीमा पनि शीतलहरसँगै बढेको चिसोले बालबालिकामा असर पर्ने भन्दै जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै ४ सय १२ वटा सामुदायिक विद्यालय केही दिनका लागि बन्द गराएको छ । एक हिसाबले भन्ने हो भने शीतलहरका कारण जिल्लाको जनजीवन अस्तव्यस्त छ । चिसोबाट खासगरी विपन्न परिवार जोखिममा परेका छन् । चिसोका कारण सर्वसाधारण बिरामी पर्न थालेका छन् ।
अत्यधिक चिसोका कारण हाइपोथर्मियाको सिकार हुने गर्छन् । हाइपोथर्मियाका कारण मुटु तथा नसासम्बन्धी समस्या उत्पन्न भई मृत्युसमेत हुनसक्छ । यस्तो अवस्थामा सरकारले तत्कालका लागि चिसोबाट प्रभावित र प्रभावित हुन सक्ने विपन्न परिवारलाई न्याना कपडा र आगो बाल्न दाउरा दिन जरुरी छ भने त्यसका साथै खाद्यान्न वितरण गर्न पनि उत्तिकै आवश्यक छ । तर, दीर्घकालीन हिसाबले भने राज्यले यो अवस्था आउनै नदिने वातावरण मिलाउन आवश्यक छ । त्यसका लागि विपन्न वर्ग लक्षित शिक्षा, स्वास्थ्य, जीविकोपार्जनका साथै जीवनस्तर उकास्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
आजको युगमा पनि जाडो र गर्मीबाट नागरिकको मृत्यु हुनु भनेको गरिबीबाहेक अरु केहीको लक्षण होइन । सबै नागरिकलाई वातानुकूलित अवस्थामा राख्ने गरी मुलुकलाई समृद्धिको बाटोमा हिँडाउने तत्परता सरकारमा हुनुपर्छ । एक मौसममा न्याना कपडा बाँडेर एक माघ मात्र जान्छ । सधैंका लागि जाडो र गर्मीबाट जोगिने व्यवस्था गर्न आजको विज्ञान–प्रविधिको युगमा असम्भव छ र ?
प्रकाशित: २३ पुस २०७४ ०३:०० आइतबार