विश्वमा आणविक अस्त्रको होडवाजी अझै रोकिएको छैन । गत साता मात्रै अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै ठूलो संयुक्त सैनिक अभ्यास गरेका छन् । उत्तर कोरिया एकपछि अर्को बम बनाएर संसारलाई थर्काउन पछि परेको छैन । अमेरिकाले दोस्रो विश्व युद्धमा जापानमा खसालेको एटम बमभन्दा हजार गुणा शक्तिशाली हाइड्रोजन बम बनाएको दाबी उत्तर कोरियाले गरेको छ । त्यसबाहेक दक्षिण एसियामा भारत र पाकिस्तानमात्र होइन, बङ्गलादेश र श्रीलंका पनि आणविक अस्त्र बनाउने होडमा रहेको सुनिन्छ । उत्तरी छिमेकी चीन त विश्वमै चौँथो आणविक शक्ति राष्ट्र भएको सबैलाई जानकारी नै छ । यसरी नेपाल चारैतिरबाट आणविक अस्त्रको त्रासले घेरिएको छ । भविष्यमा ती मुलुकबीच हुन सक्ने सम्भावित युद्ध वा अन्य कुनै प्राविधिक कारणले आणविक भट्टीबाट विगतमा जसरी रेडियोधर्मी विकिरण चुहावट भएमा नेपालले त्यसको असर मापन गर्न सक्दैन । देशमा आणविक रसायनशास्त्रीको अभाव र सरकारी कमजोरीका कारण हालसम्म आणविक विकिरण मापन केन्द्र स्थापना हुन सकेको छैन । त्यसबाहेक स्वास्थ्य क्षेत्रमा प्रयोग हुने एक्स–रे, एमआरआइ, सिटी–स्क्यानलगायतका उपकरणबाट पैदा हुने विकिरण, रेडियो तथा म्याग्नेटिक वेभले गर्दा मानव स्वास्थ्यमा पुर्याउने असरबारे पनि नेपालमा सम्बन्धित क्षेत्रको ध्यान पुगेको देखिँदैन।
करिब २ सय १३ वर्षअगाडि जर्मन वैज्ञानिक फ्रेडरिक सेर्ट्युर्नेरले अफिमको बोटबाट मर्फिन निकालेपछि वनस्पतिबाट औषधि उत्पादन गर्ने कार्य विश्वमा सुरु भयो । र, नेपालमा विश्वमा पाइने करिब दस प्रतिशत औषधिजन्य वनस्पति भए पनि हालसम्म त्यसबाट एउटा पनि नयाँ रासायनिक पदार्थ पत्ता लगाउन सकिएको छैन आफ्नै आन्तरिक साधन स्रोत प्रयोग गरेर । बजारमा पाइने तरकारी, फलफूल र महमा कीटनाशक औषधिको अवशेष र विषालु टक्सिन साथै दूध र मासुमा एन्टिबायोटिक्सको अवशेष भेटिएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । विदेशीले गरेको एक अर्को शोधअनुसार पाउरोटीलगायत खाद्यवस्तुमा एन्टिअक्सिडेन्टका रूपमा क्यान्सर गराउन सक्ने रसायन पोटासियम ब्रोमेट र पोटासियम आयोडेट प्रयोग गरेको पाइएको छ । तर नेपालमा यससम्बन्धी परीक्षण र अनुसन्धान भएको सुनिएको छैन । माथि उल्लिखित तथ्यका आधारमा भन्न सकिन्छ– नेपाली समाज आधुनिकतामा जबर्जस्ती प्रवेश गरेको छ विज्ञानलाई छाडेर । र, राज्यले रसायनशास्त्रको महत्व र आवश्यकता नबुझेका कारण आणविक रेडियोधर्मी विकिरण मापन गर्ने, वनस्पतीबाट औषधि निकाल्ने वा खाद्यवस्तुमा कुन विषालु पदार्थ कति परिणाममा छ सोको अनुसन्धान र परीक्षण हुन सकेको छैन।
रसायनशास्त्रको अनुसन्धानमा अमेरिका एक नम्बर, चीन दुई नम्बर र भारत पाँच नम्बरमा छन् तर नेपाल दक्षिण एसियामा सबैभन्दा तल अर्थात् १०२ औँ स्थानमा छ ।
हुन त रसायनशास्त्रको महत्व पहिलो पुस्ताले नबुझेको होइन । त्यसैले ५ दशकअगाडि त्रिभुवन विश्वविद्यालयले विज्ञानमा सबैभन्दा पहिला रसायनशास्त्रमा नै पढाइ सुरु गरेको थियो । तर पछि समयक्रम सँगै यसको विकास र विस्तार हुन सकेन देशमा । र, यसै सन्दर्भमा हालै त्रिवि रसायनशास्त्र केन्द्रीय शिक्षण विभागले स्थापनाको ५३ वर्ष मनायो । सो अवसरमा ८४ वर्षे पुराना प्राध्यापकदेखि २२ वर्षे नयाँ पुस्ताका विधार्थीसम्मले हाल त्रिविमा पढाइ हुने रसायनशास्त्र शिक्षा रोजगारीमूलक र गतिशील नभएको भन्दै तिखो असन्तुष्टि पोखे।
चार दशकभन्दा बढी विश्वविद्यालयमा रसायनशास्त्र अध्यापनमा संलग्न प्रा.डा. शिवप्रसाद धौभडेलको कथन थियो– ‘त्रिविमा पढाइ हुने रसायनशास्त्रले केवल प्लस टुका शिक्षक र विदेशीका लागि टिचिङ रिसर्च असिस्टेन्टमात्र उत्पादन गरिरहेको छ ।’ विधार्थी महेश काफ्ले प्रश्न गर्दै थिए– ‘हामी कहिलेसम्म टेस्टट्युब हल्लाएर बस्ने ? हाम्रा स्याम्पल कहिलेसम्म परीक्षणका लागि विदेश पठाउने ?’ विभागीय प्रमुख प्रा.डा. मेघराज पोखरेलले विज्ञासाहरूको प्रतिउत्तर दिए– राज्यले नै रसायनशास्त्रलाई उपेक्षा गरेको छ।
विडम्बना नै भन्नुपर्छ, त्रिविमा स्नातकोत्तर स्तरमा पढाइ सुरु भएको ५ दशक बिते पनि हालसम्म पुरानै अर्गानिक, इनअर्गानिक र फिजिकल केमेस्ट्रीमा मात्र पढाइ हुन्छ । रसायनशास्त्रका क्षेत्रमा यो दौरान विश्वमा अनुसन्धान र कितावी सैद्धान्तिक बुझाइमा धेरै परिवर्तन आए पनि नेपालमा शैक्षिक कार्यक्रममार्फत त्यसलाई आत्मसाथ गर्न सकिएको छैन । केमिकल बायोलोजी, बायोकेमेस्ट्री र एनालाइटिकल केमेस्ट्री जस्ता विषयमा हालसम्म त्रिविले नयाँ शैक्षिक कार्यक्रम सुरु गर्न सकेको छैन।
रसायनशास्त्रको अनुसन्धानमा अमेरिका एक नम्बर, चीन दुई नम्बर र भारत पाँच नम्बरमा छन् तर नेपाल दक्षिण एसियामा सबैभन्दा तल अर्थात् १०२ औँ स्थानमा छ । १४ प्रतिशत निर्यात रासायनिक पदार्थ गर्ने अमेरिकामा करिब ९ लाखभन्दा बढी मानिस रसायनशास्त्रसम्बन्धी रोजगारीमा छन् । आज भारतमा केमिकल उद्योगको कारोबार करिब १५५ बिलियन अमेरिकी डलर छ । तर नेपालमा सामान्यखालका केमिकल उद्योग पनि सञ्चालनमा आउन सकेका छैनन् । हाल भारतबाट करिब ३ अर्ब र चीनबाट १ अर्बको रासायनिक पदार्थ (केमिकल) आयात हुने गरेको छ नेपालमा ।
विगत दुई दशकदेखि रसायनशास्त्रमा नोवल पुरस्कार प्राप्त गर्नेको लिस्ट अध्ययन गर्दा आधाजसोले केमिकल बायोलोजी (जीवकोषभित्रको रसायनशास्त्र) मा पुरस्कार पाएको देखिन्छ । जस्तै सन् २०१५ मा रसायनशास्त्रतर्फको नोवल पुरस्कार जीवकोषभित्र ‘डिएनए रेप्लिकेसन’ हुने क्रममा हुने क्षति मर्मत गर्ने प्रक्रिया अध्ययनका लागि दिइयो । सन् २००९ मा उक्त पुरस्कार ‘जीवकोषभित्र डिएनएबाट प्रोटिन बन्न आवश्यक राइबोजोम’ को अध्ययनलाई प्रदान गरिएको थियो । त्यसैगरी सन् १९९७ मा यो पुरस्कार ‘कोषबाट रसायनिक पदार्थ आदान–प्रदान गर्न सहयोग पु¥याउने इन्जाइम’ सम्बन्धी अनुसन्धानलाई दिइएको थियो । तर नेपालमा रसायनशास्त्रका अधिकांश शिक्षक र विज्ञ नोवल पुरस्कार प्राप्त गरेको जस्तो अनुसन्धानलाई रसायनशास्त्र मान्न तयार छैनन् । उनीहरूको बुझाइ ‘रसायनशास्त्र भनेको जीवकोषबाहिर अर्थात् प्रयोगशालामा टेस्ट ट्युब र विकरमा गरिने रियाक्सन’ मा नै सीमित छ । उनीहरूले आधुनिक युगमा रसायनशास्त्रमा अनुसन्धानको दायरा कसरी विस्तार भएको छ त्यसलाई बुझ्न सकेको देखिएन।
शैक्षिक क्षेत्रको कमजोरी
त्रिविमा रसायनशास्त्र विषयको प्रयोगात्मक पाठ्यक्रम दशकौँदेखि परिवर्तन गरिएको छैन । अझ प्रयोगात्मक कक्षाको भयाबह स्थिति जो कोहीले सजिलै त्रिचन्द्र कलेजमा देख्न सक्छन् । त्रिचन्द्रको रसायनशास्त्र प्रयोगशालामा क्षमताभन्दा दसौँ गुणा विद्यार्थी देखिन्छन् । उक्त प्रयोगशालामा विद्यार्थीको जुलुस देखिन्छ । त्रिवि कीर्तिपुरस्थित रसायनशास्त्र केन्द्रीय शिक्षण विभागको प्रयोगशालामा त्यस्तो जुलुस नदेखिए पनि भएको संरचना पुरानो र कमजोर देखिन्छ।
घरमा प्रयोग गर्ने सिएफएल बल्बभित्र लिड हुने र त्यसलाई प्रयोगपछि उचित किसिमले डिज्पोज नगरेमा वातावरणमा लिड फैलिई मानिसको स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । हस्पिटलहरूमा मर्करी थर्मोमिटर फुटेर वातावरणमा पु¥याउने असरबारे पनि कसैको ध्यान गएको देखिँदैन । नेपालका आम हस्पिटलमा मर्करीको प्रदूषण विश्व स्वास्थ्य संगठनले तोकेको सीमाभन्दा धेरै उच्च छ । प्रयोगपछि सही किसिमले डिज्पोज नगर्दा मोबाइल फोन र त्यसको ब्याट्रीको लिड, क्याडमियमलगायतका पदार्थ वातावरणमा फैलिन्छ । त्यसबाहेक सावुन, पेन्ट, प्रेस र कपडा उद्योगमा प्रयोग हुने केमिकलबाट हुन सक्ने वातावरणीय असरलाई पनि नेपालमा खासै महत्व दिएको पाइँदैन । समस्या के हो भन्ने हालसम्म हाम्रा शिक्षण संस्थाले हरित रसायनशास्त्र (ग्रिन केमेस्ट्री) बारे खासै चासो दिएको पाइँदैन।
वास्तवमा हाम्रो जस्तो कम विकसित देशका विश्वविद्यालयहरूले शैक्षिक कार्यक्रम तय गर्दा अन्तर्राष्ट्रिय प्रचलन र देशको आवश्यकतालाई आत्मसात गर्नुपर्ने हो तर त्यसअनुसार विषयगत विज्ञहरूले काम गरेको देखिँदैन । जस्तै खाद्यलगायत जनस्वास्थ्यमा सरोकार हुने सामग्रीमा हुन सक्ने विषादी (रसायन) को परिणाम परीक्षण गर्न सक्ने जनशक्ति तयार गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो । र, त्यसका लागि टक्सिकोलोजी र एनालाइटिकल केमेस्ट्री (रसायन परीक्षण विधिशास्त्र) को पढाइमा जोड दिनुपर्छ । त्यसैगरी उपल्लो मुस्ताङ र डडेलधुरामा पाइएको भनिएको युरेनियम खोज गर्न र रेडियोधर्मी विकिरणको परीक्षण र मापन गर्न सक्ने आणविक रसायनशास्त्रीको आवश्यकता छ देशमा । यस विषयलाई मुख्यतः शैक्षिक संस्थाले सम्बोधन गर्नुपर्छ।
सुधारका उपाय
हाल रसायनसास्त्रको प्रयोग माइक्रोबायोलोजी, बायोटेक्नोलोजी, वनस्पतिशास्त्र, भूगर्भशास्त्र जस्ता विज्ञानका हरक्षेत्रमा हुन्छ । रसायनशास्त्र भनेको कुनै पनि पदार्थ के हो भनेर चिन्ने र त्यसको गुण पत्ता लगाउने विधा हो र यसको अध्ययनका लागि वैज्ञानिक उपकरणहरू आवश्यक हुन्छ । विगतमा विश्व बैंकको सहयोगमा त्रिवि रसायनशास्त्र विभागमा ६० मेगाहर्जको एनएमआर, एचपिएलसी, जिसी जस्ता उपकरण ल्याइयो तर विभिन्न कारणले तिनीहरू सञ्चालनमा आउन सकेनन् । दातृसंस्थाले काम देखाउन उपकरण त दिने तर सोको सञ्चालनमा आवश्यक पर्ने पूर्वाधार (प्रोटोकल) र दक्ष जनशक्तिको विकासमा सहयोग नगर्ने गरेको सुनियो । विदेशीले नेपाललाई कस्तो निकम्मा वस्तु दान दिन्छन् हेपेर भन्ने उदाहरण हो त्रिविमा रहेको ६० मेगाहर्जको एनएमआर । जसको प्रयोग विदेशमा हुन छाडेको दशकौँ भइसक्यो वैज्ञानिक अनुसन्धानमा । हाल विदेशी प्रयोगशालामा ५०० देखि ९०० मेगाहर्जको एनएमआर प्रयोगमा आइरहेको छ । त्यसैले रसायनशास्त्रमा आमूल परिवर्तन गर्न राज्यले तत्काल ५०० मेगाहर्जको एनएमआर, एलसी मासलगायत उपकरण जुटाउनुपर्छ ढिलो नगरी।
नेपालमा करिब दुई हजार औषधिजन्य वनस्पति भएको अनुमान छ । त्यसमध्ये करिब ५ प्रतिशतमा मात्र अनुसन्धान भएको बुझिन्छ । त्यस्ता वनस्पतिमा थप अनुसन्धान गरेर औषधि गुण भएका रासायनिक पदार्थ निकाल्न एनएमआर, एलसी मास जस्ता उपकरण आवश्यक पर्छ । र, यस्ता परियोजनाबाट रोजगारीका थप अवसर खुल्ने निश्चित छ ।
पुराना पाका प्राध्यापक धौभडेल र नयाँ युवा पिँढीले भनेअनुसार रसायनशास्त्र शिक्षालाई थप प्रतिस्पर्धी बनाउन शैक्षिक संस्थाहरूले हाल कायम पाठ्यक्रममा आमूल परिवर्तन गर्न आवश्यक छ । अन्तमा, रसायनशास्त्रको प्रतिफल विज्ञानका अन्य क्षेत्रमा हासिल गर्न समयमा नै निश्चित राष्ट्रिय कार्यक्रम तय गर्न आवश्यक छ।
प्रकाशित: २५ मंसिर २०७४ ०१:२७ सोमबार