७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

बिपी–महेन्द्र सम्बन्ध

यस वर्षको बिपी कोइराला जन्मजयन्तीमा अभूतपूर्व र अनौठो राजनीतिक दृश्य देखापर्यो। ‘पञ्चायतको बिरासत पार्टी’ भनेर पनि चिनिएको र पञ्चायतकालभरि नेपाली काँग्रेस र बिपी कोइरालालाई ‘अराष्ट्रिय तत्त्व’ देखि भएभरका दुष्प्रचार गरेका पञ्चहरूको रूपान्तरित संस्थागत संरचना, राष्ट्रिय प्रजातन्त्र पार्टीले भाद्र २४ गते बिपीको ११०औँ जन्मजयन्तीमा, उहाँले २०३३ सालमा प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप तथा एकता नीति’ बारे औपचारिक प्रवचन कार्यक्रम राख्यो। उसो भए अब के नयाँ पुस्ताले बिपीलाई चिन्न काँग्रेस इतिहासका अध्यायबाट होइन, राप्रपाको आँगनबाट गुञ्जेको आवाज सुन्नुपर्ने अवस्था आएको हो ?

राप्रपाले प्रस्तुत गरेको यो नौलो व्यवहार र बिपी विचारको व्यापकता देशभक्त र प्रजातन्त्रवादीहरूका लागि सुखद घटना मान्नुपर्छ। बिपीले स्थापना गरेको काँग्रेसले २४ भाद्रको दिन उहाँको राजनीतिक पक्षलाई छाडेर साहित्यिक पहिचान, ‘बिपी साहित्य महोत्सव’ आयोजना गरेको थियो। बिपीको राजनीतिक आयामउपर काँग्रेसले र उहाँको साहित्यिक व्यक्तित्वबारे कुनै प्रतिष्ठित राष्ट्रिय संस्थाले प्रवचन वा अन्तरक्रिया आयोजना गरेको भए अझ उपयुक्त हुने थियो। तर, काँग्रेसले बिपीको राजनीतिक योगदानबारे आफैँले कार्यक्रम आयोजना गर्ने हिम्मत देखाएन। बिपी विचारबाट पार्टी च्युत भएको यो पनि सांकेतिक यथार्थ हो।  

वस्तुतः गणतन्त्रवादी राष्ट्रिय राजनीति आज अत्यन्त अराजक र अस्थिर बनेर पतनोन्मुख हुँदैछ। आजको नेपाली काँग्रेसलाई व्यापकरूपमा लागेको सब भन्दा ठूलो आरोप हो, त्यो पार्टी बिपीका विचारलाई सिद्धान्तहीन र अराजकरूपले त्यागेर राजनीतिको नाङ्गो नाचमा सामेल भयो। यो काम अरूबाट नभएर उहाँकै भाइ गिरिजाप्रसाद कोइरालाले सुरु गरेका हुन्। प्रचण्डले गणतन्त्रतिर घिसार्दा त्यतै जान थालेपछि काँग्रेस ओरालो लाग्दै गएको जगजाहेर छ। यस्तो धृष्टतालाई शेरबहादुर देउवाको वर्तमान पालामा सुधार गर्नुको सट्टा झन् नाङ्गो रूप दिने काम भइरहेको छ।  

बिपीले सहज, अनुकूल र सुविधाजनक परिस्थिति पाएर राजतन्त्रको पक्षमा विश्लेषण र दिग्दर्शन गर्नुभएको होइन। २०२७ सालमा उहाँले स्वास्थ्योपचारका लागि विदेश जान पाउँ भनी निवेदन दिँदा उहाँलाई पासपोर्ट दिइएन। आफूमाथि लागेको संगीन आरोप र ज्यानको खतरासमेत बोकेका सातवटा मुद्दाबीच आठ वर्ष लामो निर्वासित जीवन त्यागेर स्वदेश फर्केपछि उहाँले अत्यन्त प्रतिकूल वातावरण सामना गर्नुपरेको थियो।  

आजको राजनीतिमा बिपीको विचार र दृढ आस्था एकातिर रह्यो। वास्तवमा बिपीका विचार काँग्रेसले त्यागे पनि त्यसको शाश्वत सत्य र राष्ट्रिय आवश्यकताले गर्दा अन्य पार्टीमा प्रभावकारी र प्रेरणादायी चिन्तनका रूपमा फैलिँदै गयो। अर्कातिर सिद्धान्तसँग सत्ता वा प्रधानमन्त्री पद साट्ने एकसूत्रीय खेलमा काँग्रेस लागेको कारण उसमा सैद्धान्तिक दिवालियापन देखापरेकोमा विवाद रहेन। यो कुनै आरोप वा दुराग्रह होइन, काँग्रेसको नीतिगत दुर्दशाको विस्मयकारी चित्रण हो।  

प्रचण्डले गणतन्त्रतिर घिसार्दा त्यतै जान थालेपछि काँग्रेस ओरालो लाग्दै गएको जगजाहेर छ। यस्तो धृष्टतालाई शेरबहादुर देउवाको वर्तमान पालामा सुधार गर्नुको सट्टा झन् नाङ्गो रूप दिने काम भइरहेको छ।  

नेपालको इतिहासमा राजाहरूमध्ये महेन्द्रको स्थान, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहपछि विशिष्ठरूपमा आउने गरेको छ। राष्ट्रियता सम्बद्र्धन गर्न, मुलुकको विकास र भलाइ प्रभावकारी कानुन र सबल संस्थाको स्थापनाबाट मात्र सम्भव छ भन्ने उहाँको विश्वासले संस्था र कानुनको आधारमा आधुनिक प्रशासन र उन्नतिमा जोड दिन, अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रभावकारी भूमिका, इज्जत र प्रतिष्ठा वृद्धि गर्नमा उहाँले पु¥याएको योगदानलाई मुलुकप्रेमी कसैले पनि उपेक्षा गर्न सक्दैन। ती राजामा केही गर्ने अठोट, आँट र उद्देश्य थियो। ती उद्देश्यले धेरै हदसम्म मूर्त रूप पाएको पनि हो। मुलुकलाई सबल, सक्षम र समृद्ध बनाउनका लागि संस्था र कानुन अनिवार्य आधार हो भन्ने भारतीय स्वतन्त्रता संग्रामपछिको भोगाइ र अनुभवबाट भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले शिक्षा लिएका थिए। भारतको त्यो अनुभवलाई महेन्द्रकालीन नेपालले पनि मनासिव ठहराएर आत्मसात गरेको देखिन्छ।  

अर्कातिर, नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री, जननायक बिपी कोइरालामा राष्ट्रियताको सम्बद्र्धन र प्रजातन्त्रको संस्थागत सुदृढीकरण गर्ने, विकासका पूर्वाधार निर्माणमा सर्वाधिक प्राथमिकता दिने, शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका साथै १५ वर्षभित्रमा सबै नेपालीलाई आफूजस्तै मध्यमवर्गीय आर्थिक हैसियतमा सशक्तीकरण गर्ने, प्रशासनिक सुधार, न्याय व्यवस्थाको उच्च प्रभावकारिता तथा कानुनी राजको स्थापना र अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रभावकारी भूमिका बढाउने, छिमेकीसँग सीमा समस्या सदाका लागि हल गर्ने र सन्तुलित छिमेकी सम्बन्ध कायम गर्ने, नेपाललाई एक स्वाभिमानी र आत्मनिर्भर राष्ट्र बनाउने दिशामा दृढप्रतिज्ञ भएको देखिन्थ्यो। काम सुरु भएका थिए।

१० वर्षे नरसंहार, सांघातिक हमला, अंगभंग तथा घाइते, अपहरण, लुटपाटलाई नेतृत्व गरेर सत्तामा पुगेका वर्तमान प्रधानमन्त्री आज लाखौँ जनतालाई सडकमा उतारेर आन्दोलन मच्चाउने र ‘इँटको जवाफ ढुंगाले देऊ’ भनेर हिंसा वा अपराधलाई सार्वजनिक रूपमा किन उक्साइरहेका छन् ?  

राजा महेन्द्र र प्रधानमन्त्री बिपी कोइरालाबीच व्यक्तिगत सम्बन्ध पनि राम्रो थियो भनी बिपीले आत्मवृतान्तमा उल्लेख गर्नुभएको छ। बिपी कैयौँपटक तत्कालीन राजपरिवारको सम्मानित पाहुना भएर राजदरबारमा बसेको विवरण आत्मवृतान्तमा आउँछ। शदियौँ लामो इतिहास बनाएर टिकेको र यो मुलुक टिकाएको राजसंस्था र नेपालको इतिहासमा नेपाली जनताको मत, तत्कालीन संविधान र राजसंस्थाको आधारमा प्रधानमन्त्री बनेका बिपी जनताको शक्ति वा प्रजातन्त्रको प्रतीक भएर काम गर्न थाल्दा राजतन्त्र र प्रजातन्त्रबीच द्वन्द्व निम्त्याउने र त्यसको महँगो मूल्य देशवासीले चुकाउनुपर्ने परिस्थिति कसरी उत्पन्न भयो ? यो प्रश्न आजसम्म अनुत्तरित नै छ।

विदेशमा उपचारका लागि राहदानी पाउन बिन्तीपत्र हाल्दा पनि नपाएका बिपीले राजतन्त्रको अपरिहार्यता देख्नुपर्ने के थियो ? आठ वर्ष जेल, त्यति नै निर्वासित जीवन बिताउनुपरे पनि बिपी, गणेशमान सिंह, सुवर्णशमशेर जस्ता नेताले राजसंस्थाको आवश्यकता, सान्दर्भिकता र औचित्यउपर कहिल्यै पुनर्विचार गरेनन्। २०१६ सालमा जननिर्वाचित प्रतिनिधिसभा (संसद्) को सभामुख बनेका कृष्णप्रसाद भट्टराई (किसुनजी) ले १६ वर्ष जेल बस्दा पनि राजतन्त्रको विरोध गर्ने बाटो नलिएको र काँग्रेसले गणतन्त्रको बाटो लिएपछि आफूले स्थापना गरेको सो पार्टी नै परित्याग गर्नुपछाडि के कारण थियो ? आफैँले ल्याएको गणतन्त्रका यी दिनमा आज तिनै पार्टीहरूविरुद्ध मेचीदेखि महाकालीसम्मका जनताको आक्रोश किन चुलियो ?

२०१७ सालमा राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री, संसद र पार्टीहरूलाई धोका दिएर ऐतिहासिक गल्ती गरेकै हुन्। महेन्द्र जस्तो राजा र बिपी जस्तो प्रधानमन्त्री मुलुकले पाएको बेला मेलमिलाप र समझदारीको आधारमा एकसाथ चलेको भए आजसम्ममा नेपालको अवस्था धेरै विकसित भइसकेको हुने थियो। परिवर्तनका नाममा आज देखापरेका गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता चरम विकृति र विसंगतिले स्थान पाउने कल्पना पनि हुने थिएन।  

१० वर्षे नरसंहार, सांघातिक हमला, अंगभंग तथा घाइते, अपहरण, लुटपाटलाई नेतृत्व गरेर सत्तामा पुगेका वर्तमान प्रधानमन्त्री आज लाखौँ जनतालाई सडकमा उतारेर आन्दोलन मच्चाउने र ‘इँटको जवाफ ढुङ्गाले देऊ’ भनेर हिंसा वा अपराधलाई सार्वजनिकरूपमा किन उक्साइरहेका छन् ? राजनीतिक दलहरूले स्वयं सच्चिने कि जनघृणाले सक्किने ? यो कठोर छनोटको अवस्था आज आएको देखिन्छ। बिपीको मेलमिलाप नीतिबाट राप्रपा प्रभावित र प्रेरित भएको पुष्टि भयो। बिपी विचार त्यागेर काँग्रेसले कुन प्रतिष्ठा, कुन इतिहास, कुनै लोकप्रियता जित्न खोजेको हो ? जवाफ  अनिवार्य छ।  

प्रकाशित: २८ भाद्र २०८० ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App