१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

तीज गीत हिँडेको बाटो

परम्परादेखि चलिआएको रीतिरिवाज र मान्यतालाई निरन्तरता दिएका कारण नै हाम।ा  संस्कृति र चाडपर्वले आफ्नो पहिचान दिने गरेका छन्। आफ्नो पहिचान नमेटियोस् भन्ने चाहनाले गर्दा नै हरेक समाज आफ्नो संस्कृतिको जगेर्ना गर्न तत्पर रहन्छ। हुनत रीतिरिवाज र मान्यता कसैले बनाएका मापन हुन्। त्यसकै आधारमा परम्परा चलिआएको छ। यी रीतिरिवाज सतप्रतिशत सही नहुन पनि सक्छन् तर सही के अर्थमा छैनन् त त्यो छुट्टयाउन नसकी गलत साबित गर्न पनि सकिन्न। त्यसैले मानव सभ्यतामा जे जस्ता परम्परा चल्दै आए त्यसको पछाडि वैैज्ञानिक, व्यावहारिक एवं मनोवैज्ञानिक कारण अवश्य छिपेका छन्। त्यसैले नेपाल भन्नासाथ विविध भाषा, संस्कृति, धर्म, चाडपर्व र कलाले परिपूर्ण राष्ट्र तर विविधतामा एकता र धार्मिक सहिष्णुता कायम रहेको राष्ट्र भनेर परिचित छ। यही आस्था र उच्च भावनाको परिणाम हो हाम्रा चाडपर्व र तिनमा पनि महिलाको एक महत्वपूर्ण चाड मानिने तीज।

जति समाजमा आधुनिकीकरण, विज्ञान र प्रविधिको विकास सँगसँगै नयाँ किसिमका स्रोत र साधनको सहजीकरण हुन थाल्दछ त्यति नै विकृति र विसंगति मौलाउँदै जाँदा रहेछन्, यो तथ्य प्रस्ट भइसकेको छ। त्यसैले त महिलाको चाड तीज पनि अब रकमा जम्दै छ रे। हिजोका महिलाले मनाउने तीज र आजका महिलाले मनाउने तीजको शैली, पहिरन, भोजन, तीजे भाका र संवेदनामा फरकपना पाइन थालेको छ।

तीजका खाजा मीठा पोलेका तामाले

भाइलाई लिन पठाइनन् किन आमाले

तीज आयो भन्छन् सबै माइत जान्छन्

मै छोरी अभागिनी कसका माइत जाऊँ,

भित्र बाहिर गरे पनि रुचाउँदिनन् सासूले

रुँदा रुँदै पछ्यौरी भिज्यो आँसुले

जस्ता मौलिक भाका र रचना अहिलेका सहरिया महिलाको निम्ति उपयुक्त नहोलान् तर मौलिकता, मर्यादा र संवेदना छिपेका हुन्छन् यस्ता भाकामा। महिलाकै चाड भएको र वर्ष दिनमा आउने यो चाडमा बिहेगरी कर्मघर गएका चेलीहरू माइतीघरमा जम्मा भएर आफ्ना गुम्सिएका भावना तीजे भाकाका माध्यमबाट छताछुल्ल रूपमा प्रकट गर्ने एउटा अवसर थियो तीज। तर आधुनिकीकरण र देखासिकीका क्रममा तीज अब मौलिकताबाट रकमा जम्ने भएको छ।

फेरि पनि आयो तीज खुसीयाली बोकेर

कति बसँू मनको रहर मनमै रोकेर

सबै चेली जम्मा भई तीजका गीत गाउने हो

यसपालिको तीजमा रातो सारी लाउने हो

भन्ने भावना अब रक भएर :

ओए शिव शम्भो,

लामो साडी लगाउँदा जिउमा गरम भो,

 नलगाउँदा झनै सरम भो...

आजकालका तीज गीत उच्छृंखल देखिन्छन्। छोटो पहिरन लगाएर, डिस्को छिरेर अनि वाइन पिएर मात्र महिला स्वतन्त्र र सक्षम हुन सक्छन् र? समय, परिस्थिति र आवश्यकताअनुसार समाज आफैँमा बिस्तारै परिवर्तन हुँदै छ। पहिरनले मर्यादा, अनुशासन, व्यक्तित्व र नैतिकताको परिचय दिन्छ। समय र परिस्थितिअनुसार आफूलाई सहज हुने पहिरनको प्रयोग गर्न आजका महिलाले जानेका छन्, गरिरहेका छन् र हिजोका महिलाले पनि आफ्नो मर्यादा र सहजतालाई ख्याल गरेरै पहिरनको प्रयोग गर्थे। तर आजकल तीजे भाकाको नाममा यस्ता अश्लील संगीत, भाका र शैलीलाई परम्परा तोडेर नयाँ शैलीको विकास भन्ने नाम दिई, प्रश्रय दिन थालिएको छ भने यसले महिला वर्गको अस्तित्व र समाजको मर्यादालाई कतातिर लैजाला?

 हिजोका महिलाहरू रातो पहिरन र शृंगारलाई आफ्नो सुहागन, शौभाग्य र पे्रमको प्रतीक मान्थे भने आजका आधुनिक महिलाहरू पहिरनलाई फेसनका रूपमा मात्र हेर्न थालेका छन्। सुतीको रातो सारी, सिन्दुर, पोते र साधारण चुरामा देखिने सुन्दरताले पूर्ण हिजोका हामी आमाहरू, सक्कली हुन् या नक्कली झपक्क गहना, लाखौँ पर्ने लेहेंगा र सारी लगाएका आजका महिलाहरूलाई माथ गरेकै हुन्छन्। किनभने, सुन्दरता पहिरनमा होइन मौलिकतामा झल्किन्छ। चाडपर्वको महत्व महँगीमा होइन, भावनामा खोजिन्छ। तीजका भाकाले महिलाका मौलिक रचना र सृजनालाई प्रस्तुत गर्न खोजेका हुन्छन्। तर रकमा जम्ने भन्दै खुलेआम, गर्वका साथ आधुनिक तीजे भाकाका रूपमा प्रस्तुत हुने गरेका छाडापन र उच्छृंखलताको पराकाष्ठालाई रुचाउनेको संख्या बढ्दै गएको हो त समाजमा? सकारात्मक परिवर्तनको अर्थ कता गयो? परिवर्तनको नाम नै छाडापन हो त? समाज, सञ्चारमाध्यम र सरोकारवालाले कुन हिसाबबाट यस्ता कुराहरूलाई अगाडि ल्याउन खोजेका हुन्?

हाम्रा महिलाहरू भडि्कलो संस्कृतिमा जानी नजानी फसिरहेका छन्। तीज पर्वमा आयोजित कार्यक्रमममा महिलाको सहभागिता, उनीहरूको पहिरन, गरगहनाले प्रस्ट पारिदिएको हुन्छ, महिलाहरूले आवश्यक भएर, पुगेर गरेका हुन् या अरूको अगाडि देखासिकीको बाध्यताले? पुगे राम्रो लगाउने, मीठो खाने मानव स्वभाव नै हो तर अहिले देखासिकीकै लागि भडि्कलो बन्दैछन् महिलाहरू। हामीले नै हाम्रो संस्कृतिलाई कतातिर धकेलिरहेका छौँ, त्यो छुट्टयाउन नसकेर पनि होला आधुनिकताले महिलालाई मौलिक पहिचानको तीज पर्वबाट भडि्कलो पर्वतिर रूपान्तरण गर्दैछन्। आजकाल नजानिँदो गरी तडकभडक भित्रिएको छ, महिलाहरूमा। नजानिँदो प्रतिस्पर्धा र अनुशरणले आफ्नो संस्कृति, स्वभाव र पहिचानभन्दा टाढा पुगेका त छैनौँ?

प्रकाशित: ८ भाद्र २०७४ ०५:०२ बिहीबार

तीज गीत हिँडेको बाटो