१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

ड्रग्सको दलदल

फाइल स्केच

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार विश्वमा ३ करोड ५० लाख भन्दा बढी व्यक्ति लागु औषधको लतमा परेका छन् भने २८ करोड भन्दा बढी व्यक्तिले विभिन्नरूपमा साइकोएक्टिभ ड्रग्स सेवन गर्ने गर्छन्। कतिपय अध्ययनले त विश्वमा साइकोएक्टिभ ड्रग्स सेवन गर्नेको संख्या ३५ करोड भन्दा बढी भएको तथ्य सार्वजनिक गरेका छन्। यसले अहिले विश्वमा लागु औषधको सेवन, दुरूपयोग तथा अवैध तस्करीको तस्बिर निकै भयाबह देखिन्छ।  

हो, ड्रग्स अर्थात औषधि जीवनदायी पदार्थ हो। उचित औषधिले रोग रोकथाम गर्ने, रोग नियन्त्रण गर्ने तथा रोगबाट बिरामीलाई मुक्त गरी उसको ज्यान बचाउँछ। तर यही औषधि दुरूपयोग भयो भने मानिस ड्रग्सको दलदलमा फस्ने मात्र होइन, अकालमै जीवन स्वाहा हुन सक्छ।  

हिजोआज विश्वमा ड्रग्सको उपयोग–दुरूपयोग दुई तरिकाले हुने गरेको छ। एक, रोगोपचारका लागि। र, अर्को नशाका लागि। रोगोपचारको नाममा पनि ड्रग्सको दुरूपयोग भैरहेको छ। खासगरी मानसिक रोगोपचारका लागि निर्मित औषधिहरू निकै दुरूपयोग हुने गरेको छ। लागु औषध दुव्र्यसनीले मात्र होइन कि स्वयं रोगोपचारका लागि औषधि प्रेस्क्रिप्सनको अधिकार पाएका कतिपय चिकित्सकले समेत कतिपय अवस्थामा प्रत्यक्ष-परोक्षरूपमा औषधिहरूको दुरूपयोग गर्ने गरेका छन्।  

जाँड-रक्सीले शारीरिक, पारिवारिक तथा सामाजिक दुष्परिणामहरू ल्याउँछ। पारिवारिक तथा सामाजिक कलह तथा घरेलु हिंसाको प्रमुख कारण जाँड-रक्सी नै हो।

दुव्र्यसनीले नशाका लागि त कतिपय चिकित्सकले पैसा (कमिसन) का लागि औषधिको दुरूपयोग गरेको पाइन्छ। चिकित्सकको अदक्षताका कारण पनि औषधिको दुरूपयोग हुने गरेको छ। रुघा भाइरसका कारण हुने एक आमरोग हो। तर यस रोगको उपचारका लागि अधिकांश चिकित्सकले सिटामोल, एन्टिकोल्डका साथै ५०० एमजीको एन्टिबायोटिक औषधिहरू समेत दिने गरेको पाइन्छ। यो औषधि दुरूपयोगको सानो उदाहरण हो।  

लागु औषधको इतिहास हेर्ने हो भने विश्वभरि प्राचीनकालदेखि नै नशाका लागि देश र समाजअनुसार थरीथरीका लागु पदार्थ तथा औषधि सेवन गर्ने गरेको देखिन्छ। बिँडी–चुरोट, सुर्ती–खैनी जस्ता सूर्तीजन्य पदार्थहरू, बियर, ह्विस्की, भोड्का, जिन, ब्रान्डी तथा घरेलु जाँड-रक्सीलाई त नेपाली समाजले सामान्यरूपमा लिन्छ। साधारणतया यस्ता पदार्थ सेवन गर्न कुनै रोकटोक छैन। त्यसैले खुलेआम यस्ता नशालु पदार्थहरूको सेवन भैरहेको छ।  

तर कानुनले बेचबिखन गर्न छूट दिएको जाँड-रक्सी पनि निकै हानिकारक छ। जाँड-रक्सीले शारीरिक, पारिवारिक तथा सामाजिक दुष्परिणामहरू ल्याउँछ। पारिवारिक तथा सामाजिक कलह तथा घरेलु हिंसाको प्रमुख कारण जाँड-रक्सी हो। स्वास्थ्यमा जाँड-रक्सीको कुप्रभाव त कहालीलाग्दो छ। जाँड-रक्सीको कुलतमा फसेका अधिकांश मानिस कलेजोको रोगबाट छिट्टै मृत्युको मुखमा पुग्छन्। जाँड-रक्सीले कलेजोलगायत शरीरका अनेक अंगमाथि कुप्रभाव पार्छ। मानिसको स्मरण शक्ति कम हुने एक प्रमुख कारण मद्यपान हो।

कतिपय दुव्यर्सनीले अन्य औषधि, जस्तै– एविल, फिनारगन तथा डायजिपाम आदिका साथमा मिसाएर मासु तथा नशामा लगाउने गर्छन्। यस्तो नशा ज्यादै खतरनाक मानिन्छ। 

नेपालमा दुव्यर्सनीको संसार जाँड-रक्सीमा मात्र सीमित छैन। नेपालका दुव्यर्सनीहरूले गाँजा, चरेस, अफिम, हेरोइन जस्ता नशालु पदार्थका साथै डायजिपाम, बेनजोडायजिपाम, नाइट्रोजिपाम, एलपराजोलम, प्रोक्सिवान, स्पाजमोवोन, लोमोटिल, एम्फेटामिन, कोडिन, कारेक्स तथा फेन्सिडील जस्ता औषधि नशाका रूपमा दुरूपयोग गर्दै आएको देखिन्छ। यसैगरी मोरफिन, नोरकिन, टिडिजैसिक, फोर्टविन आदिलाई इन्जेक्सनका रूपमा प्रयोग गर्छन्। कतिपय दुव्यर्सनीले अन्य औषधि, जस्तै– एविल, फिनारगन तथा डायजिपाम आदिका साथमा मिसाएर मासु तथा नशामा लगाउने गर्छन्। यस्तो नशा ज्यादै खतरनाक मानिन्छ। यदि दुव्यर्सनमा परेकाले एउटै सुई वा सिरिन्ज आपसमा मिलेर प्रयोग गरेको खण्डमा एड्स तथा हेपेटाइटिस जस्ता खतरनाक रोगहरूको सिकार हुन सक्छन्। यसका अतिरिक्त यस्ता व्यक्तिलाई संक्रमण, घाउखटिरा, नसामा रगत जम्ने समस्या, जन्डिस, टिबी, किड्नी र मुटुका रोग हुन सक्छन्।  

रोगोपचारका नाममा अनावश्यक औषधिहरू तथा आवश्यक औषधिहरू पनि नियमितरूपमा लामो समयसम्म सेवन गर्नु निकै हानिकारक हुन्छ। त्यसैले रोगोपचारका क्रममा चिकित्सकसँग औषधिका बारेमा उचित छलफल गर्नु बिरामी (उपभोक्ता) को अधिकार हो। चिकित्सकले पनि कमिसन लोभमा फसेर बिरामीहरूलाई अनावश्यकरूपमा औषधिमा निर्भर बनाउनुहँदैन। त्यो किनभने चिकित्सकप्रति बिरामीहरूको ठूलो आशा र भरोसा हुन्छ, एक अर्थमा चिकित्सक बिरामीको भगवान नै हो। त्यसैले हिप्पोक्रेटिज शपथ लिएका चिकित्सकले लोभ–लालचमा नफसेर इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मानिसका अधिकांश रोग त चिकित्सकको तार्किक र ओजपूर्ण कुराकानीबाट ठीक हुन सक्छन्। कुराकानीबाट नै ठीक हुने रोगका लागि फेरि औषधि सिफारिस गर्नुपर्ने कुनै कारण हुँदैन।  

यहाँ उल्लेखनीय कुरा के भने लगातार लामो समयसम्म सामान्य प्रकारका औषधि खाइरहने हो भने त्यसले पनि लती बनाउँछ। यस्तो एडिक्सनबाट मुक्त हुन पनि निकै गाह्रो छ। त्यसैले त साइक्याट्रिक औषधि सेवन गर्नेले मात्र होइन, एन्टाएसिड खाने व्यक्तिहरूले समेत औषधि छाड्न चाहेर पनि छाड्न सक्दैनन्।  

यस्तो किन हुन्छ? किन मानिसले ड्रग्स छाड्न सक्दैनन्? यसका लागि मानिसको मनोविज्ञानले कसरी काम गर्दछ भन्ने कुरा बुझ्नुपर्छ। ड्रग्स सेवनले हानि गर्दछ, यसलाई छाड्न पर्छ भन्ने दुव्र्यसनीलाई ज्ञात भएपछि उसले छाड्न खोज्छ, तब बिथड्रवल लक्षणहरू देखापर्छ, ऊ आत्तिन्छ, बैचन हुन्छ, ऊसँग बिथड्रवल लक्षणहरूविरुद्ध लड्ने वा सुरक्षित रहने दुई विकल्प हुन्छ, अनि उसले सुरक्षित रहने विकल्प नै रोज्छ र पुनः ड्रग्स सेवन गर्दछ। ड्रग्स सेवन गरेपछि बिथड्रवल लक्षणहरू हराउँछन् अनि उसले आनन्द महसुस गर्दछ। यो चक्र चलिरहन्छ, अनि ऊ ड्रग्सको दलदलमा फस्दै जान्छ।  

अतः दुर्व्यसन एक मनोवैज्ञानिक समस्या हो। त्यसैको उपचार पनि मनोवैज्ञानिक ढंगबाट हुन जरुरी छ। उचित उपचार तथा पारिवारिक सहयोग पाएको खण्डमा दुव्र्यसनी सामान्य अवस्थामा फर्कन सक्छन्। कतिपय यस्ता दुर्व्यसनी पर्याप्त पारिवारिक सहयोग पाएको खण्डमा आफैँ पनि ठीक हुने गरेका प्रशस्त उदाहरण छन्।  

अन्तमा, लागु पदार्थको लतले युवा शक्तिलाई भ्रष्ट र नष्ट पार्छ। युवा शक्ति भ्रष्ट र नष्ट भएको देश खोक्रो हुन्छ। त्यसैले सरकारले तुरुन्त लागु औषधको अवैध ओसारपसार र दुव्र्यसन रोक्न तुरुन्त ठोस कार्यक्रमहरू लिएर आउनुपर्छ। मजबुत कानुन बनाएर त्यसलाई प्रभावकारीरूपमा लागु गर्नुपर्छ। विद्यालयदेखि विद्यार्थीलाई ड्रग्सका दुष्परिणामका बारेमा उचित शिक्षा दिनुपर्छ। अनि दुव्र्यसनमा फसेकाहरूलाई उचित उपचारको व्यवस्था मिलाउनुपर्छ। यस कार्यलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ। अनि मूल कुरा हरेक किशोर-किशोरी तथा युवाहरू लागु औषधप्रति समयमै सचेत हुनुपर्छ र ड्रग्सको नशामा होइन कि जीवनको लक्ष्य बनाइ लक्ष्यको नशामा डुब्नुपर्छ। यदि तपाईँ ड्रग्सको नशामा डुब्नुभयो भने यो अमूल्य जीवन नष्ट हुन्छ, लक्ष्यको नशामा डुब्नुभयो सफलताको शिखरमा झण्डा गाड्नुहुन्छ।

(साइकोथेरापिस्ट) 

प्रकाशित: १२ असार २०८० ००:४८ मंगलबार

ड्रग्सको दलदल दुव्यर्सनी साइकोएक्टिभ ड्रग्स सेवन