युरोप, अमेरिका र यसका आसेपासे देश सामुयल पि. हन्टिङ्टनको ‘क्लासेज अफ सिभिलाइजेसन' अर्थात सभ्यताको संघर्ष र एसियाली मुलुकहरू ‘इकोनोमिक सिभिलाइजेसन' अर्थात आर्थिक सभ्यता लिएर बढिरहेका छन्। यी दुवै भिन्न गन्तव्य हुन्। पहिलो टोली अरु विकसित देशलाई मानव अधिकार दिलाउने नाममा देशको विभाजनदेखि लिएर आमनरसंभार गर्दैछन् भने दोस्रो टोली सबैको कल्याण होस् भनेर उद्योग व्यापारको विस्तारमा लागेका छन्। दोस्रो टोलीले मानव अधिकारको बम गोला बोकेर हिँडेको छैन। उदाहरणका लागि अब युरोपको आर्थिक अवस्था ओरालो लाग्दो छ भने संयुक्त राज्य अमेरिका संसारको सबैभन्दा ठूलो ऋण बोक्ने देश बनेको छ। यता एसिया महादेश पैसा फल्ने थलो बन्दैछ। तसर्थ, पश्चिमालाई यो तथ्यले पोलेको छ। दोस्रो विश्व युद्धसम्म पश्चिमाले प्रत्यक्षरूपले गरिब देशमाथि उपनिवेश चलाए भने हाल आएर अर्को रूप लिई गरिब देशमाथि मानव अधिकार नामको ‘सुनको बम' पड्काउन थालेका छन् अर्थात सुन्नमा अति राम्रो नाम भएको अभियान जसबाट गरिब देशको समाज, धर्म, संस्कृति, एकता, भूगोल, भाषा, शिक्षा, आदिवासी अधिकार, जनजाति अधिकारका नाममा अरु देशको स्रोत साधन लुट्ने काम भइरहेको छ। हालैको मात्र दृष्टान्त पेश गर्ने हो भने युरोप र अमेरिका मिलेर इराकमा मानव अधिकार दिलाउने नाममा सद्दाम हुसेन मारे, इराक धुजाधुजा बन्यो, हजारौँ इराकी मरिसके, करोडौं करोड अप्रवासी बने। त्यसैगरी धनी र स्थापित देश लिबियामा त्यही टोली मानव अधिकार बाँड्न पुग्यो। हमला गरे। कर्नेल कदाफी मारे, लिबिया ध्वस्त पारे, त्यहाँ क्रिस्चियन धर्म फैलाइँदैछ। हजारौं लिबियन मरे। लाखौं लाख अप्रवासी बनेका छन्। हाल सिरियामा भइरहेको नरसंहार र भौगोलिक विखण्डन पनि यसैको क्रमिकता हो।
तराईका पत्रकार, वकिल, युवालाई भड्काउने, नेपालस्थित कूटनीतिक नियोगहरूमा बोलाएर स्यावासी दिने, पृथकतावादीलाई उचाल्ने पहल, प्रयास र सहयोगका लागि पश्चिमा मुलुकलाई लाज लाग्नैपर्छ।
यी बलिया शक्तिको मुख्य दुईवटा उद्देश्यमध्ये पहिलो– संसारमै एउटै अर्थात क्रिश्चियन धर्म कामय गराउनु हो। अर्को उद्देश्य भनेको पूर्विया देश अर्थात एसिया महादेशको स्रोत/साधन कब्जा गर्नु। उक्त दुवै उद्देश्य प्राप्तिीका लागि उनीहरूले गरिब देशका प्राज्ञ, विज्ञ, कर्मचारी, राजनीतिक नेतालाई किनेर ‘फिफ्थ कलोमिस्ट' बनाएर तिनको माध्यमबाट राष्ट्रिय एकता टुक्राउनु रहेको छ। तर यो नयाँ रणनीति भने होइन। डिभाइड एन्ड रुलको उद्देश्य लागु भएको दोस्रो विश्व युद्धअगाडिदेखि नै हो। तर तरिकामात्र फरक हो। अन्ततः एसिया महादेशको समाज र अर्थतन्त्रलाई भताभुङ्ग पारेर फेरि युरोपकै दासतामा एसिया र अफ्रिकालाई फर्काउने ग्रान्ड डिजाइन हो यो। यसबाट नेपाल पृथक रहन सक्तैन। किनकि नेपाली भूगोल विश्व शक्तिका लागि अति नै महत्वपूर्ण स्थानमा छ। यहाँ अड्डा जमाउन सक्ने शक्ति राष्ट्रले भारत र चीनविरुद्ध सजिलैसँग आफ्ना खिचडी पकाउन सक्तछन्। अनि फ्रि तिब्बत मुभमेन्ट चर्काउन सक्छन्। त्योभन्दा ठूलो कुरो नेपालका धेरैजसो प्राज्ञ, विज्ञ, नेता भनौदाहरू एक छाक भातमा पनि आफ्नो राष्ट्रियता बेच्न सक्छन्। यो देशमा ‘फिफ्थ कलोमिस्ट' बनाउन सस्तो छ। नेपालको भूमि ऊर्वर छ। त्यसैले पश्चिमाले जरो गाडेका हुन्।
अर्को सत्यता के हो भने पश्चिमाहरूले इसाई धर्मको उपनिवेश बनाउनुपर्यो भने र गरिब देश बिगार्न पर्यो भने विकास होइन ‘मानव अधिकार' नामको सुनको बम ल्याइदिन्छन्। त्यो ‘प्यानाडुरा बक्स' बाट जात–जात, क्षेत्र–क्षेत्र, धर्म–धर्मबीच काटमार चलाउँछन्। जातीय संभार हुन्छ। अन्तमा, संयुक्त राष्ट्रसंघको नामबाट शन्ति सेना पठाइन्छ। फेरि ती देशमा तिनै गोरा छालाले क्रिस्चियानिटी बढाउने काम गर्छन्। वर्षौसम्म त्यो देश तिनै गोराको पकडभित्र पार्छन् र उनीहरूको मोडेलमा त्यो समाज, धर्म तयार भएपछि मात्र शान्ति सेना हटाउँछन्। अर्को शब्दमा भन्नुपर्दा शीतयुद्धकालीन संसार भत्केपछि धेरै हदमा संयुक्त राष्ट्रसंघमार्फत शक्ति राष्ट्रहरूले आफ्नो उपनिवेश फैलाएका छन्। ज्वलन्त उदाहरण युनाइटेड नेसन मिसन इन नेपालको नाममा त्यसका प्रमुख इयान मार्टिनले नेपालमाथि के के जालसाजी गर्न खोजे, नेपालमा कुन जातिलाई उचाले, कसलाई पछारे, अनि मानव अधिकारको नाममा उनले र उनीपछिका प्रमुख करिन ल्यान्डग्रेनले पनि नेपालमा के के आतंक ल्याउन खोजिन् भन्ने जगजाहेर नै छ। त्योभन्दा पनि संगिन कुरा बेलायतका मन्त्री काठमाडौं आर्लेर सिधै मेची अञ्चलको पहाडि जिल्ला पुगेर उनले जातीय राज्य मागे भने त्यही देशका राजदूतले नेपालको संविधानभित्रै इसाई धर्मको स्थान हुनुपर्ने वक्तव्य दिए। ती सबैको मूल उद्देश्य भनेको विश्वलाई एउटै धर्मभित्र पोको पारेर भ्याटिकनका पोपलाई नेपालको पनि बडा गुरुजु बनाउनु थियो र हाल पनि सोही नीति कायमै छ।
विश्वका मानव अधिकारका जननी भनिने पश्चिमा र तिनले उचालेको संयुक्त राष्ट्रसंघले समेत इराकमाथि सद्दाम हुसेनविरुद्ध दोस्रोपटक हमला गर्दा अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीले विश्वलाई घात गरेका थिए। इराकमा नभएको एनबिसी (न्युक्लियर, बाइलोजिकल, केमिकल) वेयन छ भन्ने झुटा समाचार बनाएर संयुक्त राष्ट्रसंघले पूर्णरूपले निषेध गरेको अवस्थामा बुस र टोनी ब्लेयर मिलेर इराक ध्वस्त पारे। लाखौ मारे। संयुक्त राष्ट्रसंघ हेरेर बस्यो। उदाहरणका लागि प्रथम विश्व युद्धपछि लिग अफ नेसन स्थापना गरियो। यसले विश्व शान्तिका लागि काम गर्दै थियो। तर जर्मनीले यसको आदेश नटेरेर पोल्यान्डमाथि हमला गर्यो। लिग अफ नेसनले केही गर्न सकेन। दोस्रो विश्वयुद्ध सुरु भयो। अनि लिग अफ नेसन आफँै समाप्त भयो। इराकमाथि गरिएको दोस्रो हमला र पोल्यान्डमाथि गरेको जर्मनीको हमलाको कानुनी रूप एउटै हो। लिग अफ नेसन मासियो तर युनाइटेड नेसन बुझ पचाएर बस्नुपरेको छ। अर्को शब्दमा भन्नुपर्दा नाटो र इयुको घोडा भएर यसले काम गर्दै आएको छ। यसले मानव अधिकारको ठूलो कुरा गर्छ। तर लाखौँ इराकी मार्ने, लाखौं लिबियाली मार्ने, हजारौं अफगानी मार्ने, लाखौं सिरियाली मार्ने ठूला शक्ति राष्ट्रका डनहरूको भने चाकडी गर्नुपरेको छ। अनि नेपाललगायत फुच्चे मुलुकमा भने मानव अधिकार हनन गर्ने ती डन नै घोडा चढ्छन। कसैलाई हेग लाने कसैलाई कहाँ लग्ने भनेर थर्काउँछन्।
अनि पश्चिमाहरूले गरिब देशका प्राज्ञ विज्ञहरूको घरमा मानव अधिकारको च्याउ खेती लगाइदिन्छन्। ती च्याउ जस्ता प्राज्ञ विज्ञले अनि नेपालका कुन जातको नाक लामो, कसको नाक चुच्चो, को थेप्चे, को नेप्टे, कसले सारो खायो, कसले गिलो आची गर्यो? यस पक्षमा वकालत गर्छन्। अनि मन्दिरको ठाउँमा इसु प्रभुको पदास्थापना गराउनु नै महान् ठान्छन्। त्यसपछि त डलर र युरोको वर्षात भइहाल्छ। अनि नेपाल भन्ने शब्द सुन्न पनि लाज मान्छन्। नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरूमा यिनकै जागिर पक्का हुन्छ, युरोप पढ्न जाने छात्रवृत्ति पक्का हुन्छ, यिनकै युरोप घुम्ने मेजमानी पक्का हुन्छ। अनि ती च्याउवाला आफूलाई कसैले छुन नसक्ने प्राज्ञ–विज्ञ ठान्छन्। अनि कुर्लन्छन्– महेन्द्रीय राष्ट्र्रवाद, अत्याचारी पृथ्वी नारायण शाह, पहाडे राष्ट्र्रवाद भनेर।
यहाँ प्रष्ट गर्नैपर्ने पक्ष के हो भने विगतको माओवादी द्वन्द्वका बेलामा माओवादीलाई गरेको सहयोग र द्वन्द्वपछि नेपाली समाज भाँडेको सन्दर्भमा युरोपियन केही देशलाई नेपालीले औंला ठडाउनै पर्छ। बडामहाराज पृथ्वीनारायण शाहले वि.सं. १८२४ मा सिन्धुलीको लडाइँमा अंग्रेजलाई हराएपछि र अर्को वर्ष १८२५ सालमा कान्तिपुर विजय गरेर काठमाडौं उपत्यकामा भएका क्रिश्चियनहरूले गरेको बदमासी सहन नसकेर तिनलाई नेपालबाट लखेटेका दिनदेखि आजसम्म ती क्रिस्चियन नेपालविरुद्ध लागिपरेका छन्। उनीहरूको उद्देश्य भनेको हिन्दु धर्म ढाल्नु, हिन्दु राजा ढाल्नु र पशुपतिनाथ मन्दिरको सट्टा इसु भगवानको चर्च खडा गर्नु नै हो। अनि नेपालका पहाडी गाउँमा टेकेर चीनविरुद्ध फ्रि टिबेट मुभमेन्ट बढाउनु पनि हो। वि.सं. १६७३ मा कान्तिपुरे राजा लक्ष्मीनरसिंह मल्लको पालामा नेपाल छिरेका क्रिस्चियनहरू आज २०७३ सालमा आइपुग्दा ४०० वर्षगाँठ मनाइसके। यस बखत उनीहरूको मुठीभित्र नेपालको मुटु जगडिएको छ। कुनै पनि बेला त्यो मुटु फुटाउन सक्छन्। त्यो काममा साथ दिने हामी जस्तै दरिद्र प्राज्ञ, विज्ञ, कर्मचारी, राजनीतिज्ञ, नागरिक समाज, सभासद्, सभामुख छन्।
प्रष्टै भन्नुपर्दा नेपालमा रहेका युरोपियन मुलुकले (इयु) वि.सं. २०५४ देखि यता माओवादी युद्धमा सहयोग गर्दा १७ हजारभन्दा बढी नेपाली मरेकै हुन। त्यसबेला उनीहरूको उद्देश्य भनेको तत्कालीन हिन्दु धर्म बोकेको सरकार ढाल्नु थियो। त्यसपछिका दिनमा माओवादीको सेना समायोजन, संविधान निर्माण, इसाई धर्म फैलाउने र हाल तराई टुक्र्याएर छुट्टै राज्य बनाउँछु भन्नेहरूलाई समेत ओत दिएको, सहयोग गरेका तथ्य देसभक्त नेपालीले कदापि बिर्सन सक्तैनन्। हाल आएर तराईका पत्रकार, वकिल, युवालाई भड्काउने, नेपालस्थित कूटनीतिक नियोगहरूमा बोलाएर स्यावासी दिने, तराईमा पृथकतावादीलाई उचाल्ने पहल, प्रयास र सहयोग रहनुमा अवश्य पनि पश्चिमा मुलुकलाई लाज लाग्नैपर्छ। देशभक्त नेपालीलाई यो कुर कदापि सह्य हुने छैन।
अन्त्यमा, छिमेकी देश भारत र चीनले छिमेकी साना मुलुकका लागि समयमै युरोपियन मुलुकहरूको देशभाँडा गतिविधि रोक्न पहल गर्नैपर्छ। नेपालको विकासमा तिनको युरो–डलर खर्च गराउने तर धर्ममा हात हाल्न बन्देज लगाउनै पर्छ। देशले धान्न सक्ने भएपछि र धानेसम्म मानव अधिकारको संरक्षण गर्न नेपाल पछि हट्नुहुँदैन। इसाई धर्म मान्ने अधिकार सबैलाई छ। तर पश्चिमाले नेपालमा धार्मिक हमला, जातीय हमला, संस्कृतिक हमला गर्न पाउँदैनन्। हाम्रा युवालाई युरो र डलरमा किनेर नेपाल विरोधी बनाउनु तिनलाई महापाप लाग्नेछ। नेपालमा अहिले पनि ९५ प्रतिशतभन्दा बढी देशभक्त र काला युरो–डलर नकमाउने नेपाली छन्। केही टाठाबाठा र गद्दार नेपालीले गर्दा नै पुनः नेपाललाई जात–भात–चुच्चे–थेप्चे बनाइ र हिन्दु– इसाईको समूह सिर्जना गरी नेपालमा झगडा बढाइँदैछ। यस पक्षमा आफूलाई सभ्य ठान्ने पश्चिमाले आफ्नो ब्वाँसो जस्तो चरित्र सुधार्ने बेला आइसेकेको छ।
प्रकाशित: १० वैशाख २०७४ ०३:५९ आइतबार