१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

दल र मुलुकको भविष्य

 डा. सुरेन्द्र भण्डारी-

राजनीति भनेको के हो ? राजनीति गर्ने भनेको के हो ? राजनीतिक दलहरू के प्रयोजनका लागि हुन् ? राजनीतिक दलहरूले राष्ट्र निर्माणमा के कस्तो भूमिका खेल्नुपर्छ ? यी र यस्तै अन्य प्रश्नको ठोस उत्तर पाउन मुस्किल हुन्छ । अझ यी प्रश्नको बौद्धिक विश्लेषण गर्ने हो भने प्रत्येक प्रश्नको छुट्टाछुट्टै पुस्तक तयार हुन सक्छ । यस लेखमा यी सबै प्रश्नबारे भन्दा पनि नेपालका राजनीतिक दलहरूले भोग्नुपरेका वा सम्बोधन गर्न नसकेका तीनवटा सवालमा चर्चा गरिनेछ ।

१. संविधान, राजनीति र विचारधाराबीचको सम्बन्ध
२. राजनीतिक दल, संगठन र संगठित कार्यकर्ता
३. राजनीतिक दल र प्रणाली निर्माण (सिस्टम बिल्डिङ)

लोकतान्त्रिक पद्धतिमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुन्छ भन्नेबारे विमति छैन । दलहरू बिनाको लोकतन्त्र परिकल्पना गर्न सकिँदैन । तर लोकतन्त्रमा दलहरूको भूमिका के हो र कस्तो हुनुपर्छ ? यस प्रश्नलाई माथि उल्लिखित तीनवटा सवालको सादृश्यतामा छलफल गरिनेछ ।
१. संविधान, राजनीति र विचारधाराः हाल नेपालमा लगभग १७० वटा राजनीतिक दल छन् । त्यसमध्ये केही लगभग २० वटाको दर्ता निर्वाचन आयोगमा प्रश्न चिह्न बनेको छ । तिनलाई आयोगले खारेज नै गर्यो भने पनि १५० दल रहन्छन् । के यी सबै दलको फरक फरक विचारधारा (आइडियोलोजी) छ ? छ भने के यी दल विचारधाराबाट निर्देशित र कार्यरत छन् ? विचारधारा छैन भने के विचारधाराबिनाको दल हुन सक्छ ? के अझै नयाँ राजनीतिक दलहरूको पनि सम्भावना छ ?

विचारधारामा आबद्व छन् भने यीमध्ये सिद्धान्ततः प्रत्येक दल शासन सत्तामा पुग्दा के नेपाल प्रत्येक दलको फरक फरक विचारधाराबाट शासित हुनुपर्छ ? व्यावहारिकरूपमा यी १५० वटामध्ये प्रत्येक दल सत्तामा पुग्ने सम्भावना देखिँदैन तर केही दल मानौँ कि ५ वटा दल सत्तामा पुग्दा प्रत्येक दलको फरक फरक विचारधाराले शासित हुन पुग्छ । हामी नागरिक एकपछि अर्को विचारधाराबाट शासित भइरहने छौं । के साँच्चै राजनीति भनेको विचारधारा निर्माण गर्ने (म्यानुफेक्चर गर्ने) संयन्त्र हो ? जब विचारधारा मिल्दैन तब एक जत्था मानिस लिएर अर्को विचारधाराको नाममा राजनीतिक दल खोल्नुपर्ने कार्यको नाम राजनीति हो ?

राजनीतिक दलका नेताहरू आज राजनीतिको मूल उद्देश्य बिर्सेर पैसा र शक्तिको कुटिल धन्दामा चुर्लुम्म डुबेका छन् । उनीहरूका आसेपासे र चाकरीबाजहरू पनि यही धन्दाबाट फाइदा लुटिरेहका छन् ।

माथि उठाइएका विभिन्न प्रश्नको तार्किक जवाफ खोज्ने जोकोहीले पनि सोच्नुपर्ने हुन्छ कि जब लोकतान्त्रिक संविधान निर्माण हुन्छ, तब राज्य, व्यवस्था र नागरिकलाई संविधान र संविधानबमोजिम निर्मित वैध कानुनका आधारमा शासन गरिनुपर्छ । यसैलाई नागरिक समाज भनिन्छ । नागरिक समाजमा विचारधाराले शासन गर्दैन । नागरिक समाजमा केवल कानुनले मात्रै शासन गर्छ । यसै प्रणालीलाई जन रावल्सले संवैधानिक लोकतन्त्रको नाम दिए । उनले थ्यौरी अफ जस्टिस भन्ने पुस्तक लगभग २१ वर्ष लगाएर लेखे । त्यसको दोस्रो संस्करण २७ वर्षको मेहनतपछि प्रकाशित गरे । उनको जीवनको अध्ययनले संवैधानिक लोकतन्त्रमा संविधान र कानुनबाहेक अन्य कुनै पनि कुराले शासन गर्न सक्दैन भन्ने निश्कर्ष निकाल्यो । त्यसले संवैधानिक लोकतन्त्रमा विचारधाराको अन्त्य हुन्छ भन्ने अभियानका अभियन्ता खासगरी डानियल बेल र उनका अनुयायीलाई ठूलो सहयोग गर्यो ।

हुन त कुनै पनि विकशित देश र तिनका राजनीतिक दलहरूलाई नियालेर हेर्ने हो भने उनीहरूका बीचमा विचारधारा र विचारधारात्मक मतभेद खासै देखिन्न । उनीहरूका बीचमा विचार (आइडिया) फरक देखिन्छ । यो मूलतः नीतिगत विषयसँग अर्थात संविधान र कानुनलाई के कसरी प्रभावकारीरूपमा लागु गरी राष्ट्र निर्माण गर्ने र आर्थिकरूपमा मुलुकलाई समृद्घ बनाउने सवालमा रहेको फरक हो र तिनै विषय निर्वाचनका एजेन्डासमेत बन्छन् । त्यसैले विकशित देशहरूको राजनीति र राजनीतिक दल हेर्दा स्वीकार गरे पनि नगरे पनि विचारधाराको अन्त्य भइसकेको पाइन्छ । अर्थात राजनीति र राजनीतिक दलहरू केवल संविधान र कानुनद्वारा मात्रै निर्देशित र परिचालित हुन्छन् । अर्को शब्दमा भन्दा सबै राजनीतिक दलका लागि संविधान नै विचारधारा हो । परिणामतः एउटै विचारधारा (संविधान) ले मात्रै मुलुक शासित र परिचालित हुन्छ । जब राजनीति र राजनीतिक दलहरू यस अवस्थामा पुग्छन् तबमात्रै विकास सम्भव देखिन्छ । विकास केबल चीनको जस्तो आर्थिक वृद्घिदर वा गल्फ मुलुकहरूको जस्तो कुल गार्हस्थ्य उत्पादन  धेरै भएको (तेलका) कारणले मात्रै हुने होइन । विकासले आर्थिक वृद्घिदर सँगसँगै मानवीय विकास एवं स्वतन्त्रतासमेत सुनिश्चित गर्न सक्नुपर्छ ।

त्यसैले नेपालमा १५० वटा राजनीतिक दलको औचित्य छैन । केवल ४–५ वटा भए पुग्छ । तर प्रत्येक राजनीतिक दल विचारधाराको स्वाङ र हत्कण्डा त्यागेर संवैधानिक सर्वोच्चता र संवैधानिक लोकतन्त्रमा आधारित हुन जरूरी छ । यसै सन्दर्भमा विचारधारा अन्त्यको सन्देशसहित संवैधानिक सर्वोच्चताको जगमा अडिग राजनीतिक दलको आवश्यकता र सम्भावना मुलुकमा टड्कारो बनेको छ । जसले यस यथार्थतालाई सम्बोधन गर्न सक्छ उसैले मात्रै मुलुकको भविष्यलाई दिशा दिन सक्छ ।

२. राजनीतिक दल, संगठन र संगठित कार्यकर्ता ः हाम्रा राजनीतिक दलको केन्द्रदेखि वडासम्म संगठन र संगठित कार्यकर्ता छन् । यही संगठित संरचना र संगठित कार्यकर्ताको तागतमा राजनीतिक दलहरू उभिएका छन् । तिनै दल प्रभावकारी छन् र सत्तामा पुगेका छन् । हाम्रा राजनीतिक दलहरूको यस संरचनाले स्पष्ट सन्देश के दिएको छ भने ठूलो संगठन र धेरै संगठित कार्यकर्ता नहुने दलको भविष्य छैन ।

राजनीतिक दलभित्र नेता हुन पनि कार्यकर्ताकै तागत चाहिन्छ । जससँग कार्यकर्ता छैनन् ऊ नेता बन्न सक्दैन । जसले कार्यकर्ता बनाउन वा पाल्न वा टिकाउन सक्दैन ऊ नेता बन्न सक्दैन । कार्यकर्ता बनाउन वा पाल्न गुट उपगुट बनाउनुपर्ने मात्रै होइन, सत्तामा पुगेर आफ्ना कार्यकर्तालाई राज्य संयन्त्रमा सहभागी बनाई राज्यलाई शक्ति र पैसा दिने संयन्त्रमा रूपान्तरण गर्नुपरेको छ । यस्तो कार्य गर्न सक्ने व्यक्तिहरू आज नेताका रूपमा दरिएका छन् ।
छोटकरीमा भन्दा राजनीतिक दलका नेताहरू आज राजनीतिको मूल उद्देश्य बिर्सेर पैसा र शक्तिको कुटिल धन्दामा चुर्लुम्म डुबेका छन् । उनीहरूका आसेपासे र चाकरीबाजहरू पनि यही धन्दाबाट फाइदा लुटिरेहका छन् । सिंगो राज्य संयन्त्रलाई अव्यवस्था, दूराचार एवं अस्तव्यस्तताको दलदलमा फसाइएको छ ।

अर्को शब्दमा भन्दा कार्यकर्तामा आधारित दलहरू (क्याडर बेस्ड पार्टिज) निरंकुशतन्त्र अन्त्य गर्न सहायक सिद्ध हुन्छन् तर लोकतन्त्रलाई यस्ता दलले संस्थापित गर्न सक्दैनन् । यही अनुभवका आधारमा ओपन सोसाइटी एन्ड इट्स एनमिज भन्ने पुस्तकका लेखक कार्ल पोपरले कार्यकर्तामा आधारित राजनीतिक दलका नेताहरू लोकतन्त्रका दुश्मन हुन् भनी व्याख्या गरेका छन् । त्यस्ता नेताहरू भ्रष्टाचारका स्रोत र गुण्डाका नाइके बनेका छन् । यिनीहरूले राजनीतिक दललाई निजी कम्पनीमा रूपान्तरण गरेका छन् ।
त्यसैले यस्तो विकराल राजनीतिक अस्तब्यस्तताको स्रोत रहेको कार्यकर्तामुखी राजनीतिक दलको संस्कारलाई जबसम्म पूर्णरूपले राजनीतिक दलहरूले त्याग्न सक्दैनन् तबसम्म यिनीहरूबाट राजनीतिक रूपान्तरण हुन सक्दैन । कानुन मिच्ने, कानुनलाई आफ्नो राजनीतिक स्वार्थअनुकूल बदल्न, राज्य संयन्त्रलाई आफ्ना कार्यकर्ता र आसेपासेको आश्रयस्थल बनाउने संस्कार संस्थापित गर्ने नेताहरूलाई दण्डित गर्न नसक्ने नागरिक र मतदाताबाट पनि लोकतन्त्र मौलाउन सक्दैन ।

तसर्थ अब मुलुकसामु दुईवटा स्पष्ट विकल्प छन् ः प्रथम, यिनै राजनीतिक दललाई सुधार गरी कार्यकर्तामुखी दलबाट नागरिकमुखी (मासबेस्ड) दलमा रूपान्तरण गर्ने । यो सानो चुनौतीको विषय होइन । थुप्रै कमीकमजोरीका बाबजुद पनि मासबेस्ड पार्टीको अवधारणालाई नेपालमा मूर्त रूप दिने कोसिस विश्वेश्वरप्रसाद कोइरालाले गरेका थिए । तर समयको अन्तरालमा नेपालका कार्यकर्तामुखी कम्युनिस्ट पार्टीहरूसँगै प्रतिस्पर्धा गर्न नेपाली कांग्रेस पनि अन्ततः कार्यकर्तामुखी दलमै रूपान्तरण हुन पुगेको छ । यस परिदृश्यमा भइरहेका राजनीतिक दलहरूमा सुधार आउने सम्भावना झिनो देखिन्छ । दोस्रो, यस किसिमको राजनीतिक चुनौतीले विचारधाराबिहीन अर्थात संविधानलाई नै आफ्नो विचारधारा मान्ने र मासबेस्ड दलीय संरचनामा विश्वास गर्ने राजनीतिक शक्तिको आवश्यकतालाई इंगित गर्छ । यस सम्भावना नकार्न सकिन्न । तर यस किसिमको राजनीतिक सुझबुझ १–२ जना वा केही व्यक्तिमा मात्रै भएर पुग्दैन । सिंगो मुलुक यस किसिमको राजनीतिक सोचलाई आत्मसात गर्न तयार हुन जरूरी छ । यो विकल्प गम्भीर हुन सकेमा मुलुकले गति लिन सक्ने देखिन्छ ।

३. राजनीतिक दल र प्रणाली निर्माण ः राजनीतिको मुख्य कार्य नै प्रणाली वा सुव्यवस्था निर्माण गर्ने र संस्थापित गर्ने हो । राजनीति सत्तामा पुग्ने खेल होइन । राजनीति प्रणाली निर्माण गर्ने माध्यम हो । जसका लागि सत्तामै पुग्नुपर्ने जरूरी हुँदैन । तथापि सत्तामा पुगेर प्रणाली निर्माण गर्न र संस्थापित गर्न वेशी योगदान गर्न सकिन्छ तर प्रश्न उठ्छ– प्रणाली निर्माण भनेको के हो ? प्रणाली निर्माणका विभिन्न आयाम छन् । तीमध्ये निम्नलिखित ११ वटा आयाम प्रणालीका आधारभूत अवयव मानिन्छन् । जुन निम्नबमोजिम छन्ः
- संवैधानिक सर्वोच्चता अर्थात संविधानभन्दा माथि कुनै पनि व्यक्ति, संस्था, निकाय वा विचारधारा हुन सक्दैन र केवल संवैधानिक सर्वोच्चताका आधारमा शासन गरिन्छ ।
- कानुनको शासन अर्थात संविधानसम्मत किसिमले कानुन बनाई कानुनको प्रभावकारी प्रयोग गर्न एवं कानुनले नै सबै व्यक्ति, संस्था, निकाय, विचारधारालाई डोर्याउनुपर्छ ।
- वैधानिक निर्णय अर्थात राज्यका प्रत्येक अंग र निकायमा गरिने निर्णय कानुनले तोकेको प्रक्रिया अवलम्बन गरेर गर्नु र त्यसरी गरिएको निर्णयलाई आफ्ना फरक मतका बाबजुद पनि कार्यान्वयन गर्न अवरोध नगर्नु । आज मुलुकमा सबैभन्दा वेशी दिशाहीनता यही सवालमा देखिएको छ । वैधानिक निर्णय नमान्ने, आफ्नो कुरा नमानेसम्म वैधानिक निर्णय लागु गर्न नदिने । आफ्नो कुरा लागु गर्न आन्दोलन गर्ने । आन्दोलन लोकतन्त्र र मुलुकको उद्देश्य होइन भन्ने कुरा बुझ पचाएका छन् । आज यही कुरा राजनीतिले उत्पादन गरिरहेको छ ।
-  मजबुत करेक्सन इन्सट्च्युसन अर्थात सरकारले गरेका गलत (संविधान र कानुनविपरित) कार्यलाई स्वस्थ र शान्तरूपमा चुनौती गर्न पाउने मजबुत निकाय हुुनुपर्ने र त्यस्ता निकायले स्वतन्त्र एवं प्रभावकारीरूपमा काम गर्न पाउनुपर्ने । उदाहरणका लागि अदालत, संवैधानिक आयोगहरू, मानव अधिकार आयोग र संसदीय अनुगमन यस किसिमका निकायभित्र पर्छन् । यस क्षेत्रमा केही राम्रा काम निश्चय नै भएका छन् तर राजनीतिक कार्यकर्ता भर्ति गर्ने हाम्रो राजनीतिक दिवालियापनले आज यी निकाय संकट भोगिरहेका छन् ।
-  आवधिक निर्वाचन, राजनीतिक दलहरू च्याउ उमे्रसरह अस्तित्वमा हुनु मात्रै पद्घति निर्माणका लागि पर्याप्त छैन । कानुनले तोकेको समयमा स्वस्थ र शान्तरूपमा आवधिक निर्वाचन नभएसम्म नागरिकले राजनीतिक दुश्कर्मीलाई दण्डित गर्ने र पद्घति निर्माण गर्न सक्ने नेतृत्वलाई सत्तामा पुर्याउने कार्य गर्न पाउँदैनन् । परिणामतः लोकतन्त्रका नाममा केही ठूलाबडा र नेता भनाउँदाहरू निरन्तर सत्तामा बस्ने कार्य गर्छन् । आज हाम्रो मुलुक यही रोगबाट ग्रस्त छ । यसको निकास अपरिहार्य छ ।
-    उत्तरदायी सरकार र जिम्मेवार नागरिक नभएसम्म पनि प्रणाली निर्माण हुन सक्दैन ।
-    स्वस्थ बजार प्रणाली निर्माणका लागि ज्यादै महत्वपूर्ण छ तर  आज सत्ताका खेलाडीसँग मिलेर राज्य संयन्त्रलाई दुरूपयोग गरेर व्यापारिक घरानाहरू निर्मित हुने संस्कार हावी भएको छ । बजार र लोकतन्त्र एवं नागरिकको स्वाधीनता जस्ता गहन दार्शनिक विषयहरू ओझेल परेका छन् । राजनीतिक अपराध (नीतिगत अपराध) मौलाएको छ । स्वस्थ बजारबिनाको पद्घति निर्माण सम्भव छैन ।
-    दिगो विकाशबिना पनि प्रणाली निर्माण हुन सक्दैन । यस दिशामा सानातिना काम भए पनि धेरै गर्न बाँकी नै छ ।
-    समान अवसर र योग्यतामूलक समाजको अवधारणाले मात्रै पद्घति निर्माण हुन्छ । आज हामी यस क्षेत्रमा ठूलो संकटको दलदलमा फसेका छौं ।
-    सकारात्मक विभेद र सामाजिक सुरक्षा पनि प्रणाली निर्माणका लागि अत्यावश्यक संयन्त्र हुन् । यस क्षेत्रमा केही प्रगति भए पनि नीतिगत दिशाहीनता अझै पनि भयाबह छ ।
-    अन्तर्राष्ट्रिय सम्बन्ध ज्यादै महत्वपूर्ण हुन्छ । घरेलु कारणले मात्रै प्रणाली निर्माण कठिन हुन्छ । जसका लागि विश्वसनीय र प्रभावकारी अन्तर्राष्ट्रिय सम्बन्ध संस्थापित गर्न सक्नुपर्छ । आजको अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा बजार, प्रविधि र लगानी छन् । सस्तो राजनीतिक भाषण र सबमिसिभ नीति बनाएर अन्तर्राष्ट्रिय उपलब्धि हुन सक्दैन ।
-    निष्कर्षमा भन्दा आज मुलुकमा राजनीति के हो ? यसको उद्देश्य के हो ? राजनीतिक दलको उपादेयता र कार्य के हुन्छ भन्नेबारेमा व्यापक छलफल गरी आवश्यक परिमार्जन जरूरी छ ।

प्रकाशित: ४ कार्तिक २०७३ ०५:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App