९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

हटाउनुपर्छ संस्कृतिका विकृति

डा. गोविन्द टण्डन

चाडपर्व भन्यो कि पशुहरूको दशा र काल सुरु भयो अब भन्नुपर्ने स्थिति जताततै छ । नेपालमा पनि यही अवस्था छ । चाहे विजयादशमी भनौँ, चाहे बुध्द पूर्णिमा, भैरव, भीमसेन एवं देवीका मन्दिरहरूमा त वर्षभरि विभिन्न तिथि÷पर्वमा विभिन्न बहानामा काटमार, पशुबलिलाई मानौँ यही नै हो धर्म भनेजस्तो गरी मानिस तँछाडमछाड गरिरहेका हुन्छन् ।

मानिस अहिले एक्काइसौँ शताव्दीमा छ । बाहिरी रूप र भौतिक प्रगति हेर्दा हिजो कल्पनामा सीमित ठानिएका कतिपय विषयमा समुन्नतिको पराकाष्ठामा पुगिसक्यो । शिक्षाको क्षेत्रमा धेरै उन्नति र प्रगति भएको छ, विश्वविद्यालय असंख्य खोलिएका छन्, पैसा हुनेलाई संसारको कुनै पनि ठाउँमा पढ्न अब कुनै गाह्रो छैन । स्थलमार्ग, जलमार्ग, हवाइमार्गमा चल्ने साधनले विश्व नै एउटा सानो गाउँ हो कि जस्तो भइसकेको छ । कुनै बेला कल्पनासम्म पनि गर्न नसकिने या हिँडेर पुग्न वर्षौंवर्ष लाग्ने ठाउँ अहिले केही घण्टामा पुग्न सकिने भइसकेको छ । सञ्चार क्षेत्रको द्रुततर प्रगतिले एक किसिमले भन्ने हो भने संसारकै हालखबर क्षणभरमा बुझ्न सकिने, जान्न सकिने स्थिति आइसकेको छ । कुनै वेला आकाशवाणीको भरमा लाइनमा कुरेर सन्देश दिनुपर्ने र जवाफ पाउन दुई चार दिन कुर्नुपर्ने वा त्यही आकाशवाणी गर्न पनि दुई चार दिनको यात्रा तय गर्नुपर्ने अवस्थामा नयाँनयाँ आविष्कारले हातहातमा मोबाइल फोन, आइप्याड र काखमा ल्यापटप ल्याइदिइसक्यो ।

अझ दिनानुदिन यस क्षेत्रमा अनेकौँ तरक्की हुँदैछन् । स्वास्थ्यको क्षेत्रमा पनि अहिलेको संसार धेरै माथि पुगिसकेको छ । मानिसको आयु पनि बढ्दै गएको छ । अन्तरिक्षका अनेक ग्रहमा जाने कुरा विश्वका विकसित मुलुकहरू परिकल्पना गर्न थालिसके । कुनै दिन मङ्गलग्रहको घडेरी बिक्रीको सूचना पत्रपत्रिकामा निक्लिए आश्चर्य मान्नु नपर्ने स्थिति आइसक्यो । यस्तो चिताउँदै नचिताएका अनगिन्ती साधनले ल्याइदिएको खुसीमा पनि मानिस साँच्चै भन्ने हो भने शान्त र सन्तुष्ट छैन । झन् झन् अनेकथरी आकांक्षा र लोभमा मानिस पर्दो छ । हुने र नहुने, धनी र गरिब, सम्पन्नता र विपन्नताको धाँजो झन् झन् फराकिलो बन्दै जानु कुनै पनि दृष्टिकोणले सुखद् होइन । त्यसले हरेक मानिसको मनमा जन्माउने राग, द्वेष, विकृति र विसंगतिले अनेक किसिमका हाँगाबिँगा फैल्याउने छन्, जुन सबैका लागि कष्टकर हुन्छ । बाहिरी उन्नति र प्रगति त भयो तर हृदयमा मानवताको भाव नभइदिनाले मानिसदेखि मानिस डराउनुपर्ने अनौठो दिन जताततै आइरहेका छन् । यस्तो भयाबह अवस्था ल्याउनमा अनेक कारक तत्व हुन सक्छन् तर हामीले प्राणी जगतमाथि गरिरहेको अत्याचार र शोषण पनि कम जिम्मेवार छैन भन्नेतिर सबैले सोच्नुपर्ने बेला आएको छ ।

विजयादशमीको कत्रो महत्व छ जीवनको साधनापथमा तर साधना र आध्यात्मिक पक्षलाई बिर्सिएर मानिस केवल यसको बाहिरी र बोक्रे कुरामा अल्मलिएको देख्दा चिन्ताको साथै दया लागेर आउँछ । कहाँ महादुर्गा, महालक्ष्मी, महासरस्वतीको पूजन, निदिध्यासन गरेर जीवनलाई रूपान्तरण गर्ने महान् अवसर, कहाँ पशु बलिको निकृष्टतामा अल्मलिएर पूजाकै अवमूल्यन कतै गर्दै त छैनौँ भन्ने प्रश्न उब्जेको छ । बलिको अनेक अर्थ हुन्छ– उपहार, अर्पण, कोशेली आदि । आफूमा भएको काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता पशुतालाई देवीको नाउँमा बलि चढाएर आफू गुणवान, असलमा रूपान्तरण हुने पर्व हो विजयादशमी । तर त्यसलाई बिर्सेर पशु बलि गर्नतिर अल्मलियो मानिस । असत्यमाथि सत्यको विजय त असत्यबाट सत्यमा रूपान्तरित भएपछि न हुने कुरा हो ! कालीतन्त्र नामको तन्त्र ग्रन्थमा लेखिएको छ ः

कामस्तु छागः संप्रोस्त महीषः क्रोध उच्यते ।
लोभो मार्जरः संप्रोस्तो मोहो मेषो महात् अयम ।।
नरस्तु मदः संज्ञात उष्ट्रो मात्सर्य कथ्यते ।

अर्थात् कामरूपी बोको, क्रोधरूपी राँगो भनिन्छ । लोभरूपी बिरालो, मोहरूपी भेडा तथा मदरूपी नर तथा मात्सर्यरूपी उँट कहिन्छ । हिजोआज उल्टो भइरहेको छ कि पशुता जस्तातस्तै आफूमै छन् मात्र पशुपक्षीहरू पशु बलिको नाममा मारिँदो छन् । यसैलाई धर्म÷संस्कृति सम्झिरहेछन् मानिस । कस्तो दुर्भाग्य ! संसारमा सबैभन्दा ठूलो पाप भनेको अरूलाई मार्नु, काट्नु, हत्या गर्नु नै हो । कसैलाई मारेर, हत्या गरेर धर्म हुने भए अधर्म भनेको के ? पुण्य भनेको के ? यस्तै मार्नु÷काट्नुलाई शास्त्रले धर्म भनेको हो ? कदापि होइन । शास्त्र कतिसम्म भन्छ भने ‘न मांस अश्नीयात’ (मासु नखानु)। मासु नखाइदिए हिंसा र बलिको चर्चै हुँदैन्थ्यो । मनुस्मृतिमा भनिएको छ– ‘नाकृत्वा प्राणीनां हिंसा मांस उत्पद्यते क्वचित’ अर्थात हिंसा नगरीकन मासु प्राप्त हुँदैन । मांसभक्षणलाई वैधता दिन वा पशु बलि प्रथा ठीक हो भन्न देवीदेवताको नाममा चढाएर खाने परिपञ्च धूर्त पण्डितहरूले गरेका हुन् भन्न हिच्किचाउनु पर्दैन । देवतालाई चढाएपछि प्रसाद भइहाल्यो भन्ने भ्रम व्यापक छ । आत्मालाई साक्षी राखेर भनौँ त अर्कालाई मारेपछि प्राप्त हुने मासु कसरी प्रसाद हुन्छ ?

हिंसालाई संसारका प्रायः सबैजसो धर्ममा निन्दा गरिएको पाइन्छ । पछिल्ला धूर्त व्याख्याकारहरूले आफूअनुकूलका कुरा थपथाप पारिदिए र भ्रम फैलाउने काम गरे । जसको फलस्वरूप अहिले जताततै धर्मको नाउँमा मारकाटले प्रवेश पायो । प्रसिद्ध ग्रन्थ महाभारतमा भनिएको छ– ‘अहिंसा परमोधर्मस्तथा हिंसा परम पापम’ अर्थात अहिंसा परम धर्म हो, हिंसा ठूलो पाप हो । यजुर्वेद भन्छ– ‘मा हिंसीस्तन्वा प्रजाः’ अर्थात ज्यूज्यानले कसैको हिंसा नगर्नू । महर्षि पतञ्जलिको योगसूत्रमा यमनियमअन्तर्गत अहिंसालाई पहिलो अनुशासनका रूपमा राखिएको छ । महामानव बुध्दद्वारा प्रतिपादित पञ्चशीलको पहिलो शील नै अहिंसा हो । बौध्द धर्मअनुरूप अष्टाङ्गमार्गअन्तर्गत हिंसालाई गर्न नहुने कर्म बताइएको छ । सम्यक आजीविकाअन्तर्गत मांस वणिज्जा, पशुवणिज्जा र शस्त्रवणिज्जा अर्थात् मासु, पशु र काटमार गर्ने व्यापारलाई समेत निषेध गरेको छ । विडम्बनाको कुरा के छ भने हिन्दु, बौध्द परम्परा मान्ने यहाँ धर्मको नाउँमा पशु बलि जसरी भइरहेको छ त्यो दुःखलाग्दो छ भन्नुपर्छ । यस्तो गलत चलनलाई व्यापकता गर्ने काममा आफू भने लसुन, प्याज पनि नखाने तर मासु भने खाने पण्डित र तथाकथित विद्वान्हरूले पनि सघाउ पु¥याइरहेको देखिन्छ । अनि कुनै बेला कुनै शासनसत्ता र प्रतिष्ठित पदहरूमा बसेर साक्षी र द्रष्टा बनेका गुरुज्यू, पण्डित र पुजारीहरूले पनि यसलाई परिपालन गरिरहेको पत्रपत्रिका, सञ्चारमाध्यममा आउने उनीहरूका विचारबाट अवगत हुन्छ ।

तन्त्रशास्त्रको आडमा एकथरी पशु बलिलाई शाश्वत मान्नेहरू पनि नभएका होइनन् । तन्त्र विद्याका प्रतिपादक स्वयं भगवान् आशुतोष सदाशिव हुनुहुन्छ । शिवको अर्थ कल्याण भन्ने हुन्छ । अर्थात् शिव कल्याणकारी हुनुहुन्छ भन्ने यसको अर्थ हुन्छ । अझ पशुपतिनाथको अर्थ त सम्पूर्ण प्राणीमात्रका पति भन्ने हुन्छ । यस्ता कल्याणकारी महादेवबाट निसृतः तन्त्रविद्याले कसरी निर्दोष, निरीह र अवोध प्राणीहरूको हत्या, हिंसा गर्न प्रेरित गर्ला ? सारा ब्रह्माण्डको दुःख, कष्ट हर्न कालकूट विष पान गर्ने परब्रह्म परमात्मा भगवान् शिवले पशुपक्षीको बध देवताहरूको तुष्टिका लागि गर्न अभिप्रेरित गर्नुभयो होला भन्ने कुरा पत्याउन सकिएला ?

तन्त्रमा हरेक कुराको द्वैअर्थ हुन्छ– स्थूल र सूक्ष्म । स्थूल अर्थ मोटमोटीरूपमा सामान्य अर्थ हो भने सूक्ष्म अर्थचाहिँ त्यसको गुह्य वा तात्विक अर्थ हो । तन्त्रको माथिल्ला कोटीका साधकहरू सूक्ष्म अर्थ पहिल्याएर सात्विक साधनामा निरत हुन्छन् जबकि सामान्य टापटिपेहरू स्थूल अर्थमा अल्मलिएर तामसी पूजालाई नै साँच्चिकैको पूजा भनेर आफू पनि अल्मलिन्छन् अरूलाई पनि अल्मलाउँछन् । देवीका घोर रूप अनेक छन्, त्यसमा काली, चण्डिका, चामुण्डा, महादुर्गा आदि पर्छन् । वलिलाई ग्रहण गर्नेहरू यिनै देवीहरूको देवस्थल र मन्दिरहरूमा पशु बलि दिन्छन् यस्तो ठानेर कि भगवतीको रक्तपिपाशा शान्त हुन्छ । यसमा के बिर्सन हुँदैन भने ती रूप देवी दुर्गाले असुर, दुष्ट, पापीहरूको आसुरी प्रवृत्ति नाश गर्नका लागि लिएको हो न कि अवोध पशु प्राणीहरूको निर्मम वध गर्न । मानिसमा भएको पशुता ज्ञानरूपी खड्गले निर्मूल गर्नुपर्छ न कि खुकुरी, खुँडा र तरवारले ।

शास्त्रहरूमा उल्लेख गर्दै जाँदा कतिसम्म भनिएको छ भने देवीभागवतको एक ठाउँमा यस्तो लेखिएको छ ः
सत्यं न सत्यं खलु यत्र हिंसा दयान्वितं चानृतमेव सत्यम् ।

हितं नराणां भवतीह येन तदेव सत्यं न तथाक्न्यथैव ।। (३।।११।१६)

अर्थात, त्यो सत्य सत्य होइन जसमा प्राणीको हिंसाभाव छ, दयाले भरिएको छ भने झुटो वचन पनि वास्तवमा सत्य नै हो । जेमा मानिसको हित छ त्यही नै सत्य हो अरू सबै असत्य हुन् । अर्कालाई दुःख दिएर हित हुन्छ भन्ने सम्झनु जति असत्य छ त्यत्ति नै अर्काको प्राण हरेर वा अरूको अहित चिताएर आफ्नो आयु, आरोग्य र मांसपेशी बढाउन चाहनु गलत छ । हाम्रो संस्कृतिभित्र नजानिँदो गरी लुकेर बसेको पशु बलिरूपी विकृति हटाउन, घटाउन जति सक्दो सबैले जो जहाँ छ, त्यहीँबाट सकेको प्रयत्न ग¥यौँ भने हाम्रो धर्म÷संस्कृतिको महत्व र गरिमा अझ बढ्दै जाने छ भन्नेमा किंचित शङ्का गर्ने ठाउँ रहन्न ।
आहारअनुसार नै विचार र व्यवहार बन्छ भन्ने कुरालाई के अध्यात्म क्षेत्र, के विज्ञान सबैले मानेका छन् तर हामी त्यसलाई त्यति ध्यान दिइरहेका छैनौँ । जे हामी खान्छौँ त्यसको प्रभाव हामीमा कुनै न कुनै रूपले परिरहेको हुन्छ । किनभने खाएको खानाबाट नै जीवनरस, रगत, मज्जाका साथै मन र व्यवहार बन्ने हुन् । कुनै एक देशमा एक जना प्रसिध्द सेनापति थिए । एउटा युध्द मैदानमा उनको दाहिने हातको चोर औँला पूरै छिन्यो । अब उनी पेस्तोल र बन्दुक चलाउन नसक्ने भए ।

सेनापति नै हातहतियार चलाउन नसक्ने भएपछि युध्द मैदानमा अरू सकल दर्जाले उनको आदेश के मान्लान् भन्ने शंकाले उनी गुमेको औँलालाई सर्वस्व ठान्न थाले र अन्ततोगत्वा कसैको औँला पाए हाल्ने निष्कर्षमा पुगे । केही समयको प्रतीक्षापछि औँला हालियो तर विडम्बना, औँला फेरिएपछि उनमा पहिले नभएको स्वभाव देखिन थालियो । आफ्नो नजिकमा जो हुन्थ्यो उनको खल्तीतिर हात लम्किने अनौठो स्वभावले उनलाई कैयन् पटक लज्जितै तुल्यायो । यो के स्थिति आइप¥यो भनी विभिन्न चिकित्सक, मनोचिकित्सकको सल्लाह लिन उनले सुरु गरे । खोज्दै जाँदा थाहा भयो कि उनको सर्जरी गरी हालिएको औँला त  एक जना पकेटमाराको पो रहेछ । एउटा अङ्गले त यस्तो प्रतिकूल व्यवहार गराउँछ भने मांसाहार गर्नेहरूलाई अमुक पशुपक्षीहरूको वासना, संस्कार र स्वभावले कति असर पार्छ होला ? यो अत्यन्त मननीय विषय छ । सोचौँ, पशु बलि गर्नुअघि धेरै पल्ट सोचौ,ँ संस्कृति अवलम्बन गर्दैछौँ कि विकृतिको पृष्ठपोषण ?

प्रकाशित: २१ आश्विन २०७३ ०३:०० शुक्रबार

हटाउनुपर्छ संस्कृतिका विकृति