१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

मदन भण्डारी र नेपाली क्रान्ति

राष्ट्र र राजनीतिक स्कुलिङले हरेक कालखण्डमा समान कदका नायक पाउन सम्भव हँुदैन। किनकि मानव सभ्यताको विकास नै असमान ढंगले भएको हुन्छ। एउटै सामन्तवादी युगमा पनि सबै राजा पृथ्वीनारायण शाह जस्तै लक्ष्यवर्ती रहेनन्। नेपाली कांग्रेसमा पनि सबै नेताले विश्वेश्वरप्रसाद कोइरालाको जति उचाइ प्राप्त गरेनन्। नेपालको वामपन्थी आन्दोलनभित्र पद र अवसर अरुलाई प्राप्त भए पनि जननेता मदन भण्डारीको उचाइ अद्वितीय छ र विशिष्ठता बेग्लै छ। चिन्तन, राजनीति, संगठन, व्यवस्थापन, समन्वयका अतिरिक्त  मति, गति र सरस्वतीका कारण भण्डारीको व्यक्तित्व हिमालयझैं गह्रौ, अटल र उच्च बन्यो।

राजनेताको जन्म व्यक्तिको इच्छाशक्तिमा मात्र निर्भर नभई चुनौती र समयमा निर्भर हुन्छ। सफल व्यक्तिले उही काम गर्छ तर भिन्न तरिकाले। तयारी नपुगेर नुवाकोटमाथि हमला गर्दा गोर्खाका राजा नरभूपाल शाह रोग र शोकले थला परे तर उनको मृत्युपछि राजा भएका छोरा पृथ्वीनारायण शाहले गोर्खाली शक्तिलाई संगठित पारे। गोर्खाली जनताको अतिरिक्त त्रिशूली नदीपूवर््ा नुवाकोट राज्यका बासिन्दा माझी समुदायको मन जित्ने चेत राख्नु र त्यसमा सफल हुनु नै पृथ्वीनारायणको उदयको मुहान थियो। पृथ्वीनारायण शाहले गरेको नुवाकोट हमला नरभूपाल शाहको भन्दा दुई कुरामा पृथ्ाक र रचनात्मक थियो। पहिलो त उनले गोर्खाली जनताको एकता मजबुत पार्नुका साथै नुवाकोटपारिका माझी समुदायको पनि साथ लिए। दोस्रो नरभूपाल शाहको पालामा  जसरी दिउँसोको समय पारेर नभई हमला रात परेको बेला गरिएको थियो। पिता कृष्णप्रसाद कोइरालाको मृत्युबाट उत्पन्न शोकलाई शक्तिमा बदल्दै बिपी कोइराला उदाए। नेपाली कांग्रेसको स्थापना, विकास, २००७ सालको जनआन्दोलन सञ्चालन, संक्रमणकाल, २०१५ सालको आमनिर्वाचनदेखि प्रतिगमनपछिको दीर्घकालीन संघर्षको दौरानमा विश्वेश्वरप्रसाद कोइरालाको प्रत्युत्पन्न मतिको गुण र गति थाहा पाउन सकिन्छ।

खराब सहकर्मीको बिगबिगीका कारण पुष्पलाल श्रेष्ठले सिङ्गो जीवन हण्डर, ठक्कर र धोकाको शरशैयामा बिताउनुपर्‍यो। मनमोहन अधिकारी, तुल्सीलाल अमात्य र साहना प्रधानको जीवन रथ पनि चरम उपेक्षा र असफलताको डिलमा पुगेको बेला कर्मठ सत्गुरुको असल शिष्यका रूपमा मदन भण्डारीको उदय भयो। पार्टी प्रमुख हुन पार्टी फोड्ने होड चलेर दुई कम्युनिस्ट तीन चिराको उक्ति व्यवहारमा आइरहेको बेला माले र मार्क्सवादी एकीकरणका लागि दिल खोलेर पहल गर्नु र पार्टी प्रमुख मनमोहनलाई बनाएर आफू सहर्ष दोस्रो मर्यादाक्रमको महासचिव बन्नु भण्डारीले नेपालको वामपन्थी आन्दोलनलाई लगाएको बिर्सन नसकिने गुन हो। सिद्धान्त, बोली र व्यवहारमा एकरूपता भण्डारीको व्यक्तित्वको विशेषता थियो। अग्रज र सहकर्मीको अनादर होइन, टहल गर्ने, कार्यकर्ता पंक्तिलाई उत्प्रेरित राख्ने र जनता जनार्दनसँग प्रत्यक्ष संवादमा रहेर साथ र समर्थनको अथाह शक्ति बटुल्ने कलाको बलमा भण्डारीले एमालेका लागि उभिने चौडा धरातल खडा गरे। नेतृत्वका लागि शीर्ष आसन अनिवार्य छैन, बरु रचनात्क सोच र सवि्र्कयता अनिवार्य हुन्छ भन्ने सच्याइलाई खुला किताबको पाना जस्तो भण्डारीको जीवनले प्रमाणित गरेको छ। केन्द्रीय सदस्य र पोलिट ब्युरो सदस्यको भूमिकामा रहेर तर्क र बहसका दौरानमा महासचिवलाई समेत फिक्का पारेर भण्डारीको उदय भएको थियो। आगमन सहज र उत्कर्षकाल घमण्डरहित थियो। नत्र कतिपय नेताले अग्रजलाई माकुरीमाउ बनाएका र वैकल्पिक हस्ती र अनुयायीलाई सर्पले आफ्नै बच्चा निलेझैँ निलेर पद लिने गरेका दृष्टान्त धेरै छन्। असल हुने भोक जागेर लोलोपोतो र मोलाहिजामा नफसेर सत्पात्रलाई थाम्ने सक्ने र खलपात्रलाई डाम्न सक्ने परिपक्वता पनि भण्डारीमा थियो।

नेपालको कम्युनिस्ट आन्दोलनलाई  वैचारिक, राजनीतिक, संगठनात्मक र जनउभारका हिसाबले यो उचाइमा पुर्‍याउन मदन भण्डारीको देन अद्वितीय छ। शक्तिको स्रोत र सर्वोपरि शक्ति देशबासी हुन्, दरवार र दिल्ली किमार्थ होइनन् भन्ने चेतनाको प्रवाह गरेर भण्डारीले सुरो जाति नेपालीलाई दह्रो नायकत्व प्रदान गरे।  नेपाल कम्युनिस्ट पार्टीलाई एक अनिवार्य राजनीतिक विकल्पका रूपमा स्थापित गर्न, यसले बोकेका उग्रपन्थी जडता र दक्षिणपन्थी अवसरवादबाट पृथक राखेर भित्रैदेखि मजबुत पार्न, जनता, कार्यकर्ता र नेतृत्व पंक्तिलाई चेतना, सक्रियता र अन्तरसंवादको सूत्रमा बाँधेर एकसाथ हिँड्न तथा कम्युनिस्ट पार्टी, यसका नेता र कार्यकर्ता जनताको परीक्षणको विषय बनाउन सबैभन्दा बढी घन्किएको कण्ठ भण्डारीको हो। यसअघिसम्म आर्थिक, राजनीतिक र सांस्कृतिक हिसाबले सामन्तवाद र पुँजीवादको दोहोरो शोषण उत्पीडनमा रहेको नेपाली समाजको मूल चरित्र एकातिर थियो भने नेपालका वामपन्थीहरुको अर्थनीतिको सारंगी रटान समाजवादी अर्थतन्त्र थियो। यस्तो 'लुकिङ लन्डन टकिङ टोकियो' को स्थिति सल्टाएर भण्डारीले क्रान्तिपूर्वको अवस्थामा कम्युनिस्ट पार्टीले चुनावी श्रेष्ठता हासिल गरेपछि गठन हुने सरकारको अर्थनीतिबारे स्पष्ट खाका प्रदान गरेपछि नेपालका कम्युनिस्टमाथिको शंका र भ्रमको तुवाँलो हटेको थियो।

राष्ट्रिय पुँजीको विकास गरी समाजवादतिर संक्रमणको आधार तयार गर्ने कुराको त्यति बेला सबै कोण र कित्ताबाट खिसिट्युरी भयो। एमालेमै पनि जवज पक्षधर, मध्यपन्थी अवसरवादी र जवज विरोधीका भाँजा देखिए। सस्तो लोकप्रियताको पछि दौडेर भण्डारीमाथि गद्दार, गोर्वाचोभ, वर्नस्ट्रिनको पगरी भिराइए। पुँजीवादको साम्राज्यवादी स्वरूप र त्यसले नेपाललगायत तेस्रो विश्वलाई गरेको शोषण, उत्पीडन र ऐठनविरुद्ध बुलन्द आवाज भण्डारीले दिए पनि गुटस्वार्थले थिचिएका आलोचकहरुलाई जवज यसबारे मौन छ भनेर लिटिल बुद्ध शैलीमा दार्शनिक हुने हतारो छ। जबकि भण्डारीको नेपालमा पँुजीवादको उपस्थिति, शोषण र प्रभावबारे विश्लेषण यस्तो छ– 'अमेरिकाको नयाँ विश्व व्यवस्थाको अन्तरवस्तु स्वतन्त्रता, शान्ति, कानुनी राज्य र सुरक्षाको नारा दिए पनि वास्तवमा पुँजीवाद साम्राज्यवादको प्रभुत्व कायम गर्ने हो भन्ने कुरा सुस्पष्ट छ। साम्राज्यवादको निर्देशन स्वीकार नगर्नेमाथि मानव अधिकारको रक्षा, प्रजातन्त्रको बहाली वा हातहतियार नियन्त्रण गर्ने नाममा सैनिक हस्तक्षेप गर्ने, आर्थिक नाकाबन्दी गर्ने र विभिन्न ढंगले धम्की तथा दबाब दिने काम भइरहेको छ। उसको इशारामा चल्नेहरुले आर्थिक, सैनिक र अन्य सहायता निर्वाधरूपमा पाइरहेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले तयार पारेको आर्थिक नीति लागु नगर्ने तेस्रो विश्वका देशमाथि कहीँ धम्की र कहीँ दबाब प्रयोग भइरहेको छ। आज तेस्रो विश्व पुँजीवादी राष्ट्र र अन्तर्राष्ट्रिय संघ/सस्थाबाट लिएको ऋणको भारले थिचिएको छ। यहीँ नै अशिक्षा, गरिबी र बेरोजगारी तथा रोगले पनि अत्यधिक आक्रान्त छ। विश्व जनसंख्याको अति ठूलो भाग यसैमा बस्छ तर विश्व सम्पदाको भने एउटा सानो अंशको मात्र यसले उपभोग गर्न पाएको छ।'

यथार्थ यस्तो भए पनि जबजमाथि अझै हमला रोकिएको छैन। उहिले जवजले पुँजीवादीले अर्थनीति अवलम्बन गर्‍यो भनेर आलोचना गरिन्थ्यो आज जवजले पुँजीवाद देखेन भनेर हमला गरिँदैछ।। मानविकी र व्यवस्थापन दुवै संकायको पढाइ हुने बहुमुखी क्याम्पसलाई आफूले पढ्ने विषयमात्र पढाइ हुने गर्छ भनेर विवाद गर्ने मन्द बुद्धिका दुई विद्यार्थीजस्तै जवजका पक्षधर र आलोचकलाई कमजोर धरातलमा उभ्याइएको छ।

सामन्तवाद र पुँजीवादीको सबैखाले शोषण उत्पीडन अन्त्य गर्दै राष्ट्रिय पुँजी विकास गर्ने क्रान्तिपूर्वको चरणको विशेषता हो। नेपाली जनतामाथिको शोषण र दोहनबारे उहिल्यै यति प्रष्ट ढंगले जवजले व्याख्या गरे पनि जवज प्रतिपादन हुँदै गर्दा संशोधनवादी गल्ती भयो भन्नेहरुको भाका आज बदलिएको छ। घर बनाउने बेला गुफामै बस्ने हठ गर्नेले नै अरुले लगाएका घरका झ्यालढोका कम भए भनेर आलोचक धर्म थामेझैँ जवजका सदावहार आलोचक सवि्र्कय छन्।

जवजमा सामन्तवाद र पुँजीवादका सबैखाले शोषण र उत्पीडन विरोधी कार्यक्रम छन्  तर आलोचक र अनुयायी दुवै तपसिलका एकांकी कुरामा फस्नुमा गुटस्वार्थ कारक हो। जवजका आलोचकको आँखाले नेपालमा पुँजीवाद मात्र देख्छ तर सामन्तवादी शोषण देख्दैन, पक्षधरको आँखाले सामन्ती शोषण देखे पनि पुँजीवादीको विकास र शोषण जस्तो सार्वभौम सत्य देख्दैन। यसरी थाहा हुन्छ कि आलोचक र अनुयायी दुवैले मदन भण्डारीको दूरदर्शिता, उचाइ र गाम्भीर्य एवं जवजको गति थाहा पाएजस्तो लाग्दैन।

जनवादी व्यवस्था स्थापनापूर्व कम्युनिस्टहरुले आत्मगत र भौतिक, वैचारिक र राजनीतिक पहल गर्दा पार्टी संगठन र जनताको जागरुकतालाई आधार मान्नुपर्नेमा भण्डारीको विशेष जोडबल छ। सोभियत समाजवादी मोडल लागु गर्न गरिएको हतारो, बल प्रयोग र समाजमाथि राज्य र राजनीतिको दबाब र उत्पादन र उत्पादन पद्धति, राजकीय नोकरशाहीतन्त्रबाट कम्युनिस्टहरुले लिनुपर्ने शिक्षा भण्डारीको विचार शृंखलाको चुरो हो।

अन्त्यमा

अहंकार नगर्नु र अरुको अनादर नगर्नु तर जनताको साथ र समर्थनमा क्रान्तिको झण्डा निर्भिकतासाथ उठाउनु जवजको बाटो हो। नेपाल स्वभिमानको नाममा उत्तर कोरिया बन्न सक्तैन र समृद्धिको नाममा भुटान बन्न पनि तयार छैन। संक्रमण कालको अति संवेदनशील घडीमा संविधान कार्यान्वयन  मुख्य कार्यभार हो। नेपाली क्रान्ति रोक्न तराईमा सामन्ती जमिन्दार वर्ग जातीय र क्षेत्रीय भेषमा आएको छ। यसले क्षेत्रीय प्रभुत्ववादसँग साँठगाँठ गरेको पनि छ। यसका बाबजुद समृद्धि र सामाजिक न्यायको महाअभियानमा न उदासिनता न उदण्डताको सन्तुलनमा रहेर युगको रथ हाँक्नुपर्छ।  प्रगतिशील र देशभक्तहरुको नेतृत्व गरिरहेको एमालेले लोकतन्त्रवादी शक्तिको समेत साथ र समर्थन लिनुपर्छ। स्वाभिमानको नेपाली मेरुदण्डमा उभिएर राष्ट्रिय एकतालाई मजबुत पार्दै समृद्धि र सामाजिक न्यायका लागि हातेमालो गर्नु नै भण्डारीप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ।

सदस्य, पार्टी स्कुल विभाग, एमाले

प्रकाशित: २१ असार २०७३ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App