यसलाई किलोग्राममा मापन गर्ने हो भने शून्य गणनामा एक, दस, सय, हजार, लाख ... भन्दै २५ पटक लगातार औंला भाँच्नुपर्छ।
अर्थात् ५ हजार ९ सय ७४ का पछाडि २१ वटा शून्य थप्दा पृथ्वीको तौल निस्कन्छ।पृथ्वीको तौल ५९ हजार ७ सय ४० गुलसन किलोग्राम छ। गुलसन भनेको दस अंकका पछाडि १८ वटा शून्य थपेर आउने अंक हो जुन गणनामा सबैभन्दा ठूलो मानिन्छ।
पृथ्वीको तौलको गणना गुरुत्वाकर्षण सम्बन्धी नियम र गणितको प्रयोग गरेर निकालिन्छ। यसभित्र हाम्रो ग्रहमा भएको सबै पदार्थ धुलोका कणदेखि महासागरको पानीसम्म अटाएको छ।
पृथ्वीको तौल भने कुनै एक स्थानमा सधैं स्थिर रहँदैन। पदार्थ सर्ने अर्थात् एकतिर थुप्रिने क्रमले समय–समयमा यो परिवर्तन भइरहन्छ। त्यसमा पानीले प्रमुख भूमिका खेल्छ।
पछिल्लो समयमा जलवायु परिवर्तन पृथ्वीको तौल एक स्थानबाट अर्को स्थानमा सर्ने क्रम तीव्र छ जसले पृथ्वीको उत्तरी ध्रुवलाई पनि पूर्वतर्फ सारेको छ।
नेसनल एरोनोस्टिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को अध्ययनअनुसार जलवायु परिवर्तनका कारण तीव्र रुपमा पग्लिँदै गएको उत्तर तथा दक्षिण ध्रुवको हिउँ, सुक्दै गएको क्यापियन सी र दक्षिण एसियामा गहिरिँदो खडेरी उत्तरी ध्रुव पूर्वतर्फ सर्नुको प्रमुख कारण हो।
सो अनुसन्धानको नेतृत्व गरेका नेपाली वैज्ञानिक सुरेन्द्र अधिकारीका अनुसार उत्तरी ध्रुव पूर्व वा पश्चिम सर्नुमा ग्रिनल्यान्डको पग्लिएको हिउँका कारण ४० प्रतिशत, अन्टार्टिकामा रहेको हिउँ पग्लँदा हुने परिवर्तनका कारण २५–३० प्रतिशत र बाँकी विभिन्न महादेशमा हुने अन्य परिवर्तनले हो।
'भूमध्यरेखामा भन्दा ४५ डिग्री अक्षांश आसपास तौलमा आउने परिवर्तनले ध्रुवीय दिशा र गतिमा हुने परिवर्तनमा बढी प्रभाव पर्छ,' अमेरिकाको क्यालिफोर्नियामा रहेका अधिकारीले भाइबर संवादमा नागरिकसँग भने, '३० देखि ६० डिग्री अक्षांशभित्र ठूलो बाँध निर्माण गरेर पानी जम्मा गर्ने गर्ने हो भने त्यसले ध्रुवको दिशा र चालमा परिवर्तन ल्याउन सक्छ।'
यसबारे नेपाली वैज्ञानिक अधिकारी र एरिक इभिन्सको अनुसन्धान आलेख अप्रिल सुरुमा 'साइन्स एडभान्स जर्नल' मा प्रकाशित छ।
सन् १८९९ देखि नै वैज्ञानिकहरुले पृथ्वीका ध्रुव र त्यसको चाल मापन गर्दै आएका छन्। एक दशकमा कहिले पूर्व र कहिले पश्चिमतर्फ सर्ने ध्रुव पूरै बीसौं शताब्दी पश्चिम क्यानडातर्फ ढल्केको थियो। २१औं शताब्दीको सुरुआतदेखि यो पूर्वतर्फ अर्थात् इङ्ल्यान्डतर्फ ढल्किन थालेको अनुसन्धानले देखाएको अधिकारीले बताए।
'करिब एक दशकयता पृथ्वीको धु्रवको अवस्थिति घडीको पेन्डुलमजस्तो यताउति गरेको थियो,' उनले भने। प्रत्येक वर्ष १० सेन्टिमिटरका दरले उत्तरी ध्रुव पूर्वतर्फ सरेको छ।
'एक दशक समयमा उत्तरी ध्रुव पूर्व वा पश्चिमतिर सर्ने गरेको भए पनि त्यो कसरी हुन्छ भन्ने विषय रहस्यकै रुपमा थियो,' अधिकारीले भने, 'पृथ्वीका विभिन्न स्थानका तौल परिवर्तनले यस्तो भएको हाम्रो अध्ययनले देखाएको छ।'
अधिकारीले ध्रुवमा हुने परिवर्तनका कारण खुलाउन सकेकैले कारण अहिले उक्त अध्ययन विश्वभर चर्चामा रहेको जानकारी दिए।
अमेरिका र जर्मनीले संयुक्त रुपमा छाडेको दुइटा भूउपग्रहले पृथ्वीका स्थानविशेषमा आउने परिवर्तन मापन गरिरहन्छन्। दुइटा ती भूउपग्रहले पृथ्वीको स्थानविशेषमा हुने गुरुत्वाकर्षण शक्तिमा आउने परिवर्तनका आधारमा कतातिर तौल थुप्रिँदैछ भनेर अध्ययन गर्ने गर्छ।
'पृथ्वीमा रौंबराबरको परिवर्तन देखियो भने पनि त्यसले मापन गर्न सक्छ,' अधिकारीले भने।
सामान्यतया पृथ्वीको गुरुत्वाकर्षण शक्तिको मापन ९.८ किलोमिटर प्रतिसेकेन्ड गरेको भए पनि त्यो स्थानअनुसार धेरथोरै फरक हुन्छ। तौल थुपिँ्रदै जाँदा उक्त ठाउँमा बढी र घटेको ठाउँमा तौल पनि कम हुन्छ।'
यो नियमित प्रक्रिया भएपनि जलवायु परिवर्तनको कारण पछिल्लो समयमा उत्तरी तथा दक्षिण ध्रुवको आसपास थुप्रिएको हिउ तीव्र रुपमा पग्लिदा त्यसले समस्या सिर्जना गर्ने विभिन्न अध्ययनहरुले देखाएको छ।
'धेरैलाई ग्रिनल्याण्ड वा अन्टारटिकामा हिउँ पग्लिँदा त्यो त्यसकै आसपासमा बस्छजस्तो लाग्न सक्छ,' अधिकारीले भने, 'तर त्यस्तो होइन। त्यो बढी तौल भएको ठाउँतिर थुप्रिँदै जान्छ, त्यसले समस्या सिर्जना गर्छ।'
अधिकारीले करिब डेढ वर्षको अध्ययनपछि सार्वजनिक गरेको तथ्यले पृथ्वीको तापमानमा भइरहेको परिवर्तनले पारेको असरबारे नयाँ प्रमाण दिएको हो।
यसअघिदेखि नै विभिन्न वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनको मानवजीवनका गम्भीर असर गर्ने चेतावनीयुक्त अनुसन्धान सार्वजनिक भएका छन्।
जलवायु परिवर्तनको असरका कारण यसअघिको पनि प्रमुख सभ्यता लोप भएका छन्। त्यसमा दक्षिण एसियाका इन्दुस नदीको सभ्यता पनि हो। उत्तरपश्चिम भारतदेखि अफगानिस्तानसम्म फैलिएको हजारौं वर्षको मोहेन्जोेदारो र हरप्पा सभ्यताका दशकै लामो खडेरीका कारण पूरै नष्ट भएको थियो।
पछिल्लो समय सिरियामा देखिएको द्वन्द्वका कारण पनि खडेरीसँग जोडेर हेर्ने गरिएको छ।
२१औं शताब्दीको सुरुआतबाटै गहिरिएको खडेरीका कारण गाउँ छाडेर धेरै मानिस सहर पसेपछि उत्पन्न भएको समस्याका रुपमा हेरेका छन्।
'आज लामखुट्टेले टोक्ने, भोलि औलो लाग्ने र पर्सि मर्नेजस्तो जलवायु परिवर्तनको असर तुरुन्त देखिने होइन। हाम्रो जीवनकालमा परिवर्तन देखिएला तर छोरानातिका पालासम्म पुग्दा जीवनमै असर गर्नेछ,' अधिकारीले भने, 'जलवायु परिवर्तनको असर दीर्घकालीन हो। समयमै यसलाई कम बनाउन सकिएन भने भयावह अवस्था सिर्जना गर्नेछ।'
एसियाको प्रमुख पानीको स्रोतमध्ये पर्ने हिमालय क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्र हो। यहाँका हिमनदीसँग करोडौंका जीवन जोडिएको छ।
क्यानडाबाट हिमालय क्षेत्रका हिमनदीको अवस्थाबारे अध्ययन गरेका अधिकारीले नयाँ परियोजनाका रुपमा यहाँ विषय छानेका छन्।
नासाभित्रै पनि परियोजनाका लागि उच्च प्रतिस्पर्धा हुन्छ। आफूले गर्न चाहेको विषयमा अधिकारीलाई बुझाएर रकम लिन सक्नु पनि निकै मिहिनेतको आवश्यक पर्ने अधिकारीको बुझाइ छ। 'प्रिसिपिल इन्भेस्टिगेटरका रुपमा नयाँ परियोजनामा काम गर्दैछु,' उनले भने।
यसअघि उनले स्थानीय स्तरमा हुने परिवर्तनले विश्वव्यापी रुपमा कस्तो असर पर्छ भन्ने विषयमा अध्ययन गरेका थिए।
'यो बढी नै प्राविधिक र सैद्धान्तिक विषय थियो,' अधिकारीले भने, 'ध्रुव सरेको जस्तो धेरै मानिसलाई आकर्षित गर्न नसकेपछि अध्ययन अनुसन्धानको विषय भने महत्वपूर्ण छ।'
अधिकारीले काठमाडौ वा यसभन्दा पनि सानो स्थानमा हुने कुनै प्रकारको परिवर्तनले विश्वव्यापी रुपमा कस्तो असर गर्छ भनेर अध्ययन भएको बताए।
प्रकाशित: १७ वैशाख २०७३ १९:४४ शुक्रबार