'अझै पनि सडक निर्माणलाई वास्ता गरिएको छैन । सबैले आश्वासन मात्रै दिन्छन । काम भने हुँदैन,' बाजुराका स्थानीय रामहरी पण्डितले भने, 'सडक निर्माण भइसकेको भए बाजुराको गरिबी पनि कम हुन्थ्यो ।' बाजुरावासीले सडककै लागि पटक–पटक आन्दोलन गरिसकेका छन् । यसअघिका ५ वटा सरकारले लगातार बाजुरा सडक कालोपत्रे गर्ने र सदरमुकामसम्म यातायात सञ्चालन हुने आश्वासन दिएको स्थानीयले बताउँछन् । अहिले जिल्लाबाट ५ सभासद संविधानसभामा छन् । उनीहरुले सडक सदरमुकाम पुर्याउने कामलाई उच्च प्राथमिकतामा राखेर पहल नगरेको जिल्लावासीको गुनासो छ ।
५७ किलोमिटर लम्बाइको साँफेबगर–मार्तडी सडक निर्माण दुई दशकअघि सुरु भएको हो । २८ किमिमा पर्ने बार्जुगाढसम्म अढाई वर्षअघि ओटासिल गरिएको छ । त्यस अगाडिको खण्डमा भने कालोपत्र नभएकाले मार्तडीसम्म बस पुग्दैन । हिउँदमा तिपाडासम्म बस सेवा सञ्चालन हुने भए पनि वर्ष लागेपछि बेतालमाडौंसम्म एक दिन हिँड्नुपर्छ । 'बाजुराको बिकास नहुनुमा सडक पनि एक बाधक बनेको छ,' स्थानीय अगुवा राजबहादुर रावलले भने, 'सरकारी लापरवाहीले गर्दा पनि सडक निर्माण ढिलो भएको छ ।'
यस सडकको बार्जुगाढदेखि मार्तडीसम्मको ३० किलोमिटर सडकलाई सम्झौता भएको थियो । अहिले निर्माणको काम सुरु भएको हुदाँ यही गतीमा गए अब दुई बर्षमा बाजुरा सदरमुकाममा कालोपत्रे सडक पुग्ने जिल्ला इन्जिनियर पाण्डेयले बताए । सडक निर्माणका लागि पिएस कन्स्ट्रक्सन, हिन्दुस्तान इन्डिया लिमिटेड र लामा कन्स्ट्रक्सनले गत जेठ २५ मा सम्झौता गरेका थिए । २०७१ चैतदेखि मात्रै ठेकेदारले काम सुरु गरेका कारण अझै सडक पक्की पुग्न दुई वर्ष लाग्ने प्राबिधिकहरुको भनाइ छ । बाजुरा सदरमुकाम पुग्ने सडकमा ६ वटा पक्की पुल पर्ने गर्दछ । ती पक्की पुल निर्माणको क्रममा रहेको कारण पनि बाह्रै महिना सदरमुकाम बस पुग्न अझै दुई÷चार वर्ष लाग्ने प्राबिधिकहरु बताउँछन् । पटक पटक सभासद भएका व्यक्तिहरु निर्माणका खासै ध्यान नदिदाँ ढिलासुस्ती भएको स्थानीयको आरोप छ । दोस्रो संविधानसभामा एमाले तर्फबाट उमेदबार कर्णबहादुर थापाको पहिलो मुद्दा बाजुरा सदरमुकाममा पक्की सडक पुगाउँने थियो । सभासद हुदै मन्त्री भई सकिदाँ पनि उनले सडक निर्माणको खासै ध्यान दिन नसकेको स्थानीयको आरोप छ ।
सडकको बार्जुगाढदेखि मार्तडीसम्मको ३० किलोमिटर खण्ड दुई वर्षभित्र कालोपत्रे गरिसक्ने सम्झौता भएको थियो । सडक निर्माणका लागि ६९ करोड रुपैयाँको ठेक्का भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । एक वर्षभित्र ३० प्रतिशत उपलपब्ध गर्नैपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । दातृ संस्थाको सर्तअनुसार ५१ प्रतिशत हिस्सा हिन्दुस्तान इन्डिया लिमिटेडको भागमा परेको छ । बाँकी २५ प्रतिशत लामा कन्स्ट्रक्सन र २४ प्रतिशत पीएस कन्स्ट्रक्सनले जिम्मा पाएका छन् । '२८ किलोमिटर सडक काट्नै दिनभरी लाग्छ ।' साफेबगर–बाजुरा सडकका चालक सडक कुन्जेडाले भने, 'खाल्टाखुल्टी भएको सडक अरु ठाउँमा कुनै छैन । एक पटक गाडी पुर्याएपछि त्यसको मर्मतका लागि मात्रै हजारौं रुपैया खर्च हुने गरेको छ,'उनले भने ।
मार्तडीसम्म बाह्रै महिना चल्ने सडक नहुँदा बासिन्दाले समस्या झेल्दै आएका छन् । दुई दशकअघि निर्माण सुरु भएको साँफेबगर–मार्तडी सडकमा हिउँदका ६ महिना मात्रै बेतालमाण्डौसम्म यातायातका साधन सञ्चालन हुन्छन् । मार्तडीसम्म ट्रयाक खुले पनि वर्षायाममा यात्रीवाहक र ढुवानीका साधन चल्दैनन् । हालसम्म सडक स्तरोन्नति नभएकामा बाजुरावासी निरास छन् । सरकारले बाजुरालाई हेपेकै कारण सडक निर्माण हुन नसकेको नागरिक समाजका अगुवा दयाराम पण्डितले बताए । पक्की सडक नबन्दा अधिकांश सवारी साधान साफेबगर भन्दा केही किलोमिटर भन्दामाथि जाने मान्दैनन् ।
प्रकाशित: २१ जेष्ठ २०७२ ०३:२७ बिहीबार