१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्वार्ता

‘वर्तमानमा शिक्षामा लगानी, भविष्यमा गुणस्तरीय स्वास्थ्य’ नारा तय गरेका छौं

कर्णाली विशेष

उमेश पाैडेल, मेयर, लेकबेंसी नगरपालिका

प्रदेश राजधानीसँग जोडिएको भए पनि विकासका दृष्टिले लेकबेँसी नगरपालिका पछाडि परेको छ, स्थानीय सरकारको प्रमुखको हैसियतले यस पालिकाको समग्र विकासका लागि आगामी पाँच वर्षका योजना केके छन ?

आगामी पाँच बर्से कार्यकाललाई पूर्वाधार निर्माणका वर्षका रूपमा लिएका छौं। तपाईंले भनेजस्तै कर्णाली प्रदेशको राजधानीसँग जोडिएको नगरपालिका भए पनि यहाँ सडक पूर्वाधारका हिसाबले धेरै दुर्गम छ। लेकबेँसीका १० वटै वडामा तत्कालका लागि बाह्रै महिना यातायात साधन सञ्चालन हुने गरी सडक सुधार र निर्माण गर्दै छौं। आगामी पाँच वर्षभित्र सबै वडामा कालोपत्रे सडक पुर्‍याउने लक्ष्य छ। यसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिरहेका छौं। हामी निर्वाचित भएर आएको छोटो समयमै दुई किलोमिटर सडक कालोपत्रे पनि सम्पन्न गरेका छौं।

नगरपालिका आफैंले सबै वडामा कालोपत्रे सडक पु¥याउन सक्ने अवस्था छैन। पाँच वर्षभित्र सबै वडाका कुनकुन सडक कालोपत्रे गर्ने भनेर कार्ययोजना बनाएका छौं। सोहीअनुसार संघीय र प्रदेश सरकारसँग आवश्यक बजेटको प्रबन्ध मिलाउँदै छौं। संघ र प्रदेशले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा कार्ययोजनामा समावेश भएका सडकका लागि पर्याप्त बजेट आउने अपेक्षा गरेका छौं। ‘समृद्धिका लागि सडक’ नारा तय गरेर सडक पूर्वाधारमा केन्द्रित भएका छौं।

यस्तै निर्वाचनका बेला हामीले आगामी पाँच वर्षभित्र हरेक घरमा खानेपानी धारा पुर्‍याउने बाचा गरेका छौं। सोहीअनुसार स्थानीय सरकारले प्रदेश, संघ र विभिन्न दातृ निकायसँग समन्वय गरेर काम गरिरहेको छ। चालु आर्थिक वर्षमा वडा नं ३ र १० का हरेक घरमा खानेपानी धारा पुर्‍याउँदै छौं। शिक्षा र स्वास्थ्य सुधारका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं। कृषिको व्यवसायीकरणका साथै उत्पादन र उत्पादकत्व बढाउने खालका कार्यक्रम ल्याएका छौं। यी सबैको नतिजा आउन भने समय लाग्ने छ।

लेकबेँसी नगरपालिका भेरी किनारदेखि लेकसम्म फैलिएको छ, लेक र बेँसीको विकास योजना केके छन्?

तपाईंले भनेजस्तै लेक र बेँसी मिलाएर यो नगरपालिकाको नाम लेकबेँसी नगरपालिका रहन गएको हो। १० वटै वडामा केही न केही सम्भावना छन्। बेँसीलाई हामीले अन्न उत्पादन भण्डारका रूपमा अघि बढाएका छौं भने लेकलाई बहुमूल्य जडिबुटी र मासुजन्य उत्पादनका लागि छुट्याएका छौं। बेँसीमा अन्नबाली, तरकारी र दुध उत्पादन पकेट क्षेत्र बनाएका छौं। सोहीअनुसार कृषकका लागि अनुदान र सहयोगका कार्यक्रम तय गरेका छौं।

लेकमा खसी–बाख्रापालन र मसलाजन्य एवं बहमूल्य जडिबुटी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेका छौं। यसका साथै भेरी नदी किनारमा सुन्दर बस्ती बसाउने योजना पनि अघि बढाएका छौं। लेकबेँसीसँगै भेरीगंगा र गुर्भाकोट नगरपालिकालाई समेटेर ‘भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर’ निर्माण हुँदै छ। यसका लागि छुट्टै आयोजना कार्यालय स्थापना भएको छ।

सुर्खेत क्षेत्र नं १ बाट निर्वाचित सांसद एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा भेरी किनारमा सुन्दर बस्ती बसाल्ने कामको सुरुवात भएको छ। हामीले भू–उपयोग नीति बनाएर कार्यान्वयनमा ल्याउँदै छौं। भू–उपयोग नीतिले नगरपालिकाको स्वरूप कस्तो हुन्छ भन्ने तय गरेको छ।

तपाईं निर्वाचित भएर आएलगत्तै पाँच वर्षमा पाँचजना एमबिबिएस डाक्टर पढाउने घोषणा गर्नुभयो, यसको उद्देश्य के हो?

पहिलो कुरा अहिलेसम्म लेकबेँसी नगरपालिकाका कोही पनि स्थानीय एमबिबिएस डाक्टर छैनन्। आफ्नो पालिकाका पाँच जनालाई डाक्टर बनाउने उद्देश्यअनुरूप हरेक वर्ष एकजनालाई डाक्टर पढाउने नीति लिएका हौं। यो नीतिको पछाडिको कारण स्वास्थ्यसँग जोडिएको छ। लेकबेँसीमा कोही पनि डाक्टर जान मान्नु हुन्न। हामीले पटकपटक प्राथमिक स्वास्थ्य चौकी दशरथपुरका लागि डाक्टर उत्पादन गर्न दर्खास्त आह्वान गर्‍यौं तर कोही पनि जान मान्नु भएन। कम्तीमा हामीले पढाएका डाक्टर आफ्नै ठाउँमा बसेर सेवा गरून् भन्ने हो। यसका लागि हामीले ‘वर्तमानमा शिक्षामा लगानी, भविष्यमा गुणस्तरीय स्वास्थ्य’ नारा तय गरेका छौं।

चुनावका बेला गरिएका वाचाअनुसार अहिलेसम्म केके काम भए?

हामी निर्वाचित भएको धेरै समय भएको छैन। यसकारण अहिल्यै मूल्यांकन गर्ने समय भएको छैन। निर्वाचित भएलगत्तै केही सडक कालोपत्रे गर्न सफल भएका छौं। केही सडक कालोपत्रे गर्ने प्रक्रियामा छौं। हामीले बजेट ल्याउँदा टुक्रे आयोजनाको सट्टा परिणाम देखिने र दीर्घकालीन प्रभाव पर्ने योजना छनोट गरेका छौं। न्यूनतम १० लाखमाथिका योजना मात्रै समावेश गरेका छौं। योजना र आवश्यकताको प्राथमिकीकरण गरेका छौं। टुक्रे योजनालाई निरुत्साहित गरेका छौं। अहिले जेजे काम गरिरहेका छौं, त्यसको परिणाम केही वर्षपछि देखिने छ।

लेकबेँसी नगरपालिकामा पर्यटकीय पूर्वाधारको कमी छ, पर्यटन प्रवर्द्धनका लागि केके काम  गर्दै हुनुहुन्छ?

हो, पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि सडक पूर्वाधार पहिलो आधार हो। यस आधारमा सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका छौं। यो नगरपालिका बेँसीदेखि लेकसम्म फैलिएको क्षेत्र हो।

बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने योजना अनुसार भेरी नदीको पानीलाई बबईमा झार्ने तयारी हुँदै छ। यसका लागि ड्याम बन्दै छ। त्यो ड्यामका कारण भेरी नदी समुद्र आकारमा फैलिन्छ। यसले जलयात्राको सम्भावना बढाई पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका छौं। साथसाथै सदरमुकाम वीरेन्द्रनगरदेखि बाँकेसम्म अवलोकन गर्न मिल्ने वडा नं २ को स्कुल डाँडा, वडा नं ८ को लामीडाँडा–५ नेटाका विभिन्न स्थानलाई पर्यटकीय भ्युका रूपमा विकास गर्दै छौं।

प्रकाशित: ३० चैत्र २०७९ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App