१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कठोर मनका किम जीवनमा ‘पहिलोपटक’ किन रोए? (भिडिओ)

सामान्यतया विश्वमा कठोर व्यक्तित्वका रूपमा परिचित उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन शनिबार आयोजित सैन्य परेड कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने भावुक भए।  

उनी यसरी भावुक भएको सम्भवतः संसारले पहिलोपटक देखेको हुनुपर्छ।

उनले आफ्नो मन्तव्यका क्रममा बलिदानी दिने सैनिकलाई धन्यवाद दिए। अनि उत्तर कोरियाली जनताको जीवन स्तरीय बनाउन नसकेकामा माफी मागे।  

न्युज एजेन्सी रोयटर्सका अनुसार किम जोङ उनले आफ्नो पार्टीको ७५औं वार्षिकोत्सवमा देशवासीलाई सम्बोधन गर्दै विनाशकारी आँधी र कोरोना महामारीको चपेटाबाट मुलुकलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सेनालाई धन्यवाद ज्ञापन गरे।  

स्टेट टेलिभिजनले एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ। जुन फुटेज एडिट गरिएको हो, जसमा किमका आँखाभरि आँशु देखिन्छ। अनि गला अवरुद्ध पार्दै आँशु पुछिरहेको देखिन्छ।  

भिडिओमा उनी भन्छन्, ‘म यस मानेमा आभारी छु कि अहिलेसम्म एकजना उत्तर कोरियाली पनि कोरोनाबाट संक्रमित भएका छैनन्।’  

तर उनको दाबीमा अमेरिका र दक्षिण कोरियाले शंका व्यक्त गरेका छन्।  

यस क्रममा किमले आफ्ना नागरिकसँग माफी मागे र कोरोना महामारी, अमेरिकी प्रतिबन्ध र आँधीबेहरीका कारण आफूले सोचअनुसार नागरिकको जीवन स्तरमा सुधार ल्याउन बाधा पुगेको भन्दै दुःख प्रकट गरे।  

उनले आफ्नो सम्बोधनमा भनेका छन्, ‘मेरो प्रयास र यससम्बन्धी मेरा सोच देशवासीलाई जीवनको कठिनाइबाट मुक्त गराउनाका लागि पर्याप्त छैनन्। तर पनि जनताले मप्रति ठूलो विश्वास गरेका छन् र मेरा हरेक निर्णय र कदममा साथ दिएका छन्।’

परमाणु अतियार र क्षेप्यास्त्रसम्बन्धी कार्यक्रमका कारण उत्तर कोरियाविरुद्ध पहिलेदेखि कैयौं अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएका छन्। जसको सीधा असर उसको अर्थव्यस्थामा परेको छ।  

साथै अहिलेको यो कोरोना महामारी नियन्त्रणका लागि उत्तर कोरियाका  लगभग सबै सीमामा यातायात बन्द गरिएको छ, जसले गर्दा उसको अर्थव्यवस्था अझ बिग्रिँदै गएको छ।  

संयुक्त राष्ट्र संघले त्यहाँको जनसंख्याको ४० प्रतिशतभन्दा बढी मानिस भोकमरीको चपेटामा पर्ने आकलन गरेको छ। साथै गर्मी मौसममा आउने बाढी र आँधीले यो अभावलाई थप बढाउने देखिएको छ।  

न्युज एजेन्सी रोयटर्सका अनुसार किमका आँखामा आँशु देखेपछि उपस्थित दर्शक/स्रोताले पनि आँशु थाम्न सकेनन्।

भिडिओ

प्रकाशित: २७ आश्विन २०७७ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App