२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा थप एकको मृत्यु, कूल संख्या चार पुग्यो

भारतको जम्मुस्थित सरकारी मेडिकल कलेज अस्पताल परिसरभित्र स्प्रे गर्दै कर्मचारी। तस्बिर:एपी।

नयाँ दिल्ली – कोराना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा बिहीबार थप एक जनाको ज्यान गएसँगै मर्नेको संख्या चार पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पन्जाब प्रान्तमा बिहीबार कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषले ज्यान गुमाएका छन्। ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनी भ्रमण गरेर भारत आएको पाइएको छ।

यसअघि भारतको दिल्ली, कर्नाटक र मुम्बईमा कोरोना संक्रमणबाट एक–एक जनाको ज्यान गएको थियो। वल्र्डओमिटरडटइन्फोका अनुसार भारतमा १९७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घन्टामा त्यहाँ २८ जनामा संक्रमण देखिएको छ। यस्तै, कूल संक्रमितमध्ये २० जना उपचारपछि सन्चो भएर घर फर्किएको वल्र्डओमिटरडटइन्फोले जनाएको छ।

दक्षिण एसियामा सबैभन्दा बढी संक्रमित पाकिस्तानमा देखिएका छन्। वल्र्डओमिटरडटइन्फोका अनुसार त्यहाँ ३८० जनामा संक्रमण पुष्टि भएको छ। जसमा दुई जनाको ज्यान गएको छ भने १३ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। पछिल्लो २४ घन्टामा त्यहाँ ७३ जनामा संक्रमण देखिएको वल्र्डओमिटरडटइन्फोले जनाएको छ।

बंगलादेशमा बिहीबार बेलुकासम्म १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एकको ज्यान गएको छ भने तीन जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। दक्षिण एसियाका अन्य पाँच देशमा भने कोरोना संक्रमणबाट ज्यान गएको छैन। श्रीलंकामा ६०, अफगानिस्तानमा २२, माल्दिभ्समा १३ र नेपाल तथा भुटानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ।

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट बिहीबार रातिसम्म विश्वभर ९ हजार तीन सय १० जनाको ज्यान गइसकेको छ। विश्वभर दुई लाख २६ हजार तीन सय ४४ जनामा संक्रमण पुष्टि हुँदा ८५ हजार नौं सय ८५ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।

प्रकाशित: ७ चैत्र २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App