२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको मध्यपूर्व शान्ति योजना सार्वजनिक : प्यालेस्टिनीद्वारा अस्वीकार

ओरिकाको वासिंटन डिसिस्थित ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतानयाहुलाई बधाई दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तस्बिर : रोयटर्स

वासिंटन (एपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन्।

ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गरेका हुन्। उनले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भनेका छन्।

शान्ति योजनाको संयुक्त घोषणा त्यतिखेर भएको छ, जतिखेर ट्रम्प र नेतान्याहु दुवैले आन्तरिक राजनीतिक चुनौती बेहोरिरहेका छन्। राजनीतिक विश्लेषकहरूले योजनालाई दुवैले आफ्नो निर्वाचन अभियानमा भोट जम्मा गर्ने रणनीतिका रूपमा अथ्र्याएका छन्।

शान्ति योजनामा इजरायलले ‘महत्वपूर्ण भौगोलिक सम्झौता’ गर्ने र प्यालेस्टिनी राज्यको इलाकालाई युद्धमार्फत इजरायलले कब्जा गरेको जेरूसेलमसहितको प्यालेस्टिनी भूमि बराबर दिने प्रस्ताव गरिएको छ। झट्ट हेर्दा यसलाई आपसी सहमतिमा जमिनको सट्टापट्टा गरी इजरायल र प्यालेस्टिनी बीचको विवादलाई अन्त्य गर्ने योजनाजस्तो मान्न सकिन्छ।

योजनासँगै सार्वजनिक गरिएको अवधारणात्मक नक्साले प्यालेस्टिनी राज्यले दाबी गर्दै आएको भूगोललाई छुट्टाएको देख्न सकिन्छ। योजनामा इजरायली र प्यालेस्टिनी समुदायको बस्तीहरूलाई जोड्न दुवै पक्षले अनुकूलता अनुसार पुल, सुरूङ तथा सडक मार्ग (जसलाई ‘व्यवहारिक यातायात समाधान’ भनिएको छ)को व्यवहारिक आदानप्रदानको धारणा पेश भएको छ। यसो गर्दा वेस्ट ब्यांकको एक चौथाई जमिन रहेको जोर्डन भ्यालीमा इजरायली पक्षको सार्वभौमसत्ता कायम रहनेछ।

सम्बोधनमा ट्रम्पले भने, ‘आजको सम्झौता प्यालेस्टिनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो। ७० वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ।’

इजरायली नेता बेन्जामिन नेतन्याहुको यहुदी वस्ती विस्तार र जेरूसेलमलाई अविभाजित राजधानी बनाउने कडा नीतिको पक्षमा शान्ति योजना आएपछि यसले प्यालेस्टिनीहरूले यो आफ्नो भावनाविपरीत रहेको प्रतिक्रिया दिएका छन्।

योजनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुले ऐतिहासिक उपलब्धि भनेका छन्। नेतन्याहुले भने, ‘यो प्यालेस्टाइनसँगै मध्यपूर्वका अन्य मुलुकका लागि बृहत् अवसर हो। ‘यो इजरायलका लागि र मध्यपूर्वका लागि बृहत् योजना हो।’

ट्रम्पले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्यांकका बस्तीमाथि इजरायलको सार्वभौमिकता पनि प्रस्ताव गरेका छन्। यसैबीच, अमेरिकी योजनालाई प्यालेस्टिनी प्रधानमन्त्री महमुद अब्बासले प्यालेस्टिनी समुदाय विरूद्धको ‘षडयन्त्र’ भन्दै अस्वीकार गरेका छन्। ‘म ट्रम्प र नेतान्याहुलाई भन्छु। जेरूसलेम बिक्रीमा छैन। हाम्रा सबै अधिकार बिक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ। यो षडयन्त्र सफल हुँदैन,’ रमल्लाहमा टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले भने।

मंगलवार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीहरूले विरोध प्रदर्शन गरेका थिए। योजना सार्वजनिक गर्ने तयारीसँगै इजरायली सेनाले इजरायल अधिनस्थ वेस्ट ब्यांकमा सैन्य उपस्थिति थप बलियो पारेको छ।

साउदी अरब र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन्। तर, साउदी अरबका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टिनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताएका छन्।

इजिप्टले प्यालेस्टाइन तथा इजरायल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता पुनः सुरु गर्न आह्वान गरेको छ। इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको हो।

तर, जोर्डनले मध्यपूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दाअघिको सिमानाबमोजिम सार्वभौम प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ। इजरायलले वेस्ट ब्यांक तथा गाजा क्षेत्रलाई सन् १९६७ पछि कब्जा गरेको थियो।

लेबनानस्थित इरान समर्थित हेज्बुल्लाह समूहले ट्रम्पको योजनाले प्यालेस्टिनी शरणार्थीको फिर्ता हुने अधिकार तथा प्यालेस्टिनी जनताको भूमि अधिकार हनन् गर्ने भन्दै त्यसलाई थोपर्ने प्रयास भनेको छ।

प्रकाशित: १६ माघ २०७६ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App