२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अभियुक्तलाई मृत्युदण्ड दिने मिति तोकियो

दिल्ली सामूहिक बलात्कारपछिको हत्यामा दोषी पाइएका अक्षय ठाकुर, विनय शर्मा, मुकेश सिंह र पवन गुप्ता। (माथिबाट तल)। तस्बिर स्रोत : डेक्कनहेराल्ड

नयाँ दिल्ली (बिबिसी) – भारतको एक अदालतले सन् २०१२ मा राजधानी दिल्लीमा भएको ‘सामूहिक बलात्कार’को घटनामा दोषी ठहर गरिएका चार व्यक्तिलाई मृत्युदण्ड दिने मिति तय गरेको छ।

अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई भारतको ‘फास्ट ट्रयाक’ अदालतले सन् २०१३ मै मृत्युदण्डको फैसला गरेको थियो।

राजधानी दिल्लीमा एक विद्यार्थीलाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरिएको थियो। बलात्कारका कारण घाइते २३ वर्षीया पीडित विद्यार्थीको १३ दिनपछि मृत्यु भएको थियो। अदालतले ती चारैजना दोषीलाई यही जनवरी २२ का दिन झुन्ड्याएर मृत्युदण्ड दिन आदेश दिएको छ। चारैजना अभियुक्तका वकिलले भने २२ जनवरीसम्मै अन्तिम कानुनी लडाइँ जारी राख्ने बताएका छन्।

भारतको सर्वोच्च अदालतले चारैजना अभियुक्तको अन्तिम चुनौतीलाई अस्वीकार नगरेसम्म र राष्ट्रपतिले उनीहरुका दया आचिकालाई खारेज नगरेसम्म मृत्युदण्ड दिन नसकिने कानुनी व्यवस्था छ। यद्यपि यी दुवै व्यवस्थामा ती अभियुक्तले निवदेन दर्ता गर्न बाँकी नै रहेको छ।

सन् २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कारपछिको हत्यालाई लिएर भारतभर व्यापक विरोध प्रदर्शन भएको थियो। यो घटनाको विश्वभर आलोचना भएपछि भारत सरकार बलात्कारविरोधी कानुन बनाउन बाध्य भएको थियो।

मंगलबारको अदालती सुनुवाईमा सरकारी अभियोजनकर्ताले सन् २०१२ को सामूहिक बलात्कारपछिको हत्याको घटनालाई लिएर अदालतलाई अघि बढ्न र दोषीमाथि मृत्यु वारेन्ट जारी गर्न आग्रह गरेका थिए। अभियुक्तहरुले सर्वोच्च अदालतमा निवेदन दर्ता नगर्नु भनेको मृत्युदण्डलाई पर सार्ने खेल भएको आरोप पनि लगाएका थिए।

दोषीलाई मृत्युदण्ड दिने मितिको घोषणामा ढिलाई भइरहेको विषयमा प्रश्न गर्दै आएकी पीडित विद्यार्थीको आमाले मंगलबारको अदालती निर्णयको स्वागत गरेकी छन्। ‘अदालतले आज चारैजना दोषीलाई मृत्युदण्ड दिने मिति जारी गरेकोमा म अत्यन्तै खुसी छु,’ उनले भनिन्, ‘हामीले पछिल्ला सात वर्ष अति नै धैर्यताका साथ कानुनी लडाइँ लडिरहेका थियौं।’ ‘बल्ल मैलै न्याय पाएँ,’ पीडितकी आमाले बिबिसीसँग बताइन्।

सन् २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कारपछिको हत्यालाई लिएर भारतभर व्यापक विरोध प्रदर्शन भएको थियो। यो घटनाको विश्वभर आलोचना भएपछि भारत सरकार बलात्कारविरोधी कानुन बनाउन बाध्य भएको थियो।
पीडितलाई भारतीय सञ्चारमाध्यमले ‘निर्भय’ को उपनामले सम्बोधन गर्ने गरेका छन्। भारतीय कानुनअनुसार पीडित विद्यार्थीको नाम उल्लेख गर्न मिल्दैन।

सो घटनामा संलग्न भएको आरोपमा सुरुमा ६ जनालाई पक्राउ गरिएको थियो। जसमध्ये राम सिंह नामका एक संदिग्ध सन् २०१३ को मार्चमा जेलमै मृत भेटिएका थिए। उनले आत्महत्या गरेका थिए।

घटना हुँदा १७ वर्षका मात्रै रहेका अर्का आरोपित भने तीन वर्ष जेल सजाय काटेपछि सन् २०१५ मा जेलमुक्त भएका थिए। उनी भारतीय कानुनले किशोरलाई प्रदान गरेको सुधार सुुविधाअन्तर्गत जेल जीवन बिताएर निस्किएका थिए।

भारतले विरलै मृत्युदण्ड दिने गरेको छ। सन् २००४ देखि अहिलेसम्म मात्रै चारजनालाई मृत्युदण्ड दिइएको छ। पछिल्लो समय मृत्युदण्ड दिइएका व्यक्ति याकुब मेमोन थिए। उनलाई कैयौंको ज्यान जाने गरी सन् १९९३ मा भारतको आर्थिक नगरी मुम्बईमा गराइएको बम विस्फोटनमा आर्थिक सहयोग गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो। उनलाई सन् २०१५ मा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो।

प्रकाशित: २३ पुस २०७६ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App