२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डढेलो नियन्त्रणका लागि थप तीन हजार सेना परिचालन गरिने

सिड्नी – अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ। प्रधानमन्त्री स्कट मोर्रिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताएका छन्। उनका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उनले थाहा पाएसम्मकै यो सबैभन्दा धेरै हो। 

‘धेरै सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ। धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मी राखेर खटाउछौं,’ प्रधानमन्त्री मोर्रिसनले बताए। उनले तयारी अवस्थामा रहेका तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिएका छन्।

झण्डै एक महिना अघिदेखिको विनाशकारी डढेलो नियन्त्रण हुन नसकिरहेकाले थप सैनिक परिचालन गर्नुपरेको प्रधानमन्त्री मोर्रिसनको भनाइ उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकले सघाइरहेका थिए। अधिकारीका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो।     आगलागीका कारण अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भएको र अरु २८ जना बेपत्ता भएको जनाइएको छ।

देशको भिक्टोरिया राज्यअन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्यान्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ। अस्ट्रेलियाको तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौं मानिस भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्। डढेलो ‘नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: २० पुस २०७६ ०४:२४ आइतबार

डढेलो अस्ट्रेलिया