२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आक्रोशित स्थानीयले गरे प्रधानमन्त्रीमाथि दुर्व्यवहार

सिड्नी – डढेलो प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेका अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनमाथि स्थानीयले  दुर्व्यवहार गरेका छन्। डढेलोले आक्रान्त हुँदा पनि सरकारले उचित प्रतिक्रिया नजनाएको भन्दै आक्रोशित स्थानीयले प्रधानमन्त्री मोर्रिसनमाथि दुव्र्यवहार गरेको बिबिसीले उल्लेख गरेको छ।

स्थानीयको अपमानपछि प्रधानमन्त्री मोर्रिसनले डढेलो प्रभावित क्षेत्रको अवलोकन छोट्याएर फर्किएका छन्। डढेलोले सबैभन्दा धेरै प्रभावित न्यु साउथ वेल्सस्थित कोबार्गोका पीडितलाई प्रधानमन्त्री मोर्रिसनले सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। न्यु साउथ वेल्सको सो क्षेत्रमा डढेलोको कारण दुईजनाको मृत्यु भएको छ भने कैयौं घरवारविहीन हुन पुगेका छन्।

स्थानीयवासीले गरेको व्यवहारले आफू अचम्मित नभएको प्रधानमन्त्री मोर्रिसनले प्रतिक्रिया दिँदै भनेका छन्। कोबार्गो पुगेलगत्तै प्रधानमन्त्री मोर्रिसन सामु स्थानीयले होहल्ला गरेका थिए। ‘डढेलो प्रभावित हाम्रो यत्रो सहरमा कसरी चारवटा ट्रकमात्रै पठाइयो ? किनभने हाम्रो सहरसँग पर्याप्त पैसा छैन, तर प्रधानमन्त्रीज्यू, हामीसँग सुनको मुटु छ,’ आक्रोशित एक महिलाले प्रधानमन्त्री मोर्रिसनसामु आक्रोश पोख्नि।

स्थानीयवासीले गरेको व्यवहारले आफू अचम्मित नभएको प्रधानमन्त्री मोर्रिसनले प्रतिक्रिया दिएका छन्।

इतिहासमै सबैभन्दा जटिल डढेलोका कारण आक्रान्त न्यु साउथ वेल्सका प्रिमियरले एक साता लामो संकटकाल घोषणा गरेका छन्। प्रख्यात सिड्नी सहर रहेको पूर्वी प्रान्त न्यु साउथ वेल्समा आगामी साता तापक्रम अझै बढ्ने र तेज हावा चल्ने पूर्वानुमान छ जसले डढेलोको खतरा अझै बढाउने बताइएको छ।

संकटकाल शुक्रबार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि सुरु हुने र सात दिन रहने बताइएको छ। प्रान्तीय सरकारले अगामी साताको अवस्था गत साता जत्तिकै नराम्रो हुनसक्ने बताएको छ। गत हप्ता डढेलोले सयौं घरमा नोक्सान पु-याएको थियो।

न्यु साउथ वेल्स र छिमेकी भिक्टोरियामा गत सेप्टेम्बरदेखि हालसम्म डढेलोको कारण कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ भने एक हजार दुई सयभन्दा धेरै घर ध्वस्त भएका छन्। यसै सातामात्रै सो क्षेत्रमा डढेलोका कारण कम्तीमा १७ जना हराइरहेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

डढेलोका कारण न्यु साउथ वेल्सका हजारौं मानिस सुरक्षित स्थानतर्फ लागेका छन् भने उनीहरु भेला भएका क्षेत्रमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको छ। स्थानीयलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई अहिलेसम्मकै सबैभन्दा ठूलो स्थानान्तरण भनिएको छ। यसअघि अधिकारीहरूले न्यु साउथ वेल्सको दुई सय ६० किलोमिटर लामो तटीय क्षेत्र शनिबार अगावै खाली गर्न निर्देशन दिएका थिए। यसको असरका रूपमा सिड्नी र राजधानी क्यानबेरा जाने सडकमा ट्राफिक जाम भएका छन् र पेट्रोल पम्पहरुमा लामो लाइन लागेको छ।

डढेलोको धुँवाको कारण क्यानबेराको वायु प्रदूषण बिहीबार अहिलेसम्मकै खराब बनेको बताइएको छ। अस्ट्रेलियाको हुलाक कार्यालयले पत्रसम्बन्धी कार्य अगामी सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ। यसैबीच, डढेलोका कारण न्यु साउथ वेल्सको छिमेकमा पर्ने भिक्टोरियामा फसेका करिब चार हजार मानिसलाई सुरक्षा फौजले उद्धार गर्ने तयारी गरिरहेको अस्ट्रेलियाली सरकारलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
 

प्रकाशित: १८ पुस २०७६ ०१:३४ शुक्रबार

प्रधानमन्त्रीमाथि_दुर्व्यवहार अस्ट्रेलिया_डढेलो