२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दूतावासमा आक्रमण गराएको भन्दै इरानलाई ट्रम्पको चेतावनी

वासिङ्टन – इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष संलग्न रहेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उसले ‘ठूलो मूल्य’ चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मंगलबार फोन गरेर बग्दादस्थित अमेरिकी दूतावासमा मंगलबार भएको घटनाप्रति आपत्ति जनाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा इरान निकटका इराकी प्रदर्शनकारीले मंगलबार आक्रमण गरेका थिए। टेलिफोन कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी काम चलाउ प्रधानमन्त्री मेहदीले क्षेत्रीय सुरक्षाका विषयमा छलफलसमेत गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उल्लेख गरेको छ।

इराकी काम चलाउ प्रधानमन्त्री मेहदीसँगको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले इराकमा रहेका अमेरिकी नागरिकको सुरक्षामा विषेश जोड दिएको ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा जनाइएको छ। टेलिफोन कुराकानीमै राष्ट्रपति ट्रम्पले इरानी पक्षले अमेरिकी दूतावासमा ‘नियोजित आक्रमण’ गराएको आरोप पनि लगाएको ह्वाइट हाउसको वक्तव्यमा जनाइएको छ।

नववर्ष २०२० को पूर्वसन्ध्यामा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले दूतावास आक्रमणका कारण कसैको मृत्यु भए वा कुनै पनि किसिमको क्षति पुगे इरानले ठूलो मूल्य चुकाउनुपर्ने ‘धम्की’ दिएका छन्।

त्यसैगरी, नववर्ष २०२० को पूर्वसन्ध्यामा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले दूतावास आक्रमणका कारण कसैको मृत्यु भए वा कुनै पनि किसिमको क्षति पुगे इरानले ठूलो मूल्य चुकाउनुपर्ने ‘धम्की’ पनि दिएका छन्। ‘यो चेतावनी होइन, धम्की हो,’ ट्विटमा ट्रम्पले लेखेका छन्।

‘संयुक्त राज्य अमेरिकाले संसारभरि जुनसुकै ठाउँमा पनि आफ्ना नागरिक र स्वार्थको रक्षा गर्छ,’ उनले ट्विटरमा लेखेका छन्। मंगलबारको घटनापछि अमेरिकी रक्षामन्त्री मार्क इस्परले आक्रमण भएको दूतावासका लागि थप सुरक्षाकर्मी पठाइसकिएको बताएका छन्। उनले दूतावास भएको क्षेत्रमा तत्काल सात सय ५० सैनिक परिचालित गरिने जानकारी पनि दिएका छन्।

अमेरिकी सुरक्षाकर्मीले आइतबार इराक र सिरियाका पाँच ठाउँमा हवाई हमला गरेका थिए। इराकी अर्धसैन्य बल हेजबुल्लाहको नियन्त्रणमा रहेका ठाउँमा अमेरिकी सुरक्षाकर्मीले आक्रमण गरेका हुन्। अमेरिकी सहयोगमा गत शुक्रबार गरिएका आक्रमणमा करिब दुई दर्जन लडाकु मारिएपछि बग्दादमा इराननिकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका थिए। क्रुद्ध प्रदर्शनकारीले अमेरिकी दूतावासमा सुरक्षाकर्मी बस्ने चौकी पनि जलाएका थिए। दूतावासभित्र आगन्तुकलाई स्वागत गरिने क्षेत्रसम्म प्रदर्शनकारी पुगेपछि अमेरिकी सैनिकले अश्रुग्यास प्रहार गरेका थिए।

अमेरिकी हवाई आक्रमणमा लडाकु मारिएपछि आक्रोशित प्रदर्शनकारीले बग्दादस्थित अमेरिकी राजदूतावासको पर्खालमा आगजनी गर्दै र ढुंगामुढासमेत गरेका थिए। उनीहरुले अमेरिका विरोधी नारासमेत लगाएका थिए। राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने व्यवस्था रहेको छ।

इरानको प्रतिक्रिया के छ ?
इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा मंगलबार भएको आक्रमणमा आफ्नो देशमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोपको इरानले खण्डन गरेको छ। अमेरिकाले निराधार आरोप लगाएको भन्दै तेहरानले निन्दासमेत गरेको छ।

अमेरिकाले निसाना बनाएको लडाकु समूह कताइब हेज्बुल्लाहलाई इरानले समर्थन गर्ने गरेको बताइन्छ। अमेरिकाले आइतबार गरेको हवाई आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो। उक्त समूहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरुले हातहतियार भण्डारण गर्ने स्थानलाई निशाना बनाएर अमेरिकाले आक्रमण गरेको थियो। अमेरिकाले हेज्बुल्लाहलाई आतंकवादी संगठन मानेको छ। इराकको सैन्य शिविरमा रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदार मारिएपछि अमेरिकाले उक्त कारबाही गरेको बताउँदै आएको छ।

प्रकाशित: १७ पुस २०७६ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App