१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

माेदीले भने 'एक देश, एक निर्वाचन'

फाइल तस्बिर ।

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब 'एक देश, एक निर्वाचन'को अवधारणा लागू हुने बताएका छन्। भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिए।

लालकिल्लाबाट छैटौंपटक सम्बोधन गरेका प्रधानमन्त्री मोदीले भने, 'जिएसटीले एक देश, एक करको सपनालाई साकार पारेको छ। ऊर्जा क्षेत्रमा पनि एक देश, एक ग्रीड प्रणाली कार्यान्वयनमा आइसकेको छ। अब एक देश, एक मोबिलिटी कार्डको प्रबन्ध हुँदैछ, र चाँडै हामी एक देश, एक निर्वाचनमा जानुको विकल्प छैन।'

एक भारत, श्रेष्ठ भारतको सपना पूरा गर्न केही जरुरी कामहरु गर्नुको विकल्प छैन भन्दै प्रधानमन्त्री मोदीले कश्मीरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा भएकाे बताए। उनले जम्मु कश्मीरलाई संविधानको धारा ३७० बाट हटाउने सरदार पटेल र अरु प्रमुख भारतीय नेताहरुहरुको चाहना आज पूरा भएको चर्चा गरे।

'हामी भिन्नभिन्न किसिमबाट सोच्न सक्दछौं तर हाम्रा लागि भारत पहिलो हो। मेरा लागि भारतको भविष्य मुख्य कुरा हो र मलाई राजनीतिक भविष्यको चिन्ता छैन। राजनीति आउँछ जान्छ तर मुलुकको स्वार्थलाई केन्द्रमा राखेर गरिएका कदमहरु सर्वोपरी हुन्,' उनले भने। एक देश, एक चुनावको अर्थ भारतीय लोकसभा र राज्य सभाहरुमा एकै किसिमको चुनावी व्यवस्था हो।

एएफपीका अनुसार 'हामी समस्या निम्त्याउने वा त्यसलाई लम्ब्याउने पक्षमा थिएनौं र त्यसमा हाम्रो विश्वास पनि थिएन। नयाँ सरकार बनेको ७० दिन पनि नबित्दै धारा ३७० इतिहास बन्यो। संसदको दुईतिहाई बहुमतले पारित पनि गरिसकेको छ,' मोदीले भने।

उनले जम्मु कश्मीर र लद्दाखमा रहेको पुरानो व्यवस्थाले भ्रष्टाचार, नातावाद र अन्याय मात्र बढेको चर्चा गर्दै पुरानो व्यवस्थाबाट महिला, बालबालिका, दलित, आदिवासी समुदायको अधिकार कटौती भएको दाबी गरे। (रासस-एएनआई)

प्रकाशित: ३० श्रावण २०७६ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App