१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बसले बेवारिसे बमलाई ठक्कर दिँदा कम्तीमा ३४ जनाको मृत्यु

हेरात – अफगानिस्तानको पश्चिमी भेगको राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुवाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ। बुधबार बिहान करिब ६ बजे भएको सो घटनामा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ। बम अफगानिस्तानको विद्रोही समूह तालिबानले राखेको अनुमान गरिएको छ।

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर धेरै सर्वसाधारण मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो। फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिएका छन्। उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुवाहक बसले ठक्कर दिएको बताएका छन्। सो घटनामा १० जना सख्त घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

राष्ट्रपतीय निर्वाचन हुनुअघि नै तालिबान समूहसँग शान्ति सम्झौता गर्ने अमेरिकी तयारी रहेको भए पनि महिनौंदेखि कतारमा जारी वासिङ्टन र विद्रोही तालिबानबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन।

फराहका गभर्नरका प्रवक्ता फारुक बाराकजाइले बम निकै शक्तिशाली भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन्। तालिबान समूहले भने सो घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन। राष्ट्रसंघले मंगलबार मात्र सार्वजनिक गरेको पछिल्लो विवरणमा सन् २०१९ का ६ महिनाको अवधिमा समग्रमा व्यक्ति हत्याको संख्यामा २७ प्रतिशतले कमी आएको भए पनि सर्वसाधारणको मृत्यु बढी भएको उल्लेख गरेको छ। अफगानिस्तानमा चालू वर्ष २०१९ को पहिलो छ महिनामा एक हजार ३ सय ६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने दुई हजार ४ सय ४६ जना घाइते भएका छन्।

समग्र सर्वसाधारणको मृत्युमध्ये पनि एक तिहाई बालबालिकाको संख्या रहेको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रसंघका अनुसार तालिबानका कारणभन्दा पनि सरकारी फौज र अमेरिकी नेतृत्वको फौजको कारबाहीमा बढी नागरिकको ज्यान गएको छ। राष्ट्रसंघले हिंसा रोक्न भइरहेका प्रयास निकै अपर्याप्त रहेको ठहर पनि सो प्रतिवेदनमा गरेको छ।

ऋफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा राष्ट्रपतीय निर्वाचन हुने घोषणा गरिएका कारण पनि देशभर हिंसा अझ बढ्ने अनुमान गर्न थालिएको छ। चुनावमा अफगानिस्तानका प्रमुख विद्रोही शक्ति तालिबान समूह र इस्लामिक स्टेटको पूर्णविमति रहेको छ। औपचारिक चुनावी अभियान प्रारम्भ हुनुअघि आइतबार काबुलमा भएको एक आक्रमणमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए। तालिबान समूहका आत्मघाती आक्रमणकारीले राष्ट्रपतिका सम्भावित उम्मेदवार अमरुल्लाह सालेहको काबुल कार्यालयमा आक्रमण गरेका थिए।

राष्ट्रपतीय निर्वाचन हुनुअघि नै तालिबान समूहसँग शान्ति सम्झौता गर्ने अमेरिकी तयारी रहेको भए पनि महिनौंदेखि कतारमा जारी वासिङ्टन र विद्रोही तालिबानबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन।

प्रकाशित: १६ श्रावण २०७६ ०१:२४ बिहीबार

राष्ट्रसंघ बम निर्वाचन तालिबान_समूह