१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिवियाली प्रधानमन्त्रीद्वारा सङ्कट निकासका लागि निर्वाचनको प्रस्ताव

त्रिपोली– संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री सेराजले लिवियाली राजनीतिक सङ्कट समाधानका लागि सन् २०१९ को अन्त्यसम्ममा संसदीय तथा राष्ट्रपतीय निर्वाचन गर्न सरकारका तर्फबाट प्रस्ताव ल्याएका हुन्।

सेराजले टेलिभिजन सम्बोधनमार्फत भने ‘मेरो राष्ट्रिय जिम्मेवारीको आधार तथा हामी (सरकार) माथिको आक्रमणका वावजुद मैले आज राजनीतिक पहलकदमी लिँदै वर्तमान् सङ्कट समाधानका लागि निर्वाचनको घोषणा गरेको छु र यसमा लिवियाली जनताले समर्थन जनाउन आग्रह गर्दछु।’

उनले निर्वाचनका लागि आफूले संयुक्त राष्ट्रसंघीय नियोगको समन्वयमा लिवियामा राष्ट्रिय सम्मेलन गर्ने र सम्पूर्ण राष्ट्रिय शक्तिलाई भेला गरी देशका सम्पूर्ण भागबाट जनताको प्रतिनिधित्व गराउने प्रस्ताव पनि उनले गरेका छन्।

प्रधानमन्त्रीका अनुसार देशमा आगामी अवस्थाका लागि एउटा रोड म्याप बनाई निर्वाचन सम्पन्न गर्नका लागि संवैधानिक आधार निर्माण गरी सम्मेलनबाट निर्वाचनका लागि सहमति जुटाइने छ।

‘सम्मेलनबाट निस्कने नतिजामा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउनका लागि विशेष सम्मेलनको आह्वानसमेत गरिनेछ’ सेराजले भने। तर सैनिक नेता खालिफा हफ्तरको नेतृत्वमा रहेको सेनाले गत अप्रिलदेखि सेराज सरकारको नियन्त्रणमा रहेको त्रिपोलीलाई आफ्नो नियन्त्रणमा लिन अभियान शुरू गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यस बर्ष लिवियामा भएका झडपमा कुल ६५३ जना मारिएका छन् भने तीन हजार ५ सय ४७ जना घाइते भएका छन्।

सेनाले पूर्व शासक कद्दाफीका समर्थक लगायतका समूहको नेतृत्व रहेको पूर्वी क्षेत्रमा रहेको सरकारलाई सहयोग गर्दै आएको छ। सिन्ह्वा

प्रकाशित: १ असार २०७६ १६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App