१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विडोडो पुनः राष्ट्रपति निर्वाचित

अप्रिल १७ मा भएको निर्वाचनमा मतदान गर्ने क्रममा आफ्नी पत्नी इरियानासहित राष्ट्रपति जाको विडोडो। तस्बिरः एजेन्सी

जकार्ता– पूर्व जनरल प्रबोवो सुविआन्तोलाई पराजित गर्दै जोको विडोडो पुनः इन्डोनेसियाका राष्ट्रपति निर्वाचित भएका छन्।

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा गत महिना सम्पन्न भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि विडोडो पुनः निर्वाचित भएको मंगलबार घोषणा गरिएको छ। राजधानी जकार्तामा कडा सुरक्षाबीच अप्रत्यासित रूपमा गत महिना सम्पन्न निर्वाचनको परिणाम मंगलबार घोषणा गरिएको हो। देशमा अशान्ति हुन सक्ने चिन्ताकै बीच मंगलबार नतिजा सार्वजनिक भएको बिबिसीले उल्लेख गरेको छ।

विडोडो पुनः निर्वाचित भएको घोषणा गरिएलगत्तै राजधानी जकार्तामा मात्रै करिब ३२ हजार सुरक्षाकर्मी परिचालन गरिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको इन्डोनेसियाको निर्वाचन आयोगले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेको बताइएको छ।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मंगलबार बिहान एक बजेर ४६ मिनेटमा मा विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो।

इन्डोनेसियाका ३४ वटा प्रान्तका एक सय ३० सहरमा मतगणना गरिएको आयोगले जनाएको छ। सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गरेका थिए भने भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबोवो सुविआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए।

विश्वको सबैभन्दा ठूलो मुसलमान बाहुल्यता रहेको इन्डोनेसियास्थित अमेरिकी राजदूतावासले नजिता सार्वजनिक गरेसँगै उच्च सुरक्षा सतर्कताका अपनाउनका लागि आह्वान गरेको थियो। निर्वाचन आयोगको कार्यालयलगायत जाकार्ताभर कडा सुरक्षा व्यवस्था गरिएको छ।

यद्यपि प्रबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका छैनन्। उनले पाँच वटा प्रान्तमा फेरि निर्वाचन गराउनुपर्ने अडान लिएको एएफपीले उल्लेख गरेको छ। यी प्रान्तमा धाँधली भएको प्रबोवोको दाबी छ। निर्वाचन मत परिणाम अस्वीकार गर्दै उनले कानुनी उपचार खोज्ने बताएका छन्। यद्यपि उनले आफ्ना समर्थकलाई शान्त रहन आह्वान पनि गरेका छन्।

विडोडो पुनः निर्वाचित भएको घोषणा गरिएलगत्तै राजधानी जकार्तामा मात्रै करिब ३२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

अवकाश प्राप्त जनरल प्रबोवोको चुनावी अभियन्ता एवं मतगणना प्रतिनिधि एजिस सुव्यक्तिले अन्तिम मत परिणाममा हस्ताक्षर गर्न अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ।

‘लोकतन्त्रविरुद्धको यो अन्यायपूर्ण, ठगिएको र झुट बोलिएको कदमलाई हामी स्वीकार गर्न सक्दैनौं,’ उनले बताए। अन्तिम मत परिणाम घोषणा हुनुपूर्व पनि उनले व्यापक धाँधली भएको र सडक संघर्षमा जान सक्ने चेतावनी दिएका थिए। यसअघिको निर्वाचनमा पनि धाँधली भएको भन्दै प्रबोवो इन्डोनेसियाको संवैधानिक अदातल गएका थिए तर अदालतले पनि उनको पराजयलाई सदर गरिदिएको थियो।

इन्डोनेसियामा यस पटकको निर्वाचन अभियान अत्यन्तै अस्वस्थ ढंगले चलेको थियो, जसमा धार्मिक मुद्दाले प्रमुख स्थान पाएको थियो। यद्यपि स्वतन्त्र पर्यवेक्षकहरुका अनुसार मतदान निष्पक्ष र स्वतन्त्र भएको थियो।

अप्रिल १७ मा सम्पन्न भएको इन्डोनेसियाली निर्वाचनमा करिब १९ करोड मतदाता मतदानका लागि योग्य रहेको थिए। सो निर्वाचनले २० हजार स्थानीय तथा राष्ट्रिय सांसदसमेत चुनेको छ।

देशको अवस्था कस्तो छ?
अन्तिम मत परिणाम सार्वजनिक भएसँगै देशैभर हिंसा फैलिन सक्ने अनुमानकैबीच व्यापक सुरक्षा संयन्त्रलाई प्रयोग गरिएको छ। अधिकारीहरुले सबैलाई शान्त रहन आग्रह गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरेका छन्।

पानीको फोहोरा हान्ने ट्ंयाक र छेकबारसहित निर्वाचन आयोगको मुख्यालायबाहिर व्यापक मात्रामा सुरक्षा अधिकारी परिचालन गरिएको छ।

गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित दर्जनौं आतंकवादी पक्राउ गरेको प्रहरीले बताएको थियो। उनीहरुमध्ये केहीले निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै हुने विजय ¥यालीलाई लक्षित गरेर बम विस्फोटको तयारी गरेको समेत प्रहरी स्रोतले उल्लेख गरेको छ। अमेरिकी दूतावासले पनि सोही दिन आफ्ना नागरिकलाई इन्डोनेसियामा हुने राजनीतिक कार्यक्रम र प्रदर्शनमा सहभागी नहुन चेतावनी जारी गरेको थियो।

के थियो चुनावी मुद्दा?
इन्डोनेसियाको पछिल्लो निर्वाचनमा विशेषतः दुईवटा समूहबीच प्रतिस्पर्धा रहेको थियो। दुवै पक्षले अर्थतन्त्र, पूर्वाधार र भ्रष्टाचारलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए।

धर्म पनि चुनावी मुद्दा रहेको थियो। इन्डोनेसियाको आधिकारिक धर्म नभए पनि देशको संविधानअनुसार जनतालाई धार्मिक स्वतन्त्रता रहेको छ। यद्यपि देशमा ८० प्रतिशत जनसंख्या मुसलमान धर्मावलम्बीको रहेको छ। पछिल्लो समय संर्कीण मुसलमान समूहका आवाज इन्डोनेसियामा बढ्दै गएको छ। तसर्थ पछिल्लो निर्वाचनमा राष्ट्रपतिका दुवै उम्मेदवारले मुसलमान धर्मावलम्बी आकर्षित गर्ने खालका चुनावी कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित: ८ जेष्ठ २०७६ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App