२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेका छन्।

प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गरेका हुन्। पाकिस्तानी सञ्चारमन्त्री फवाद चौधरीलाई विज्ञान तथा प्रविधि मन्त्री बनाइएको छ। चौधरीको स्थानमा सन् २०१७ मा पाकिस्तान पिपुल्स पार्टी परित्याग गरी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफमा प्रवेश गरेका फिर्दोस आशिक अवानलाई ल्याइएको छ।

सन् २०१० देखि २०१३ सम्म पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट अर्थमन्त्री भएका डा अब्दुल हाफिज शेखलाई अर्थमन्त्रीको समकक्षको अर्थ सल्लाहकारमा नियुक्त गरिएको छ। यसअघिका अर्थ सल्लाहकार असद उमरले प्रधानमन्त्री खानको प्रस्तावप्रति विमति जनाउँदै राजीनामा गरेका छन्। यसैगरी, पूर्वराष्ट्रपति जनरल पर्वेज मुसरफका निकटवर्ती ब्रिगेडियर इजाज अहमद शाहलाई गृहमन्त्री बनाइएको छ।

यसअघि उक्त मन्त्रालय प्रधानमन्त्री खानकै मातहतमा राखिएको थियो। गृहराज्य मन्त्री शेहरयार अफ्रिदीलाई प्रदेश तथा फ्रन्टियर मामिलासम्बन्धी राज्यमन्त्री बनाइएको छ। पेट्रोलियम मन्त्री गुलाम सरवार खानलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। खानले आफूलाई मन्त्रीबाट हटाइए पार्टी परित्याग गर्ने चेतावनी दिएको बताइएको थियो।

पछिल्ला केही वर्षदेखि गम्भीर आर्थिक सङ्कट झेल्दै आएको पाकिस्तानले बेइजिङ र रियादबाट १० अर्ब डलर प्राप्त गरेपनि अपेक्षित आर्थिक स्थायित्व आउन सकेको छैन। पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्राकोषबाट ८ देखि १० अर्ब डलरको आर्थिक सहायताका लागि प्रयत्न गरिरहेको छ।

प्रकाशित: ६ वैशाख २०७६ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App