१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र किमबीच भियतनाममा वार्ता सुरु

तस्बिर : एपी

हनोई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता भियतनाममा शुरू भएको छ। राजधानी हनोईमा भएको भेटमा दुवै नेताले दुई देशका झण्डा अगाडि उभिएर हात मिलाउँदै फोटो सेसन गराए।

फोटो खिचाउँदै ट्रम्पले वार्ता सफल हुनेमा आशावादी रहेको धारणा राखेका थिए। त्यसको जवाफमा किमले भने, ‘हामी अनेकौं अवरोध पार गरेर आएका छौं। त्यसैले यहाँ छौं।’ ‘अध्यक्ष किमसँग यहाँ हुनु र भियतनाममा सँगै हुनु गर्विलो क्षण हो’, प्रतिउत्तरमा ट्रम्पले भनेका थिए।

समाचार एजेन्सीहरूले जनाए अनुसार दोस्रो शिखर वार्ताको पहिलो भेट डिनर भेट हुनेछ। दुवै नेता २० मिनेटसम्म वन टु वन बैठकमा रहने छन्।

सन् १९५० को दशकदेखि दुई ध्रुवमा उभिएका यी दुवै देशका नेताले हात मिलाएको यो दोस्रो पटक हो। यसअघि गत वर्षको जुनमा यी दुई नेताबीच सिंगापुरमा पहिलोपटक शिखर वार्ता भएको थियो।

भियतनाम वार्ता निर्णायक हुने विश्वास

दुई देशबीचको यो वार्ता मूलतः कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणमा केन्द्रीत हुनेछ। अघिल्लो वार्ताकै क्रममा उत्तर कोरियाले आफूसँग रहेका आणविक हतियार हटाउने प्रतिबद्धता जनाएको थियो। तर आफूलाई अमेरिकी आक्रमणको डर भएको भन्दै उसले निशस्त्रीकरणतर्फ चासो दिएन। त्यसको प्रतिउत्तरमा अमेरिका र उसको गठबन्धनले उत्तर कोरियामाथि नाकाबन्दी थपेको थियो।

यो वार्तामा दुवै नेताले एक अर्कालाई कति विश्वास सिर्जना गर्न सक्छन् भन्नेमा आणविक निशस्त्रीकरणको यात्राको गति टुंगो लाग्नेछ। यद्यपि दुवै नेता त्यस दिशामा आशावादी देखिन्छन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले त ट्वीट गरेरै उत्तर कोरियालाई लिएर उनीबारे सिर्जना गरिएका सबै भ्रम खण्डन हुने बताएका छन्। वार्ता शुरू हुनु केही अघि गरेको ट्वीटमा उनले लेखेका छन्, ‘उत्तर कोरियालाई लिएर मेरो नियतबारे सबै गलत रिपोर्ट (अनुमान) भएका छन्। सम्बन्धमा किम जोङ उन र मैले निशस्त्रीकरण गर्न र उत्तर कोरियालाई आर्थिक शक्तिगृह बनाउन सक्दो प्रयास गर्नेछौं। चीन, रूस, जापान र दक्षिण कोरिया यो प्रयत्नमा सहयोगी हुनेमा म विश्वस्त छुँ।’

प्रकाशित: १५ फाल्गुन २०७५ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App