१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आम निर्वाचनका लागि बंगलादेशमा ६ लाख सुरक्षाकर्मी परिचालित

तस्बिर : एजेन्सी

ढाका - बंगलादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मी गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन्।

मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ। प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आम निर्वाचनका लागि देशभर झण्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ।

सुरक्षाकर्मीहरुलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउगाउँसम्म खटाइएको छ। “देशको क्षमता अनुसार हामीले सकेसम्मको उच्च सुरक्षा व्यवस्था गरेका छौँ, सुरक्षामा कुनै कमजोरी तथा अभाव हुनेछैन भन्ने हामीले विश्वास लिएका छौँ,” निर्वाचन आयोगका एक अधिकारी राफिक्वाल इस्लामले भने। यस पटकको निर्वाचनको सिलसिलामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने अरु हजारौं घाइते भएका छन्।

मुस्लिम समुदायको बाहुल्यता रहेकाे बंगलादेशमा हुन लागेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी छन् भने विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन्। प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाएकी छन् भने विपक्षी दलले हसिनाले राज्य आतङ्क मच्चाएको दाबी गरेको छ। विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा रहेकी छिन्।

यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रुपमा सक्रिय रहेका छन्। यो चुनावमा विजयी भए शेख हसिनाले बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउने छिन्। विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा रहेकी छिन्। बङ्गलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाएकी छैनन्।

प्रकाशित: १४ पुस २०७५ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App