१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी संघीय कार्यालयको आंशिक बन्द अझै केही दिन लम्बिने

बुधबार अकस्मात् इराक भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इराकमा रहेका अमेरिकी सेनासँग। साथमा प्रथम महिला मेलानिया ट्रम्प। तस्बिर : एजेन्सी

वासिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण आंशिक रूपमा बन्द भएका संघीय कार्यालय अझै केही दिन बन्द हुने सम्भावना देखिएको छ।

अमेरिकी संसद्ले अमेरिका–मेक्सिको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपति ट्रम्पले माग गरेको पाँच अर्ब डलरबाहेकको बजेटमात्र पारित गर्ने जानकारी गराएसँगै राष्ट्रपति ट्रम्पले बजेट स्वीकृत नगर्ने अडान लिएका छन्।

बजेटको छलफल चलिरहेकै बेला सांसदहरु क्रिसमस र नयाँ वर्षको छुट्टी मनाउन वासिङ्टनबाट अन्यत्र हिँडेका कारण आशिंक रूपमा बन्द भएका संघीय कार्यालयहरु बजेट अभावमा केही दिन अझै बन्द हुने बताइएको छ। उनीहरुको भनाइमा मतदानका लागि वासिङ्टन फर्किन अरु २४ घण्टाको समय दिनु पर्छ। अमेरिकी संसद्को माथिल्लो सदन सिनेटको बैठक स्थानीय समयअनुसार बिहीबार अपराह्नका लागि बोलाइएको छ तर बैठकमा थोरै संख्यामा मात्र सिनेटर उपस्थित हुने सम्भावना छ।

संघीय कर्मचारी पनि सप्ताहान्त र दुइवटा सार्वजनिक बिदापछि बुधबारबाट काममा फर्किएका छन्। तर कतिपय संघीय कार्यालयका कर्मचारी बजेट पारित नहुँदा नराम्रोसँग प्रभावित भएका छन्। राष्ट्रपति ट्रम्प आफ्नो मागप्रति अविचलित छन्। अकस्मात् रूपमा इराक भ्रमणमा रहेका बेला राष्ट्रपति ट्रम्पले संवाददातालाई सीमा सुरक्षाका निम्ति जस्तोसुकै कदम चाल्न आफू तत्पर रहेको बताएका छन्। संघीय सरकारी कार्यालय खुलाउन आफूले सीमा पर्खालको बजेटमा पुनर्विचार गर्न लागेको भन्ने कुरामा सत्यता नरहेको पनि उनले जानकारी दिएका छन्। ‘पर्खाल बनाउनुको कुनै विकल्प नै छैन, हामी सुरक्षित पनि त हुनुपर्यो नि,’ संवाददाताहरुसँग ट्रम्पले बताए।

बजेट अभावमा नौ वटा मन्त्रालय मातहतका विभाग र दर्जनौं संघीय निकायका काममा कठिनाई उत्पन्न भएको छ। करिब चार लाख २० हजार कर्मचारीले बिना तलब काम गरिरहेका छन् भने अरु तीन लाख ८० हजारलाई बेतलबी बिदा दिइएको छ।

ह्वाइट हाउसले कंग्रेसमा डेमोक्रेट पार्टीका नेतासँग वार्ता गरिरहेको छ तर आशावादी हुने संकेत अझै मिलेको छैन। वार्तामा सहभागी उत्तरी क्यारोलिना राज्यका रिपब्लिकन सांसद एवं राष्ट्रपति ट्रम्पका नजिकका व्यक्ति मार्क मिडोजले सीमा सुरक्षाका मामिलामा राष्ट्रपति ट्रम्प आफ्नो अडानमा यथावत रहेको जानकारी दिएका छन्।

सरकारी खर्चको विषयमा उत्पन्न विवाद गत साताबाटै सुरु भएको हो। सिनेटमा रिपब्लिकन र डेमोक्रेटबीच फेब्रुअरीसम्मका लागि सरकारी खर्चलाई अनुमोदन गर्ने सम्झौता भएको थियो। उक्त सम्झौतामा एक अर्ब ३० करोड डलर सीमा सुरक्षा परियोजनाका लागि उपलब्ध गराउने उल्लेख थियो तर सीमामा पर्खाल बनाउन बजेट छुट्याइएको थिएन।

ट्रम्पको आग्रहमा तल्लो सदनले भने पाँच अर्ब ७० करोड डलरको बजेट पारित गरेको थियो। सिनेटबाट उक्त बजेट पारित गर्न रिपब्लिकन सांसद पर्याप्त छैनन्। सिनेटबाट बजेट पारित हुन ६० सदस्य आवश्यक हुन्छ, जबकी सिनेटमा रिपब्लिकनको सदस्य संख्या ५१ मात्र छ। सिनेटमा डेमोक्रेटले पर्खाल निर्माणका लागि कुनै पनि परिस्थितिमा बजेट पारित नगर्ने अडान राखेका छन्।

सिनेट र ह्वाइट हाउसबीच भएको वार्ताले निष्कर्ष निकाल्न नपाउँदै सरकारी कार्यालय बन्द भइसकेका छन्। सरकारी बजेट अभाव भएसँगै त्यसको प्रभाव शेयर बजारमा समेत देखिएको छ। शेयर बजारमा आएको गिरावट अझै नरोकिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रकाशित: १३ पुस २०७५ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App