१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

क्याप्सन : ड्रोनका कारण तीन दिनसम्म बन्द भएको ग्याटविक विमानस्थल सुचारु भएपछि ‘चेक–इन’का लागि लामबद्ध यात्रु। तस्बिर : एजेन्सी

लन्डन – बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इसाई धर्मावलम्बीको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण विमानस्थल बन्द गरिएपछि विमानस्थलमै अलपत्र परेका थिए।

ड्रोन उडाएको आरोपमा एक पुरुष र एक महिला पक्राउ परेको बताइएको छ। ४७ वर्षीय पुरुष र ५४ वर्षीय महिलालाई शुक्रबार अबेर स्थानीय क्षेत्रबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ। नागरिक उड्डयन सेवालाई प्रभावित गरेको अभियोगमा उनीहरुलाई शनिबार हिरासतमा राखेर सोधपुछ गरिएको प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। पक्राउ परेका महिला तथा पुरुषको नाम भने सार्वजनिक गरिएको छैन।

ड्रोनका कारण ग्याटविक विमानस्थल तीन दिनसम्म बन्द भएका थियो। विमानस्थल बन्द भएपछि झण्डै एक लाख २० हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए। बुधबार बेलायतको दोस्रो सबैभन्दा व्यस्त क्याटविक विमानस्थलको आकासमा ड्रोन देखा परेका थिए। प्रहरीले सो घटनालाई आपराधिक कार्य भन्दै ड्रोन उडाउने व्यक्तिको खोजी तीब्र बनाएको थियो।

प्रहरी अधिकृत जेम्स कोलिसले ड्रोनको आपराधिक प्रयोगको अभियोगमा दुई व्यक्तिलाई ससेक्स प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन्। आगामी दिनमा पनि थप ड्रोन आक्रमणका घटना हुनसक्ने भन्दै प्रहरीले सूचना प्राप्त गर्न सबै विकल्प खुला राखेको उनले बताए।

प्रहरीले लन्डनको दक्षिणतर्फ कुनै ड्रोन उडेको देखिए खबर गर्न आम सर्वसाधारणलाई अनुरोध पनि गरेको छ। शुक्रबार विमानस्थल खुला गरिए पनि अर्को ड्रोन देखिएसँगै केही समय विमानस्थल पुनः बन्द गरिएको थियो। ससेक्स प्रहरीले रहस्यमयी ड्रोन सञ्चालकको खोजी गर्न प्रहरी अधिकारीले विभिन्न उपाय अवलम्बन गरिसकेको जनाएको थियो। तीब्र गतिमा हुने विमानमा ड्रोन ठोक्किए त्यसले अकल्पनीय क्षति पुग्न सक्छ। अधिकारीले छुट्टी मनाउने सिलसिलामा विमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई विमानस्थल जानुअघि हवाई सेवाको पछिल्लो अवस्था बुझ्न आग्रहसमेत गरेका छन्।

बिहीबार ड्रोनका खतरा रोक्न सेनाको समेत सहयोग लिइएको थियो। रक्षा मन्त्रालयले ड्रोन पत्ता लगाउने विशिष्ट उपकरण सहितको सैनिक टोली परिचालन गरेको थियो। ग्याटविक विमानस्थलको समस्याका बारेमा सरकारी अधिकारीको आपतकालीन बैठकसमेत बसेको थियो। बेलायको कानुनअनुसार ड्रोनहरु विमानहरुको नजिक वा विमानस्थलको एक किलोमिटरभित्र वा चारसय फिटभन्दा माथि उडाउन पाइँदैन। बेलायती कानुनअनुसार निषेधित तरिका र दूरीमा ड्रोन उडाउनेमाथि पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ। विमानस्थललाई प्रभावित पारेको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। ड्रोनका कारण एक हजारभन्दा बढी उडान प्रभावित भएका थिए।

प्रकाशित: ८ पुस २०७५ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App