४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकालाई उत्तर कोरियाको चेतावनी

संयुक्त राष्ट्रसंघको ७३आैं महासभामा सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री री योङ–हो। तस्बिर : एजेन्सी

न्युयोर्क (बिबिसी) – आफ्नो देशमाथि अमेरिकाले प्रतिबन्ध जारी राखे आणविक निःशस्त्रीकरण नगर्ने उत्तर कोरियाका विदेशमन्त्रीले चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई शनिबार सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री री योङ–होले अमेरिकी प्रतिबन्धले उत्तर कोरियाको अविश्वासलाई गहिरो बनाउँदै लगेको बताए। लामो समयदेखि आफूमाथि लागेका विभिन्न प्रकारका प्रतिबन्ध हटाउन उत्तर कोरियाले संयुक्त राष्ट्रसंघ र अमेरिकालाई निरन्तर आग्रह गर्दै आएको छ। प्रतिबन्ध हटाउने विषयमा उसले रुस र चीनको समर्थन पनि प्राप्त गरिसकेको छ ।

उता, उत्तर कोरियाले पटकपटक आग्रह गरे पनि पूर्ण रूपमा निःशस्त्रीकरण नगरेसम्म प्योङयाङविरुद्धका प्रतिबन्धहरु यथावत रहने ट्रम्प प्रशासनले बताउँदै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले यसै वर्षको जुन १२ का दिन सिंगापुरमा ऐतिहासिक शिखर बैठक गरेका थिए । सो बैठकमा उत्तर कोरियाली नेता किमले पारमाणविक निःशस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए । उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई पूर्ण रूपमा निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि त्यस दिशामा ठोस प्रगति चाहिँ नगन्य मात्रै भएको बताइन्छ।

महासभामा रीले के भने?
राष्ट्रसंघको ७३औं महासभामा बोल्दै उत्तर कोरियाली विदेशमन्त्री रीले ‘पहिला निःशस्त्रीकरण गर्नुपर्ने नीति’मा अमेरिकाले जोड दिइरहेकोले ‘प्रतिबन्धको स्तर बढेको’ आरोप लगाए । ‘पछिल्लो गतिरोध अमेरिकाको बलपूर्वक कदमका कारण देखिएको हो जुन विश्वासको वातावरणका लागि घातक छ,’ महासभामा रीले बताए । अमेरिकामाथि विश्वास नहुञ्जेल हाम्रो राष्ट्रिय सुरक्षामा विश्वस्त हुन सकिँदैन र त्यस्तो परिस्थितिमा हामीले पहिला निःशस्त्रीकरण गर्ने कुरा हुँदैन,’ रीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘नचिनेका मानिसले प्रतिबन्धमार्फत् हामीलाई घुँडा टेकाउन सकिन्छ भन्ने सोचेका छन् भने त्यो उनीहरुको भ्रम हो,’ रीले बताए।

शिखर बैठकयता के के भयो?
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच पहिलो पटक भएको ऐतिहासिक शिखर बैठकमा भएको सहमतिमा प्योङयाङले निःशस्त्रीकरणका काम गर्ने उल्लेख छ। तर त्यसका लागि समयसीमा, विस्तृत विवरण वा प्रमाणीकरण प्रक्रियाको संयन्त्रबारे केही उल्लेख गरिएको छैन। यसै वर्षको अगष्टमा ट्रम्पले उत्तर कोरियाको साझेदार चीनले अमेरिकासँगको व्यापार विवादका कारण निःशस्त्रीकरसम्बन्धी प्रगतिलाई कमजोर तुल्याइरहेको आरोप लगाएका थिए। यद्यपि यसै महिनाको सुरुमा दक्षिण कोरियाली नेता मुन जाय–इनले प्योङयाङको तीन दिने उच्चस्तरीय भ्रमण गरे, जुन दक्षिण कोरियाली नेताबाट गरिएको एक दशकयताकै पहिलो भ्रमण थियो।

मुनले निःशस्त्रीकरणप्रति अध्यक्ष किमको ठोस प्रतिबद्धतालाई आफूले पुष्टि गराउन सकेको’ बताएका थिए । त्यसपछि उनले किमको सन्देश बोकेर ट्रम्पलाई भेटेका थिए। भेटमा उनले उत्तर कोरियाली नेता किमले ट्रम्पसँग छिट्टै भेट्न चाहेको विषय उल्लेख गरेका थिए। त्यसको जवाफमा ट्रम्पले किमसँग चाँडै नै दोस्रो शिखर बैठक हुनसक्ने बताएका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुनसँगको भेटमा पनि नेता किमले उत्तर कोरियाको प्रमुख क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रक्षेपण क्षेत्र बन्द गर्ने प्रतिबद्धता जनाएका थिए। तर त्यसका लागि अमेरिकाले पनि आफ्नो तर्फबाट पनि केही कदम चाल्नु पर्ने उनको शर्त रहेको थियो। अमेरिकाले आफ्नो देशमाथि लगाइरहेको प्रतिबन्ध हटाउनु पर्ने उनको शर्त थियो।

प्रकाशित: १५ आश्विन २०७५ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App