१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

लस एन्जलस् - स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।

टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।

स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।

अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 

स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस

प्रकाशित: २९ भाद्र २०७५ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App