२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मुसर्रफमाथि लागेको राजद्रोहको मुद्दा ब्युँताइने

इस्लामाबाद – पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफमाथि लागेको राजद्रोह मुद्दालाई देशको एक विशेष अदालतले अगस्ट २० पछि पुनः सुनुवाइ गर्ने भएको छ।

लाहोर उच्च अदालतका प्रधानन्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार र सिन्ध उच्च अदालतका न्यायाधीश नजार अकबरले उक्त मुद्दालाई हेर्ने बताइएको छ। पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सरकारले सन् २०१३ मा दर्ता गराएको मुद्दामा मुसर्रफलाई सन् २००७ मा संकटकालको घोषणा गर्दा अवैध रूपमा सेनाको सहयोगमा देशको संविधानलाई निलम्बन गरेको आरोप लगाइएको छ। मुसर्रफको नाम देशबाहिर भ्रमण गर्न नपाउने सूचीबाट हटेपछि स्वास्थ्यको कारण देखाउँदै उनी दुबई प्रस्थान गरेपछि उक्त मुद्दा सन् २०१६ देखि विचाराधीन अवस्थामा रहँदै आएको थियो। मुसर्रफको अनुपस्थितिमा उक्त मुद्दा प्रक्रियालाई अघि बढाउन नसकिएको हो।

विशेष अदालतले मुसर्रफलाई दोषी ठहर गरेको र उनको सम्पत्ति जफत गर्न भनिएको भए पनि कानुनी प्रक्रिया नपुगेको भन्दै अभियोग भने लगाइएको थिएन। मुसर्रफलाई पाकिस्तान फर्कने अन्तिम पटक मौका दिइए पनि उनी स्वदेश नफर्किएकाले न्यायालयद्वारा उनको राष्ट्रिय परिचय पत्र र राहदानीलाई निषेध गर्न आग्रह गरिएको छ।

प्रकाशित: २० श्रावण २०७५ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App