२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमाथि थप ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन– अमेरिका र चीनबीच बढ्दो व्यापारिक तनाबकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप दुई सय विलियन मूल्यबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने चेतावनी दिएका छन्।

चीनले अहिले अभ्यास गरिरहेको व्यापारिक नीति परिवर्तन गर्न अस्वीकार गरे थप १० प्रतिशत ट्यारिफ कार्यान्वयनमा आउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी उद्धृत गर्दै बिबिसीले जनाएको छ ।ट्रम्पको चेतावनी अमेरिका र चीनबीचको विवाद थप बल्झने संकेत भएको र यसले स्टक मार्केटमा थप गिरावट ल्याने चिन्ता व्यक्त भएको बताइएको छ।

अमेरिकाले पटकपटक ब्ल्याकमेल गरिरहेको आरोप लगाउँदै चीनले वासिङ्टनसँग पूर्ण आकारको व्यापारिक युद्धको डर बढेको बताएको छ । अमेरिकाले थप ट्यारिफ लगाए चीन गुणात्मक र परिणात्मक कदम चाल्न र त्यसविरुद्ध लड्न तयार रहेको चिनियाँ वाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।चीनले अमेरिकासँग असन्तुलित व्यापार गरेर वर्षौंदेखि फाइदा लिइरहेको अमेरिकी राष्ट्रपति ट्रम्पले दाबी गर्दै आइरहेका छन् ।

चीनले बौद्धिक कपिराइट चोरी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले गत साताको शुक्रबार मात्रै पनि ५० विलियन डलरबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने घोषणा गरेका थिए ।अमेरिकी घोषणाप्रति जबाफ दिँदै कृषि उत्पादन, कार र सामुद्रिक उत्पादनसहित करिब ३४ विलियन डलरबराबरको अमेरिकी सामानमा जुलाई ६ बाट लागू हुने गरी चीनले पनि ट्यारिफ लगाउने घोषणा गरेको थियो ।अमेरिकी व्यापार घाटा घटाउनका लागि ट्यारिफ प्रयोग गर्ने सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका दौरान तत्कालीन रिपब्लिकन उम्मेदवार एवं वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर ट्रम्पले लागू गरेको ट्यारिफले अमेरिकी उपभोक्ताले प्रयोग गर्ने सामान झनै महँगो हुने कैयौं अर्थविद्ले चेतावनी दिएको बिबिसीले जनाएको छ । अमेरिकी प्रशासनले संरक्षण गर्न खोजिरहेका केही व्यापारी, जो उत्पादनका लागि चिनियाँ पार्ट्समा भर परिरहेका छन् वा एसेम्बल्ड गरेर सामान उत्पादन गरिरहेका छन्, उनीहरुलाई यस्तो प्रकारको ट्यारिफले थप पीडित बनाउने उनीहरुको तर्क उद्धृत गर्दै बिबिसीले जनाएको छ ।अमेरिका र चीनबीच भइरहेको व्यापारिक विवादका कारण एसियाली स्टक मार्केटमा पनि ठूलो मात्रामा गिरावट आएको बताइएको छ । विवादकै कारण युरोपेली बजार पनि प्रभावित भएको र सेयर बजारमा एक प्रतिशत गिरावट आएको बिबिसीले जनाएको छ ।

चिनियाँ कम्पनीलाई बौद्धिक सम्पत्तिको स्थानान्तरणको अभ्यास नगर्न अमेरिकाले पटकपटक चेतावनी दिँदै आएको छ । त्यसैगरी चिनियाँ बजारमा पहुँच पुर्याउन विदेशी कम्पनीले स्थानीय कम्पनीसँग साझेदारी गर्नुपर्ने चिनियाँ व्यवस्थालाई पनि परिवर्तन गर्न वासिङ्टनले दबाब दिँदै आइरहेको छ ।

 

प्रकाशित: ६ असार २०७५ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App