४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका—उत्तर कोरिया सम्बन्ध नयाँ युगमा

तस्विर : एजेन्सी

काठमाडौं - एकआपसमा कट्टर दुस्मन मानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच पहिलोपटक मंगलबार सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको छ । बैठकपछि दुई देशबीच चारबुँदे बृहत् सम्झौता भएको छ । सम्झौतासँगै अमेरिका–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ।

अन्तर्राष्ट्रि समाचार एजेन्सी रोयटर्सले ट्रम्प र किमबीचको बैठकपछि चारबुँदे बृहत् सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ । अमेरिका–उत्तर कोरियाबीच नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्वीपमा दीर्घकालीन तथा मजबुत शासन स्थापना गर्ने विषयमा बृहत्, गहिरो र हार्दिकतापूर्ण विचार आदानप्रदान भएको ट्रम्प–किम बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सुरक्षा ग्यारेन्टीको प्रतिबद्धता गरेको र उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे आफ्नो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गरेको विज्ञप्तिलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ ।

सिंगापुरको सेन्टोसा टापुस्थित क्यापेल्ला रिसोर्टमा करिब ४० मिनेट अनुवादकसहित भएको ‘वान टु वान’ ट्रम्प–किम वार्तापछि दुवै नेताले आफ्ना प्रतिनिधिमण्डलसहितको बैठक गरेका थिए ।बैठकपछि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले बृहत् सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा भएको विवरण सुरुमा सार्वजनिक गरिएन । पछि ट्रम्प र किमले संयुक्त विज्ञप्तिमार्फत सम्झौता सार्वजनिक गरेका थिए ।

विज्ञप्तिमा अमेरिका र उत्तर कोरियाबीच भएको सहमतिका चार बुँदासहित बैठकमा भएका घटनाक्रम व्याख्या गरिएको छ । विज्ञप्तिमा अमेरिका र उत्तर कोरियाबीच स्थापना भएको नयाँ सम्बन्धले कोरियाली प्रायद्वीपमा शान्ति तथा स्थायित्व ल्याउने विषयमा दुवै नेता सहमत देखिएको उल्लेख छ । दुवै नेताले आपसी विश्वास बढाएर कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्न सहयोग पुर्याउने सम्झौतापत्रमा उल्लेख गरेका छन्।

रोयटर्सका अनुसार सम्झौतापत्रको पहिलो बुँदामा दुवै देशका नागरिकको शान्ति र स्थायित्वप्रतिको चाहनाअनुसार अमेरिका र उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्ध रहेको उल्लेख छ । दोस्रो बुँदामा कोरियाली प्रायद्वीपमा दीर्घकालीन, स्थिर एवं शान्तिपूर्ण सत्ता स्थापनाका लागि दुवै देशले संयुक्त प्रयास गर्ने लेखिएको छ ।

गत अप्रिल २७ मा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय –इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको पान्मुनजोम वार्ता र घोषणाप्रति पुनः प्रतिबद्ध रहँदै कोरियाली प्रायद्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्नेतर्फ लाग्न उत्तर कोरियाले प्रतिबद्धता व्यक्त गरेको विषय तेस्रो बुँदामा समेटिएको छ ।

चौथो बुँदामा अमेरिका र उत्तर कोरिया दुवैले बाँकी युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाको अवशेष खोजी गर्ने र पहिचान भइसकेका मानव अवशेषलाई तत्काल सम्बन्धित देशमा पठाउने विषयमा सहमति जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली अधिकारीले यथासक्य चाँडो मितिमा वार्तालाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा ट्रम्पले के भने
उत्तर कोरियाली सर्वोच्च नेतासँगको ऐतिहासिक बैठकपछ आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिबाहेकका विषय पनि खुलाए । ट्रम्पले दक्षिण कोरियासँग मिलेर गर्दै आएको संयुक्त सैन्य अभ्यास बन्द गर्ने घोषणा गरे । ट्रम्पको यस्तो घोषणालाई अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

अमेरिका–दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास किम शासनलाई च्युत गर्ने रिहर्सलका रूपमा उत्तर कोरियाले बुझ्दै आएको छ । ट्रम्पले दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकलाई स्वदेश फिर्ता गर्ने चाहना रहेको समेत खुलासा गरेको रोयटर्सले जनाएको छ । हाल दक्षिण कोरियामा लगभग ३० हजार अमेरिकी सैनिक तैनाथ छन् ।

आफूसँग उत्तर कोरियाको प्रमुख क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्ने विषयमा समेत किम सहमत भएको ट्रम्पले पत्रकार सम्मेलनमा बताए । उनले यसबारे मिति भने खुलाएनन् । उनले उत्तर कोरियाको निःशस्त्रीकरण प्रक्रिया चाँडै नै सुरु हुने र उक्त कार्यको प्रमाणीकरण धेरैको रोहबरमा हुनेसमेत बताए ।

उत्तर कोरियाले उसको प्रमुख क्षेप्यास्त्र इन्जिन परीक्षण केन्द्र ध्वस्त गर्नेबारे सहमति गरेको भए पनि प्योङयाङमाथिको आर्थिक प्रतिबन्ध हाललाई भने कायम नै रहने ट्रम्पले बताए । सम्झौतापत्रमा हस्ताक्षर गर्ने समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको निःशस्त्रीकरण प्रक्रिया तत्काल सुरु हुने बताएका थिए । दुई नेताबीच विशिष्ट खालको सम्बन्ध विकास भएको भन्दै किमलाई निश्चय पनि ह्वाइट हाउस बोलाउने ट्रम्पले बताए ।सम्झौतापत्र हस्ताक्षर समारोहमा उपस्थित पत्रकारले चिच्याउँदै ‘ह्वाइट हाउस जानुहुन्छ’ भनेर सोधेको प्रश्नलाई किमले भने बेवास्ता गरेको समाचार एजेन्सी एसोसियटेड प्रेसले जनाएको छ । किमले आफ्नो निमन्त्रण स्वीकार गरेको ट्रम्पले बताए ।

सम्झौतापत्र हस्ताक्षर समारोहमा उत्तर कोरियाली नेता किमले ‘विश्वले प्रमुख परिवर्तन देख्ने’ घोषणा गरेका थिए । ट्रम्प र किम दुवैले विगतलाई छोड्ने निर्णय भएको समेत बताएका थिए । शिखर सम्मेलनको समाप्तिमा ट्रम्प र किमले कुनै अनुवादकबिना नै हात मिलाएर बिदाइ साटासाट गरेका थिए।

१३ सेकेन्डसम्म हात मिलाइयो

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको बैठक दुई नेताले हात मिलाएपछि सुरु भएको थियो । करिब १३ सेकेन्डसम्म हात मिलाउने काम भएको थियो । क्यापेल्ला रिसोर्टको दुईविपरीत ठाउँबाट दुई नेता बैठकस्थल आएका थिए । सुरुमा ट्रम्पले दिएका थिए, त्यसपछि किमले । हात मिलाउँदै गर्दा ट्रम्पले किमको काँधमा धाप पनि मारेका थिए । हात मिलाइसकेपछि त्यहाँ उपस्थित फोटोग्राफरअघि फर्किएर उनीहरुले तस्बिर खिचाएका थिए।

‘वान टु वान’ वार्ताअघि भएको संक्षिप्त पत्रकार सम्मेलनमा ट्रम्पले आफूले अत्यन्तै खुसी महसुस गरिरहेको बताएका थिए । उनले आफूहरुबीच बृहत् छलफल हुने र आश्चर्यजनक सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । किमले भने अमेरिकी राष्ट्रपतिसँगको वार्तासम्म आइपुग्नु सजिलो कार्य नभएको बताएका थिए । उनले विगत, पुरानो पूर्वाग्रह र परम्परा दुई देशबीच नयाँ सम्बन्ध स्थापनाका लागि बाधक भए पनि हामीले त्यसलाई पार गरेका कारण यो ठाउँमा आइपुगेको बताएका थिए । किमले अनुवादकमार्फत यस्तो भनाइ राख्दै गर्दा ट्रम्पले पनि सहमति जनाएका थिए ।

मानवअधिकारबारे कुरा उठेन
ट्रम्प र किमबीच सिंगापुरमा भएको शिखर बैठकमा आणविक हतियारलाई पूर्णरूपमा ध्वस्त गर्नेबारे उत्तर कोरियाको ठोस प्रतिक्रिया नआएको रोयटर्सले जनाएको छ । यस्तै सम्झौतापत्रमा उत्तर कोरियामा उल्लंघन भइरहेको मानवअधिकारको विषय ट्रम्प–किम सम्झौतापत्रमा उल्लेख नभएको भन्दै आलोचना भएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७५ ००:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App