१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अफगान सरकार र तालिबानबीच गोप्य बैठक’

काबुल – युद्धविरामबारे छलफल गर्न तालिबानले अफगान अधिकारीसँग गोप्य बैठक गरेको अमेरिकी सेनाले जनाएको छ।

अफ्गानिस्तानस्थित अमेरिकी कमान्डर जनरल जन निकोल्सनका अनुसार तालिबान र अफगान अधिकारीबीच भएका बैठकमा विदेशी सरकार र अन्तर्राष्ट्रिय संगठनहरु पनि सहभागी थिए। तालिबान र अफगान अधिकारीबीच गोप्य कुराकानी भएको अमेरिकी सेनाले जनाए पनि तालिबानले भने उक्त दाबीको खण्डन गरेको बिबिसीले उल्लेख गरेको छ। सञ्चारमाध्यमलाई पठाइएको आधिकारीक वक्तव्यमा तालिबानी प्रवक्ताले अमेरिकी सेनाका कमान्डरको दाबीको खण्डन गरेका छन्। उनले ‘अतिक्रमणकारी शक्ति’ उपस्थिति भएको बेला ‘महत्वहीन पक्ष’सँग कुरा गरेर समय खेर नफाल्ने बताएको बिबिसीले जनाएको छ।

अफगान राष्ट्रपति असरफ घानीले तालिबानसँग फेब्रुअरीमा वार्ताको प्रस्ताव राखेका थिए । त्यसबेला तालिबानले प्रस्तावबारे कुनै प्रतिक्रिया दिएको थिएन। फेब्रुअरी महिनामा वार्ताको प्रस्ताव गर्दैगर्दा अफगान राष्ट्रपति घानीले तालिबानले युद्धविराम स्वीकार गर्दै देशको संविधानलाई अपनाए राजनीतिक दलको पहिचान दिन तयार रहेको बताएका थिए।

वार्ताको प्रस्तावपछि पनि दुवैतर्फ क्षतिका हिंसात्मक घटनामा वृद्धि भइरहेका थिए। वार्तामा बस्न अफगान सरकारले विगतमा गरेको कैयौं प्रस्ताव तालिबानले अस्वीकार गर्दै आएको थियो।

राजधानीमै हमला गर्न सक्ने आफ्नो क्षमता देखाउने गरी लडाकुहरुले बुधबार काबुलस्थित आन्तरिक मामिला मन्त्रालयमा आक्रमण गरेका थिए भने लोगार प्रान्तको राजधानीस्थित एउटा प्रहरी कार्यालयमाथि गरेको आक्रमणको पनि उनीहरुले जिम्मेवारी लिएका छन्। यसैबीच अमेरिकाले हेलमन्ड प्रान्तमा विद्रोहीविरुद्ध आक्रमण गरेको पुष्टि गरेको छ । जसमा ५० जनाभन्दा बढी हताहत भएका थिए। पचास वर्ष लामो गृहयुद्ध शान्ति सम्झौतामा पुगेर टुंगिएको कोलम्बियाको अवस्थासँग तुलना गर्दै अमेरिकी जनरल निकोल्सनले हिंसा र प्रगति सँगसँगै हुनसक्ने धारणा राख्दै तालिबान र अफगान सरकारबीच वार्ता भएको खुलासा गरेका हुन्।

मध्यम र उच्च तहका तालिबान अधिकारीहरु सहितवार्ता भएको बताए पनि उनले वार्तामा को को सहभागी थिए भन्नेबारे भने नखुलाएको बिबिसीले जनाएको छ।

सन् २०१४ मा विदेशी फौजले अफ्गानिस्तान छाडेयताकै सबभन्दा धेरै भूभाग अहिले तालिबान विद्रोहीको नियन्त्रणमा रहेको बिबिसीद्वारा जनवरी महिनामा गरिएको अनुसन्धानले देखाएको छ।

कुल जनसंख्याको आधा अर्थात् लगभग एक करोड ५० लाख मानिस तालिबानको खुला उपस्थिति रहेको र नियमित रूपमा उनीहरुले आक्रमण बढाइरहेको वा उनीहरुको नियन्त्रणमा रहेको क्षेत्रमा बस्ने गरेको अनुमान गरिएको छ। तालिबान र आइएसले जिम्मेवारी लिएका काबुल र अन्य स्थानमा पछिल्ला महिनामा भएका आक्रमणहरुमा कयौं मारिएका छन् र तिनले देशको राजधानीको केन्द्र भागमा समेत आक्रमण गर्न सक्ने तालिबानको क्षमता रहेको देखाएको छ।

को हुन तालिबान?
सोभियत–अफगान युद्ध लगत्तैको गृहयुद्धपछि सन् १९९६ मा कट्टरपन्थी इस्लामवादी तालिबान आन्दोलनले अफ्गानिस्तानको राज्यशक्ति हत्याउन सफल भएको थियो। पछि उनीहरूलाई अमेरिकी नेतृत्वको फौजले आक्रमण गरी विस्थापित गरेको थियो। शक्तिमा पुगेपछि तालीबानले महिलाको सार्वजनिक जीवनमा बन्देज लगाउनुका साथै सार्वजनिक स्थानमा हत्या र अंगभंग गर्ने जस्ता सरिया कानुनको क्रुर संस्करण लागू गरेका थिए। पुरुषले दाह्री पाल्न र महिलालाई पुरै शरीर ढाक्ने गरी बुर्का लगाउन बाध्य पारिनुका साथै टेलिभिजन, संगीत र सिनेमामाथि पनि प्रतिबन्ध लगाइएको थियो। सत्तामा रहँदा वा नरहँदा पनि अल कायदाका नेताहरुलाई आश्रय दिने गरेका उनीहरु सत्ताबाट हटाइएदेखि हालसम्म हिंसात्मक विद्रोह गरिरहेका छन्।

प्रकाशित: १८ जेष्ठ २०७५ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App