१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरिया मुद्दामा तयार रहन रुसलाई अमेरिकाको चेतावनी

राजधानी दमास्कस नजिकै रहेको पूर्वी गुटा क्षेत्रको जोबारमा भत्किएको भवन नजिकै सुरक्षा प्रदान गर्दै सिरियाली राष्ट्रपति बसर अल–असदको सिरियाली फौजका सदस्य । फाइल तस्बिर : एजेन्सी

वासिङ्टन –सिरियामा भएको भनिएको शंकास्पद रासायनिक ग्यास हमलालाई लिएर अमेरिकाले रुसलाई चेतावनी दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एउटा ट्विट गर्दै सिरियामा क्षेप्यास्त्र प्रहार हुने भन्दैरुस तयारी अवस्थामा बस्न चेतावनी दिएका हुन्।

सिरियामा भएको भनिएको शंकास्पद रासायनिक हमलाको प्रतिक्रियास्वरुप अमेरिकाले गर्न लागेको आसन्न सैन्य कारबाहीका क्रममा क्षेप्यास्त्र प्रहार गरिने घोषणा गर्दै ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल–असदको पक्षमा उभिरहेको मस्को पनि तयार रहन चेतावनी दिएका हुन्।

रुसले सिरियाको पूर्वी गुटा क्षेत्रमा सक्रिय विद्रोही समूहमाथि सरकारले पूर्ण रूपमा नियन्त्रणमा लिन लागेकाले सरकारी पक्षविरुद्ध अमेरिकाले प्रहार गर्ने कुनै पनि क्षेप्यास्त्र खसालिने मंगलबार रुसले दिएको चेतावनीको प्रतिक्रिया दिँदै ट्रम्पको यस्तो भनाइ आएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । 

ट्रम्पको ट्विटमाथि जबाफ दिँदै रुसी उच्च अधिकारीहरुले अमेरिकी प्रहारको कडा प्रतिक्रिया दिने बताएका छन्।सिरियामा हुने कुनैपनि शंकास्पद रासायनिक हमलाको बलपूर्वक जबाफ दिने अमेरिकी राष्ट्रपति ट्रम्पले जनाएका छन्।

रुसको सहयोग रहेको सिरियाली राष्ट्रपति बसर अल–असदको सरकारले विद्रोहीको अन्तिम नियन्त्रणमा रहेको पूर्वी गुटाको दोमा क्षेत्रमा भएको भनिएको रासायनिक हमलामा आफ्नो कुनै संलग्नता नरहेको यसअघि नै प्रष्ट पारिसकेको छ ।बुधबार गरेको ट्विटमा अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाली राष्ट्रपति असदलाई ग्यास प्रयोग गरेर आफ्नै जनता मार्ने जनावर भनेका छन्।

‘सिरियामा प्रहार गरिने कुनै पनि क्षेप्यास्त्रलाई रुसले खसाल्ने प्रतिबद्धता गरेको रहेछ । रुस तयार बन किनकी राम्रो, नयाँ र स्मार्ट क्षेप्यास्त्र आउँदै छन्,’ ट्रम्पले ट्विट गरेका छन् । ‘ग्यास प्रयोग गर्दै आफ्नै नागरिक मारेर मज्जा लिने जनावरको रुस पार्टनर बन्न हुँदैन,’ असदसँग सहकार्य गरिरहेको मस्कोलाई उद्धृत गर्दै ट्रम्पले ट्विट गरेका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटलाई फेसबुक पेजमार्फत् प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयले स्मार्ट क्षेप्यास्त्र कानुनसम्मत सञ्चालनमा रहेको सरकारविरुद्ध नभई आतंकवादीमाथि खस्नुपर्ने बताएको छ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अमेरिकाले क्षेप्यास्त्र प्रहार गर्न गर्ने कुनै पनि प्रयास सिरियाको दोमामा भएको भनिएको रासायनिक हमलाको प्रमाण नष्ट पार्न हुने बताएकी छन्।

ट्रम्पको ट्विटलाई लिएर सिरियाली सरकारले पनि प्रतिक्रिया जनाएको छ । दमास्कसस्थित सिरियाली विदेश मन्त्रालयले सिरियाली गृहयुद्धमा केही विद्रोही समूहलाई सहयोग गरिरहेको अमेरिकाले झुटो र मनगणन्ते समाचार प्रयोग गरिरहेको आरोप लगाएको छ।

‘सिरियामा आतंकवादलाई सहयोग गरेको र हाल पनि गरिरहेको अमेरिकी शासनले यस्तो घोषणा गर्नुलाई सिरियाले नौलो विषयका रुपमा लिएको छैन,’ सिरियाली विदेश मन्त्रालयको आधिकारिक स्रोतलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार एजेन्सी सानाले जनाएको छ ।
विद्रोहीको अन्तिम नियन्त्रणमा रहेको दोमा सहरमा गत शनिबार सिरियाली युद्धक विमानले रासायनिक पदार्थले भरिएको बम खसालेको सिरियाका प्रमुख विपक्षी नेता, उद्दारकर्ता र चिकित्सकीय टोलीले बताएका थिए।

विद्रोही नियन्त्रणमा रहेको क्षेत्रमा रहेका अस्पताललाई सहयोग गर्दै आइरहेको ‘द सिरियन अमेरिकी मेडिकल सोसाइटी’ नामक संस्था र सिरियाली नागरिक सुरक्षाका लागि उद्दारकार्यमा संलग्न उद्दारकर्ताले जनाएअनुसार उक्त बम हमलामा प्रयोग भएको ग्यासको लक्षण देखिएपछि पाँच सयभन्दा बढी सर्वसाधारणले उपचार गराएका थिए ।बुधबार नै संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठनले ७० जनाको मृत्यु हुने गरी बम हमला भएको क्षेत्रमा जाँचबुझ गर्नका लागि पहुँच दिन माग गरेको छ।

अमेरिकी राष्ट्रपतिको ट्विट आएसँगै अमेरिका, बेलायत र फ्रान्सले सिरियामा हुने हमलामा सँगै मिलेर काम गर्नेबारे तयारी गरिरहेको बताइएको छ । फेब्रुअरी महिनादेखि सिरियाको पूर्वी गुटा क्षेत्रमा आक्रमणलाई तीब्र बनाएको असद सरकारको पछिल्लो कारबाहीका कारण दोमा सहरमा संघर्षरत जैस अल–इस्लाम नामक विद्रोही समूह त्यहाँबाट बाहिर निस्कने विषयमा सम्झौता गरेको छ । यससँगै राजधानी दमास्कस नजिकै रहेको पूर्वी गुटा क्षेत्र लगभग सरकारी नियन्त्रणमा आएको छ ।
 

 

प्रकाशित: २९ चैत्र २०७४ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App