४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सेना घटाउँदै बेलायती सरकार

आगामी वर्ष अर्थात सन् २०२५ भित्र बेलायतले ८२ हजार सेना घटाएर ७३ हजारमा सीमित गर्ने भएको छ। यो भनेको नेपोलियन युगयता सबैभन्दा कम आकारको सेना बनाउनु रहेको विज्ञले बताएका छन्।

बेलायतले आफ्नो सेनाको आकार घटाउने निर्णय सार्वजनिक भएसँगै अमेरिकी सेनाका जनरलहरूले संसारकै उम्दा सेनाको आकार घटेसँगै यसले छरछिमेकबाट बेहोर्ने आक्रमण थेग्न नसक्ने चेतावनी दिएका छन्। भविष्यमा बेलायतले अमेरिकी सहयोग माग्नुपर्ने हुन सक्नेतर्फ सचेत गराइएको छ।

अमेरिकी सेनाका अधिकारीले भविष्यमा रुसबाट कुनै सैन्य गतिविधि भएको अवस्थामा यसले प्रतिरोध गर्ने क्षमता गुमाउन सक्ने टिप्पणी गरेका छन्। फ्रान्ससँग यतिबेला एक लाख १० हजार सेना छन्। जर्मनीले आफ्नो सेनाको संख्या २ लाख ३ हजार पुर्‍याउने लक्ष्य राखेको छ। यस्तो अवस्थामा यतिबेला बेलायतसँग जम्मा एक लाख ५० हजार सेना छन्।

जर्मनीले सन् २०२७ मा आफ्नो चार हजार सेना लिथुआनिया क्षेत्रमा पठाउने तयारी गरिरहेको छ। यो नाटोसँगको सम्झौताका आधारमा पठाउन लागिएको हो। बेलायतले भने इस्टोनियाका लागि आफ्ना सेना तैनाथ गर्नुपर्ने भए पनि त्यहाँ पठाएको छैन। मात्र उसले आफ्नो सेनालाई त्यहाँका लागि तयारीको अवस्थामा रहन आदेश दिएको छ।

एक जना युरोपेली सेनाका जनरल नाम नबताउने सर्तमा भन्छन्, ‘बेलायतले सेना पठाउनेबारे खासै निर्णय नगरेकाले उसको क्षमतामाथि चासो व्यक्त गर्न थालिएको छ। खासगरी बेलायती सेनाले मानव स्रोतसाधनसँगै सामरिक हतियारको क्षमता प्राप्त गर्न सकिरहेको छैन। आगामी दिनमा उसले धेरै सेनाको संख्या घटाउँदै छ।’

उनको भनाइमा संसारभर द्वन्द्व चर्किंदै गर्दा संख्या पनि बढाउनुपर्ने बाध्यता छ तर बेलायतले घटाउँदै गइरहेको छ। युक्रेनमा भइरहेको युद्धमा रुससँग भिड्ने सेनाको संख्या ठुलो भएकाले अहिलेसम्म उसले आफ्नो इज्जत जोगाइरहेको उनको भनाइ छ। ठुलो संख्यामा सेना नभएको भए यतिबेला युक्रेनले घुँडा टेकिसकेको हुने उनको टिप्पणी छ।

पछिल्लो समय बेलायती रक्षा खर्च उल्लेख्य रूपमा घटेको छ। सन् २०१० सम्म जिडिपीको २.४७ प्रतिशत रक्षामा खर्च हुन्थ्यो। अहिले घटेर २.२८ मा झरेको छ। हुन त सन् २०३० भित्र प्रधानमन्त्री ऋषि सुनकले कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशत सैन्य खर्चमा जोड दिने बताइरहेका छन्।

रक्षा खर्च बढाउनुपर्ने माग भए पनि बेलायती सेनाको आकार र खर्च क्रमशः खुम्चँदो छ। द टाइम्स पत्रिकाका अनुसार युरोपेली रक्षाका लागि बेलायतको भूमिका निकै महत्त्वपूर्ण छ किनभने योसँग परमाणु अस्त्र समेत छ।

बेलायती रक्षा मन्त्रालयका अनुसार नाटो अभ्यासका क्रममा युरोपका विभिन्न स्थानमा १६ हजारभन्दा बढी सेना र हजारौं प्रतिरक्षा सवारी युरोपका विभिन्न ठाउँमा तैनाथ गरिएको छ। सो तैनाथी तालिम र अन्य कार्यका लागि मात्र नभएर तीव्र प्रतिरक्षा प्रणालीका लागि पठाइएको प्रस्टोक्ति छ।

प्रकाशित: १८ जेष्ठ २०८१ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App